नेपालमा गायन क्षेत्रको भविष्य उज्वल छ : रामजी पौडेल

लोक संस्कृतिको धनी मानिने गण्डकी क्षेत्रमा गाइने लोकदोहोरी गीतहरु अहिले नेपालकै ‘ब्राण्ड’ बनेका छन् । विश्वमा जहाँ जहाँ नेपालीहरु बस्छन् त्यहाँ त्यहाँ लोक तथा दोहारी गीत सुन्ने र नाच्नेहरुको भीड लाग्ने गरेको छ । पछिल्लो समयमा त लोक तथा दोहोरी गीतहरु व्यवसायकै रुपमा फष्टाएका छन् । यो व्यवसायमा आधुनिक शिक्षा लिएका व्यवसायमा थुप्रै नयाँ पुस्ता प्रवेश गरेका छन् ।

तिनै नयाँ पुस्ताका चर्चित लोक तथा दोहोरी गीत गायकमध्ये एक हुन् रामजी पौडेल । गण्डकी प्रदेशको राजधानी पोखरा महानगरपालिका–२३ हर्पनमा जन्मेका लोक गीत गायक पौडेलले गाएका भजनहरु पनि निकै लोकप्रिय छन् । सुमधुर स्वरका धनी पौडेललाई आँशुकवि पनि भन्ने गरिन्छ ।

आफ्नो जन्मथलो सुन्दर पर्यटकीय नगरी पोखरालाई कर्मथलो बनाएर बसेका पौडेल बेलाबखत राजधानी काठमाडौंमा आयोजना हुने कार्यक्रममा पनि आइरहन्छन् । प्रस्तुत छ, उनी केही दिन अघि राजधानी काठमाडौं आएको बेला सौर्य दैनिकले गरेको संवादको साम्पादीत अंश :

लोकदोहोरी क्षेत्रमा कहिलेदेखि आबद्ध हुनुभयो ? किन यो क्षेत्रमा लाग्नुभयो र यो क्षेत्रमा लाग्नुको उद्देश्य के हो ?

हाम्रो गाउँघरको वातावरणनै लोकगितमय थियो, भजनमय थियो । विभिन्न चाड पर्व, उत्सव समारोहमा लोकगित तथा भजन गाइन्थ्यो । लोकगित तथा लोकभजन सुन्दै र नाच्नै म हुर्केको हुँ । सानै उमेरदेखि नै लोक गित संगित अत्यन्तै मन पथ्र्यो । लोकगितहरु गुनगुनाउदै हिड्ने गर्दथे । विद्यालयमा हुने लोकगित प्रतियोगितामा पनि सहभागिता जनाउने गर्दथे ।

र पछि २०६५ सालबाट चाहीँ म औपचारीक तथा व्यवसायिक रुपमा नै यो क्षेत्रमा संघर्षरत छु । मेरो मनले रोजेको क्षेत्र र आफुमा त्यो कला पनि भएको हुनाले अन्य क्षेत्रमा मन नै गएन । म यो क्षेत्रमा लाग्नुको उद्देश्य चाहीँ आफुभित्र भएको कलाको माध्यमबाट लोकदोहोरी क्षेत्रमा विशेष योगदान पु¥याउने र यसैबाट आफ्नो जिविकोपार्जन पनि गर्नु हो ।

नेपालमा लोकदोहोरी कलाकारको करियर कस्तो छ ? लोकदोहोरी क्षेत्रमा आउने चुनौतीहरु के कस्ता छन् तपाईंले अहिलेसम्म के कस्ता चुनौतीहरुको सामना गर्नुपर्यो ?

