दक्षिण एसियाली कराते मंसिर तेस्रो सातादेखि

काठमाडौं । नेपाल कराते महासंघको आयोजनामा सातौँ दक्षिण एसियाली कराते च्याम्पियनसिप मंसिर १६ गतेदेखि हुने भएको छ । प्रतियोगितामा दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल कराते महासंघका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव युवराज लामाले जानकारी गराए ।

नेपालसहित बंगलादेश, भुटान, भारत, पाकिस्तान र श्रीलंकाले दुईदिने प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । प्रतिबन्धमा रहेकाले श्रीलंकाको भने एनओसी टिम सहभागी हुने जनाइएको छ ।

क्याडेट, जुनियर, यू–२१ र सिनियरमा गरी ४ विधामा जम्मा ६२ स्वर्णका लागि प्रतिस्पर्धा हुने कराते महासंघका महासचिव दावा गुरुङले जानकारी दिए । क्याडेटमा १२, जुनियरमा १५, यू–२१ मा १६ र सिनियरमा १९ स्पर्धामा खेल हुनेछ ।

प्रतियोगितामा जम्मा ३५३ खेलाडीको सहभागिता रहने छ । सबै स्पर्धामा भाग लिने नेपालबाट ६८ खेलाडीले चुनौती प्रस्तुत गर्नेछन् । नेपाली खेलाडीको प्रशिक्षणका लागि ६ प्रशिक्षक र दुई व्यवस्थापकको व्यवस्था गरिएको छ । कुमुते टोली गोकर्णेश्वरस्थित शंखडोल कराते एकेडेमी तथा काता टोली बौद्ध डोजामा प्रशिक्षणरत छन् ।

अध्यक्ष लामाले यस प्रकारको प्रतियोगिता २५ वर्षपछि आयोजना गर्न लागेको बताउदै प्रतियोगिताले करातेको गरिमा अझ बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

लामाले प्राविधिक रुपमा यो प्रतियोगिता बंगलादेशले आयोजना गर्नु पर्नेमा बंगलादेशले प्रस्ताव नै नगरेकाले नेपालले आयोजनाका लागि प्रस्ताव गरेकोमा एसियाली कराते महासंघ (एकेएफ)ले पनि स्वीकृति दिएको जानकारी गराए ।

‘प्राविधिक रुपले यो प्रतियोगिता बंगलादेशले गर्नुपर्ने थियो । बंगलादेशले प्रस्ताव नै राखेन । हामीले प्रस्ताव राखेम् । एकेएफको जोड पनि नेपाललाई नै रह्यो ।’ लामाले भने, ‘प्रतियोगितासँगै हामीले सेमिनार पनि गर्ने सहमति मागेम् । सेमिनारका लागि पनि एकेएफबाट स्वीकृति प्राप्त भयो ।’

एकेएफ र राखेपबाट स्वीकृति पाएको प्रतियोगितालाई विश्व कराते महासंघ (डब्लूकेएफ) र नेपाल ओलम्पिक कमिटीले पनि मान्यता दिएको कराते महासंघले जनाएको छ ।

प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुनेछ । खेल खेलाउन ३ टाटामी (म्याट) प्रयोग गरिनेछ । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब एक करोड १० लाख रुपैयाँ खर्च हुनेछ ।

प्रतियोगिताअघि मंसिर १२ गतेदेखि एकेएफ रेफ्री सेमिनार सातदोबाटोस्थित कराते एकेडेमी हलमा हुनेछ । मंसिर १५ गते दक्षिण एसियाली कराते महासंघको कंग्रेस पनि हुनेछ ।

प्रतिक्रिया