नारी संवेदनाका सरल कविता

कवयित्री रीता देवी प्रधानको नवीनतम कविताकृति हो ‘नदेखिने आँसुमा डुबुल्की’ । यो सङ्ग्रहलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अमेरिकाले प्रकाशन गरेको छ भने यसलाई साहित्यकार ध्रुव मधिकर्मीले सम्पादन गरेका छन् ।

नेपाली र नेपालभाषा दुवैमा उत्तिकै कलम चलाउने कवयित्री प्रधानका यसअघि नेपालभाषामा ‘नवाइम्ह छुँ (सचित्र बालउपन्यास), ‘खनाखँ’ (कथासङ्ग्रह), फय् वःगु लँय् (हाइकुसङ्ग्रह), ‘तापालय् थ्वःगु सः’ (डायस्पोरिक कथासङ्ग्रह) प्रकाशित छन् भने नेपालीमा ‘तरङ्गहरू मनका’ (कवितासङ्ग्रह), ‘अन्धविश्वासभित्रका विश्वासहरू’ (अमूर्त सम्पदासङ्ग्रह) प्रकाशित छन् । साहित्य सिर्जनासँगसँगै दर्जनौँ सामाजिक सङ्घसंस्थामा आवद्ध भएर समाजसेवामा समेत संलग्न प्रधान विभिन्न सम्मानबाट सम्मानित पनि भइसकेकी छन् । मरुटोल, काठमाडौंमा जन्मेकी कवयित्री प्रधान हाल अमेरिकामा बसेर साहित्य सिर्जनारत् छन् ।

‘नदेखिने आँसुमा डुबुल्की’ कवितासङ्ग्रहमा जम्माजम्मी ३० वटा कविता र चारवटा मुक्तक सङ्गृहीत छन् । धेरैजसो कविता नारी संवेदनामाथि लेखिएका छन् । धेरै वटा कविता नारीका विषयमा लेखिएको आधारमा यस कवितासङ्ग्रहलाई नारीवादी कवितासङ्ग्रह पनि भन्न सकिन्छ । नारी संवेदनाले भरिएका कवितामा नारीका दुःख, पीडा, गुनासो र वेदनामात्रै छैनन् विद्रोहको आवाज पनि रहेको आभास हुन्छ । ‘नारी’ शीर्षकको कवितामा उनी लेख्छिन्ः

पहिले, छानामाथि विशाल आकाश त हुन्थ्यो

तर आकाश छानाले छेकिन्थ्यो

झ्यालबाहिर खुल्ला र हरियाली चउर त देखिन्थ्यो

तर झ्यालमा बाक्लो पर्दा हुन्थ्यो

उज्यालो पनि चाहेको बेला हेर्न मिल्दैनथ्यो

ढोकामा हरदम बडेमानको आग्लो हुन्थ्यो

त्यही पर्दा भएको झ्यालभित्र

आग्लो लगाइएको ढोकाभित्र

र आकाश छेकिएको छानामुनि बाँचिरहेको हुन्थ्यो नारी ।

कवयित्री प्रधानका कविताहरूमा भावनाको प्रचुरता छ । उनका कवितामा सङ्गीतात्मकता, हार्दिकता, कल्पनात्मकता, जीवनको प्रकटीकरण, बौद्धिकता, कोमलता, आनन्दात्मकता र रमणीयताजस्ता प्रवृत्ति र विशेषताहरू धेरै वा थोरै मात्रामा छन्, तर त्यसमा संरचना, शिल्प, बिम्ब–प्रतीक, उपमा, अलङ्कार आदि सौन्दर्य पक्षको भने अभाव छ । कवयित्रीले मनका भावनालाई स्वतः स्फूर्तरूपमा अभिव्यक्त गरेकी छन् । साहित्यको कुनै सिद्धान्तलाई पछ्याएकी छैनन् । कविताको संरचना, भाषा, शैली र सौन्दर्यको पनि वास्ता गरेकी छैनन् । त्यसैले कवितामा भावनात्मक पक्ष सबल भइकन अन्य संरचना र सौन्दर्यगत पक्षको दृष्टिकोणले हेर्दा भने कविताहरू कमजोर देखिन्छन् । यति हुँदाहुँदै पनि कविता पठनबाट पठनको आनन्द प्राप्त हुन्छ । कवितामा व्यक्त भावनाले पाठकको हृदयमा स्पर्श गर्छन् र संवेदित तुल्याउँछन् ।

कवितामा व्यक्त भाव, विचार र विषयलाई हृदयङ्गम गरी हेर्दा कवयित्रीको जीवन भोगाई अभिव्यक्त भएको महसुस हुन्छ । भाव र विचारमा परिवक्वता छ । उमेरजन्य अनुभव र अनुभूति अनि नारीप्रतिको दृष्टिकोण स्पष्टरूपमा आएका छन् । तर शिल्पगत कमजोरीले गर्दा कविताहरू सशक्त र बुलन्द हुनबाट चुकेका छन् । कविताको शिल्प र सौन्दर्यमा थोरै ध्यान दिने हो भने उनका कविताहरू सशक्त र बुलन्द बन्नेमा आशावादी हुन सकिन्छ ।

