रौतहट । मधेसमा दलित बालबालिकाहरु शिक्षाको पहुँचबाट अझै धेरै टाढा छन् । उनीहरुलाइ कसरी शिक्षाको मूल धारमा ल्याउन सकिन्छ । यसबारे धेरै सरकारी र गैरसरकारी संस्थाहरु लागिपरेका छन् । तैपनि धेरै बालबालिकाहरु विद्यालयको पहुँचबाट टाढा छन् ।
विद्यालयको पहुँचबाट टाढा रहेका बालबालिकाहरुलाई शिक्षामा पहुँच बढाउन रौतहटको वृन्दावन नगरपालिकाका कार्यपालिका सदस्यसमेत रहेका राजेश पासवानले शिक्षा अभियान नै चलाएका छन् । जिल्लाको वृन्दावन नगरपालिका– ८ बहुअरी निवासी उनी आफनै गाउँको दलित बस्तीका दलित अति विपन्न र गरिब परिवारका बालबालिहरुलाई निःशुल्क टिउशन सञ्चालन गरेका छन् ।
उनले आफ्नो निजि लगानीमा काँपी र पेन्सिल प्रदान गरी ती बालबालिकाहरुको शिक्षामा पहुँच बढाउनको लागि स्वयं लागिपरेका छन् । उनी ती बालबालिकाहरुलाई दैनिक २ घण्टा बिहान र बेलुका पढाइरहेका छन् ।
तत्काल आफैं टिउशन पढाउन सुरु गरेका उनले अबको केही दिनमै एउटा संस्थासँग सहकार्य गरी ती बाबुनानीहरुलाई सो संस्थाको सहकार्य र समन्वयमा एउटा शिक्षक राखेर पढाउने योजनामा रहेको बताए । सो टोलको दलित बस्तीमा रहेको दलित धर्मशाला बिहान र बेलुका पढाइरहेको उनी भेटिन्छन् ।
बजेट चलाउनमै व्यस्त रहने जनप्रतिनिधीहरुको भिडमा उनी उदाहरणीय बनेका छन् । जनप्रतिनिधिको जिम्मेवारीको अलावा उनले दलित बालबालिकाहरुको लागि समय दिइरहेका छन् । जसको चौतर्फी रुपमा प्रशंसा हुन थालेको छ ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया