विमेन्स फिल्म फेस्टिभल हुने

काठमाडौँ । तेस्रो आइवाट नेपाल विमेन्स फिल्म फेस्टिभल आयोजना हुने भएको छ । रेडियो तथा टेलिभिजनमा आबद्ध महिला पत्रकारको छाता संगठन ‘इन्टरनेसनल एसोसिएसन अफ विमेन इन रेडियो एण्ड टेलिभिजन’ ले यही मंसिर ९ गते काठमाडौंमा उक्त फेस्टिभल गर्न लागेको हो । चलचित्र विकास बोर्डमा आयोजना हुने फेस्टिभलमा नेपाललगायत करिब दर्जनभन्दा बढी मुलुकका महिला निर्देशकले बनाएका २८ चलचित्रको सहभागिता रहने जनाइएको छ । ती चलचित्रमध्ये उत्कृष्ट केही प्रदर्शनसमेत हुनेछ । प्रदर्शन हुने चलचित्रमा ट्युनेसिया, भारत, बंगलादेश, नर्वे, फ्रान्सलगायतका रहेका छन् ।

आयोजकले आइतबार राजधानीमा एक कार्यक्रम गर्दै फेस्टिभलका बारेमा जानकारी दिएको छ । कार्यक्रममा विदेशी चलचित्रमात्र होइन चलचित्रका महिला मेकरले समेत भाग लिने जानकारी दियो । फेस्टिभलमा विदेशी महिला निर्देशक र नेपाली महिला निर्देशकबिच निर्देशक अनुभव पनि साटासाट हुने फेस्टिभलकी निर्देशक संगीता श्रेष्ठ बताइन् । ‘फेस्टिभलमा सहभागी उत्कृष्ट फिल्म तथा फिल्ममेकरलाई अवार्ड समेत प्रदान गरिनेछ,’ उनले थपिन् ।

महिला निर्देशकले बनाएको चलचित्रलाई प्रवद्र्धन गर्ने र महिला निर्देशकलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले २०१७ मा पहिलो पटक यो फेस्टिभल आयोजना भएको थियो । उक्त समय दर्शक तथा फिल्ममेकरले फेस्टिभलमा राम्रो साथ दिएको कारण यसले निरन्तरता पाएको हो । ‘इन्टरनेसनल एसोसिएसन अफ विमेन इन रेडियो एण्ड टेलिभिजन’ को स्थापना सन् १९५७ मा भएको हो । ८ फरक राष्ट्रका प्रतिनिधिबाट सुरु भएको यो एसोसिएसनमा अहिले ५४ देशका प्रतिनिधिको सहभागिता रहेको छ ।

प्रतिक्रिया