कवयित्री प्रधानको कवितामा विषयविविधता छ । नारी, प्रेम, राष्ट्र, राष्ट्रियता, राजनीतिक विसङ्गति, गरिबीको पीडा, पारिवारिक कलह, डायस्पोरिक जीवनको यथार्थ, मानिसमा बढ्दै गएको भौतिकवादी प्रवृत्ति, मानवीय संवेदना हराउँदै गएको चिन्ता आदि विषयमा कविता लेखे पनि नारीको विषयमा उनको कलम अझ राम्रोसँग जमेको छ र नारी विषयका कविताहरू तिक्खररूपमा आएका छन् । समग्रमा हेर्दा वर्तमान समय र समाजलाई कवयित्रीले आफ्ना कवितामा समेट्ने प्रयास गरेको देखिन्छ । उनका अनुभव र अनुभूतिहरूमा वर्तमान समय र समाज प्रतिबिम्बित भएको पाइन्छ ।

‘नदेखिने आँसुमा डुबुल्की’ कवितासङ्ग्रहभित्रका कविताहरूलाई आफ्नो मनको भावना भनेकी छिन् कवयित्रीले । समाजमा नारीहरूले भोग्नुपरेको अवस्था, विदेशमा नेपालीहरूको दुःख, देशभित्रका कुरा तथा जीवनलाई दुःख र पीडाबाट मुक्त गरेर सकारात्मक सोचतर्फ हाम्रो प्रयास हुनुपर्छ भन्ने भावनाले यी कविताहरू लेखेको कवयित्रीको स्वीकारोक्ति छ ।

नेपालजस्तो गरिब देशका युवाका लागि वैदेशिक रोजगारी बाध्यता हो भने रहर पनि हो । कोही बाध्यताले विदेश गएका छन् त कोही रहरले । जुन कारणले गए पनि तिनले विदेशमा कमाएर स्वदेशमा पठाएका छन् । तर तिनले पठाएको पैसाको दुरूपयोग हुने गरेकोप्रति कवयित्रीले कवितामार्फत् सचेत गराएकी छन् । विदेशमा बस्नेहरूको पीडा र व्यथालाई पनि कवितामा अभिव्यक्त गरिएको छ । फोस्रा भाषण र आश्वासन दिएर जनतालाई सधैं धोका दिने नेताप्रति प्रहार पनि गरिएको छ । नेताहरूकै गैरजिम्मेवारी र अकर्मण्यताको कारण धेरै नेपाली युवा विदेसिएको यथार्थलाई पनि कवितामा अभिव्यक्त गरिएको छ । ‘हाम्रो चाहना’ शीर्षकको कवितामा कवयित्रीले वर्तमान यथार्थलाई यसरी अभिव्यक्त गरेकी छन्,

सरकारमा गएपछि देशलाई भन्दा बढी

आफ्नालाई हेरे, जनतालाई छोडे

देशको हितभन्दा बढी

आफ्नै स्वार्थ हेरे

सात पुस्ताका लागि कमाउन लागे

यस्तै कारणले नै हो

नेपालीहरू विदेसिएका

आफ्नो घर छोडी

घरपरिवार र आफन्त त्यागी ।

सङ्ग्रहमा विशेषगरी नारीकेन्द्रित कविताहरूको प्रधानता छ र यी कविताहरूमा नारीको पहिचान, नारीले भोग्नुपरेको विभेद र उपेक्षा, दैनन्दिन जीवनमा नारीले भोग्नुपरेको समस्या, नारीले समाजमा आफ्नो स्थान र पहिचान कायम गर्न गर्नुपरेको सङ्घर्ष र नारीले आफ्नो त्याग र सङ्घर्षबाट प्राप्त गरेको सफलताका बारेमा सरल भाषामा लेखिएका कविताहरू मर्मस्पर्शी छन् । एउटी नारीको जीवनभोगाइको चित्रण कवितामा राम्रोसँग भएको पाइन्छ । नारी संवेदनाको पक्षलाई आफ्नो भोगाइ, अनुभव र अनुभूतिको माध्यमबाट कवितामा अभिव्यक्त गरेर समाजमा सचेतना जगाउने काम पनि कवयित्रीले गरेकी छन् ।

नदेखिने गरी नारीका धेरै आँसु बगेका छन् । धेरै आँसु पिएका छन् नारीले । गहमा आँसुको दह लुकाएर हाँसेका छन् । गहमा आँसुको दह लुकाएरै बाँचेका छन् । अनि त्यही नदेखिने आँसुमा डुबुल्की मारेर जीवनलाई पार लाउने प्रयत्न सधैँभरि गरेका छन् । यही भाव बोकेको यो कवितासङ्ग्रहको शीर्षक ‘नदेखिने आँसुमा डुबुल्की’ अत्यन्तै सार्थक लाग्छ । निकै सरल भाषाशैलीमा लेखिएका कविताहरू संप्रेष्य, संवेद्य र बोधगम्य छन् । कवितालाई बिम्ब–प्रतीक, उपमा र अलङ्कारले नसजाइएको हुँदा कलात्मक सौन्दर्यको अभाव खट्किए पनि सरल नै सुन्दर हो भन्ने आम मान्यतालाई आत्मसात् गर्दै आमपाठकले यो कवितासङ्ग्रहलाई स्वीकार्ने छन् भन्ने विश्वास गर्न सकिन्छ । कलाकार दिव्या बज्राचार्यले बनाएको पुस्तकको सुन्दर आवरण निकै आकर्षक छ । शीर्षक र आवरणले नै पाठकलाई आकर्षित गर्नेछ ।

प्रतिक्रिया