प्रदेशका योजनाहरु विचौलियाको माध्यमबाट आए : नगरप्रमुख बजाल

बझाङ । बझाङको जयपृथ्वी नगरपालिका नगरप्रमुख चेतराज बजालले सुदूरपश्चिम प्रदेश सरकारबाट आउने सबै योजनाहरु विचौलियाको माध्यमबाट आउने गरेको बताएका छन् । सोमबार सामाजिक विकास कार्यालय बझाङले जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरेको आर्थिक २०७५– ८० को समिक्षा र चालू आवको वार्षिक बजेट तथा कार्यक्रमसम्बन्धी एकदिने जिल्लास्तरीय अभिमुखीकरण गोष्ठीमा सो कुरा बताएका हुन् ।

नगरप्रमुख बजालले भने, ‘हामी सबैलाई थाहा छँदैछ, प्रदेशबाट आउने योजनाहरु, विचौलिया, हचुवा र अपारदर्शी ढंगबाट आउने गरेकाा छन्, हामीले प्रदेश सरकारलाई पटक–पटक नगरपालिकामा खेलकुद मैदान नहुँदा नगर खेलकुद मैदानको लागि र अन्य भौतिक संरचनाहरु बनाउन माग गर्दा कुनै सुनुवाइ भएन ।’ उनले अहिले स्थानीयहरुमा प्रदेश सरकारप्रति नकारात्मक भावना जागेको बताए । अबका दिनहरूमा आफ्नो नगरपालिकाले प्रदेश सरकारले गर्ने कुनै पनि कार्यहरुमा सहकार्य नगर्ने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका अध्यक्ष नरबहादुर बोहराले बझाङ जिल्लाका १२ वटै स्थानीय तहबाट सिफारिस भएर गएका योजनाहरु कार्यान्वयन नभए झ्यालबाट गएर आएका योजनाहरु सिफारिस भएर आउँदा त्यसको दिगोपन नहुने र स्थानीय र सर्वसाधारणको हितमा नहुने बताए । अब आउँदा दिनहरू यसलाई सच्याएर लैजानुपर्ने र प्रदेश सरकारका योजनाहरु प्रक्रियागत ढंगबाट आउनुपर्ने बताए ।

समापन कार्यक्रम बोल्दै सामाजिक विकास कार्यालय बझाङका कार्यालय प्रमुख प्रयागराज जोशीले २०५७ सालदेखि सुदूरपश्चिम सरकारअन्तर्गत ९ वटै जिल्लामा स्थापना भएको र यस कार्यालयबाट भौतिक संरचनालगायत धेरै कामहरु सामाजिक विकास कार्यालयअन्तर्गत हुने हुँदा कार्यालयबाट हुने गरेका कामहरु आगामी दिनहरूमा सच्याएर लैजाने बताए ।

सुझाव संकलनको क्रममा जिल्लामा बनेका भौतिक संरचनाहरु कमजोर बनेको कुरा उठेपछि उनले सामाजिक विकास कार्यालयबाट बनेका सबै भौतिक संरचनाहरु बलियो, दिगो र गुणस्तरीय बनेको दाबी गरे । कार्यक्रममा आर्थिक वर्ष २०७५–८० को समिक्षा र चालू आवको वार्षिक बजेट तथा कार्यक्रमसम्बन्धी प्रस्तुतिकरण सामाजिक विकास कार्यालयका कार्यालय व्यावस्थापक गोविन्द विकले गरेका थिए ।

प्रतिक्रिया