नेपालमा पछिल्लो क्रममा अत्यधिक मन पराइएका संगितमध्ये लोकदोहोरी पनि एक हो । चाहे त्यो मिडियाहरुमा होस् चाहे विभिन्न मेला महोत्सवमा होस् सबैतिर लोकदोहोरी गितहरु नै धेरै घन्किने गर्दछन् । त्यसैकारणले पनि अहिले धेरैजसो लोकदोहोरी कलाकारहरू देश तथा बिदेशमा हुने विभिन्न सांगीतिक कार्यक्रमहरुमा व्यस्त हुनुहुन्छ ।

संघर्ष त हरेक क्षेत्रमा गर्नुपर्ने हुन्छ यो क्षेत्रमा पनि आफुलाई अब्बल बनाउन सकियो भने करियर राम्रो मात्र हैन, धेरै राम्रो छ । चुनौती त सबै ठाउँमा हुन्छ यो क्षेत्रमा पनि नि छ । गित बजारमा ल्याउन अहिले अल्ली धेरै लगानी गर्नुपर्छ । अर्कोतर्फ सबै गितले त्यो लगानी उठाउन गाह्रो छ । लगानी गर्न नसक्ने कलाकारहरूलाई अझै धेरै चुनौती छ । प्रतिस्पर्धा पनि धेरै छ । मैले पनि यस्ता धेरै चुनौतीहरुलाई सामाना गर्दै अगाडी बढीरहेको छु ।

यो क्षेत्रमा लागेर आफुलाई कत्तिको गर्व महसुस गर्नुहुन्छ ?

म लगभग १२–१३ वर्षदेखि व्यवसायिक रुपमै यो क्षेत्रमा लगिरहेको छु । मेरो जीविकोपार्जनको स्रोत नै यही हो । धेरै गित संगित पनि बजारमा ल्याइरहेको छु । धेरै संघर्ष पनि गरिरहेको छु । हाल पनि म यसरी नै अगाडी बढिरहेको छु । यो क्षेत्रमा लागेर मैले धेरैकुरा पाएको पनि छु ति धेरैकुरा मध्ये मेरा आदरणीय दर्शक श्रोताको माया पाउदा मलाई निकै गर्व लाग्छ ।

आँफुले गाएका गितहरुबाट दर्शक श्रोताले कत्तिको मनोरञ्जन प्राप्त गरेका छन् जस्तो लाग्छ ?

मनोरञ्नज मात्रै लोकगित–संगीतको उद्देश्य हुँदैन । मुख्य उद्देश्य भनेको सन्देश हो । मनोरन्जन मार्फत सन्देश प्रवाह गर्न सकियो भने प्रभावकारी हुन्छ । जुनकुराको अभिब्यक्ति बोलेर गरिन्छ त्यो भन्दा धेरैगुना प्रभावकारी गित संगितको माध्यमबाट हुने हुदा समाज तथा देशलाई गतिशिल बनाउन गित संगितको महत्वपूर्ण भुमिका रहन्छ । देशमा जतिपनि परिवर्तन भएका छन् त्यहा गित संगितको पनि ठुलै योगदान रहेको सर्वविदितै छ । मैले पनि राष्ट्रिय भावना का केहि गितहरू गाएको छु जस्तै : कोही त गए साउदी कतार कोही त गए दुबइ । मलाई भने मेरै देशको माया लाग्छ खुबै ।

ए साथी हो मलाई त झ्याउरे गित मिठो यसैमा नाच्छु छम छम छम् ।
ए साथी हो मलाई त मेरै देश प्यारो देशैमा नाच्छु छम छम छम् ।।

मैले गाएका गितहरुले दर्शक श्रोताहरुले निकै मनोरञ्जन लिने गर्नुभएको छ । म मेला महोत्सवमा गएर गित गाउन थालेपछि दर्शक श्रोताहरु निकै रमाउनुहुन्छ मसँगै गाउनुहुन्छ, नाच्नु हुन्छ अहिले सम्म जहाँ जहाँ पुगेको छु सबैलाई खुसी बनाएको छु ।

लोकदोहोरी क्षेत्रमा लागेर के–के उपलव्धी पाँए जस्तो लाग्छ ?

