लुम्बिनीमा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु, बसमा आगाे लगाइयाे

लुम्बिनी । रुपन्देहीको लुम्बिनीमा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–४ महुवारी लुम्बिनी ककरहवा सडक खण्डमा आज बिहान स्कुल बसको ठक्करबाट सोही ठाउँका २१ वर्षीय मोहम्मद इरसाद र १६ वर्षीया रुबिना खातुनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए ।

दुर्घटनामा १७ वर्षीया अप्सना खातुनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । सूर्यपुरास्थित सिद्धार्थ प्रतिभा बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको र एक जना घाइते भएको भट्टले जानकारी दिए ।

बसको ठक्करबाट मोटरसाइकलमा सवारहरूको मृत्यु भएपछि आक्रोशित स्थानीयले स्कुलबसमा आगो लगाइदिएका छन् । बस पूर्णरुपमा क्षति भएको छ । त्यस क्षेत्रको अवस्था अहिले सामान्य बन्दै गएको पनि प्रहरीले जनाएको छ ।

घटनापछि बसका चालक फरार रहेको र उनको खोजी भइरहेको बताइएको छ । आज स्कुलका विद्यार्थी बोकेर भ्रमणमा जाँदै गरेको स्कुल बसले ठक्कर दिएर यस्तो घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया