विदेशबाट रकम पठाउँदा आधिकारिक माध्यमबाट मात्र पठाउनु : साइबर ब्युराे

काठमाडौं । नेपाल प्रहरीकाे साइबर ब्युराेले विदेशबाट रकम पठाउँदा आधिकारिक माध्यमबाट मात्र पठाउन अनुरोध गरेकाे छ । ब्युराेले एक सूचना जारी गर्दै विदेशमा दुःख/परिश्रम गरी कमाएको रकम फ्रड र स्क्याम रकममा रूपान्तरण भई कानुनी कारबाहीको भागीदार हुनु पर्ने अवस्था सृजना हुने हुँदा विदेशबाट रकम पठाउँदा ध्यान पुर्याउन अनुराेध गरेकाे हाे ।

पछिल्लो समयमा भएको प्रविधिको विकाससँगै अपराधीहरूले विभिन्न सामाजिक सञ्जालहरूको दुरुपयोग गरी, विभिन्न झूठा प्रलोभनमा पारी, साइबरजन्य ठगी गर्नेगरेको पाइएको हुँदा यस्ता झूठा अश्वासनमा नपरी, ठगिनबाट जोगिन अनुराेध गरिएकाे साइबर ब्यूरोका प्रवक्ता पशुपतिकुमार रायले बताए ।

ब्युराेले भनेकाे छ, ‘वैदेशिक रोजगारमा रहेका कतिपय नेपाली नागरिकले केही रकम जोगिने प्रलोभनमा परी अवैध तवरले नेपालमा रकम पठाउने व्यक्तिसँग सम्पर्क गरी ‘यो रकम नेपालमा रहेको मेरो परिवार वा आफन्तलाई पाउने गरी पठाई दिनु हुन !’ भनी दिने गरेको पाईएको छ । यसरी विदेशी रकम प्राप्त गरे पश्चात निज अमुक व्यक्तिले ‘हुन्छ, म तपाईले भनेको व्यक्तिको नेपाल स्थित बैंक खातामा यस बराबरको सटही नेपाली रकम जम्मा गरिदिन्छु!’ भन्ने गरेको खुल्न आएको । तर उक्त व्यक्तिले विभिन्न अनलाइन सम्बद्ध ठगीको माध्यम (Fraud/Scam Money) बाट प्राप्त गैरकानूनी रकम निजले भनेको व्यक्तिको नेपाल स्थित बैक खातामा जम्मा गरि/गराइदिने गरेको तथ्य यस ब्यूरोको अनुसन्धानबाट खुल्न आएको छ । तसर्थ, विदेशमा दुःख/परिश्रम गरी कमाएको रकम Fraud / Scam Money मा रूपान्तरण भई कानुनी कारबाहीको भागीदार हुनु पर्ने अवस्था सृजना हुने हुँदा विदेशबाट रकम पठाउँदा आधिकारिक माध्यमबाट मात्र पठाउन हुन नेपाल प्रहरी साइबर ब्यूरो अनुरोध गर्दछ ।’

प्रतिक्रिया