मुख्य कुरा आत्मासन्तुष्टि हो । अर्को मुख्यकुरा जिविकोपार्जन पनि हो । मैली यी दुवै कुरा प्राप्त गरेको छ । लोकदोहोरी गायक भनेर समाजमा एउटा पाएको छु, सबैको माया पनि पाएको छु । दर्शक श्रोताहरुको माया नै मेरो सबैभन्दा ठूलो उपलब्धि हो जस्तो लाग्छ । मैले धेरै ठाँउमा पुरस्कार, अवार्ड तथा सम्मान पाएका छु । सन् २०१० मा रेडियो अन्नपूर्णले आयोजना गरेको अलिमियाँ लोकतारा–२ मा प्रथम भइ लोकताराको अवार्ड प्राप्त गरेको थिएँ । रेडियो गोर्खालीले सन् २०१२ मा आयोजना गरेको गोर्खाली अवार्डमा सर्वोत्कृष्ट नवप्रतिभा लोकदोहोरी अवार्ड, पाँचौ राष्ट्रिय लोक तथा दोहोरी अवार्ड २०७३, दोस्रो राष्ट्रिय गण्डकी म्यूजिक अवार्ड २०८०, राष्ट्रिय संगीत अवार्ड २०८० प्राप्त गरेको छु । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी हर्पन आमा समुह र गोरखा मिडिया यु के लगायत धेरै संघसंस्थाले गरेका कार्यक्रमहरुमा सम्मानित हुने अवसर प्राप्त गरेको छु ।

कुन–कुन विधाका गितहरु गाउनुभएको छ र दर्शक श्रोताहरुले मन पराएका गितहरु कुन–कुन हुन् ?

व्यवसायिक लोकदोहोरी गायक भएको हुनाले धेरै लोकदोहोरी बिधाका प्राय सबै गितहरु नै गाएको छु । स्रोताको माग अनुसार गीत गाउनु पर्ने भएकोले पनि सबै विधामा गाउनु पर्छ । त्यस बाहेक पर्व बिशेषका गित अन्तरगत धेरै तिजका गीतहरु र केहि दशैंका गितहरु पनि गाएको छु । मैले गाएका र दर्शक श्रोताहरुले अत्याधिक मन पराएका गितहरु– निउ नखोज सानी, सुन मेरी काली, भन्न नसकेर, बाबाजीको आगनी भत्किएछ बाई, हेराउन जाम हिन, तिर्खा लाग्यो हर हर, झल्झली देख्छु शिवलाई, आउ लिन शिव, यस्ता आए जमाना लगायतका अन्य धेरै एल्बमहरू हुन् ।

हालसम्म कतिवटा जति गित गाउनुभएको छ ? तपाईं चर्चित गायक हुनुको राज के हो र यसको श्रेय कसलाई दिनुहुन्छ ?

आफ्नै एल्बम र अरूको एल्बममा लोक गित लोकदोहोरी गित, तिज गित भजन सबै गरेर १०० भन्दा बढि गित गाएको छु । म सफल हुनुमा मेरो आफ्नै निरन्तरता र संघर्ष त छँदैछ, त्यसमाथि पनि मेरो परिवारको साथ र दर्शक श्रोताहरुको माया नै हो । यो सबैको श्रेय पनि म उहाँहरुलाई नै दिन चाहान्छु ।

तपाईं गित संगितको क्षेत्रमा आबद्ध भएका संघ संस्थाहरुको बारेमा जानकारी दिनुहोस् न ?

बिगत १२ वर्षदेखि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा आबद्ध छु । केही समय जिल्ला कार्यसमिति कास्कीमा रहेर काम गरे । हाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशको सचिव पदमा रहेको छु । त्यसैगरी सप्तरंगी सास्कृतिक प्रतिष्ठानको पनि म सक्रिय सदस्य पदमा पनि रहेको छु ।

लोक दोहोरीको माध्यमबाट नेपालको संगीत उद्योगमा कत्तिको योगदान पुर्याएको छु जस्तो लाग्छ ?

विगत १५ वर्षदेखि आफ्नो मुल्यवान र उर्जाशील समय यहि क्षेत्रमा खर्चिएको छु । आफ्नो बर्कतले भ्याएसम्म संगित उद्योगमा गितको माध्यमबाट केही योगदान अवस्य पनि पुराएको छु । हामिले पोखरा स्थित सिर्जनाचोकमा बिसौनी दोहोरी साँझ खोलेर बिगत १२ बर्षदेखि लोकदोहोरी पारखीहरुलाई मनोरन्जन दिनुको साथै कलाकारहरूलाई रोजगारीको पनि सिर्जना गरेका छौँ ।

यो पेशामा कत्तिको कमाई हुन्छ ? आफ्नो कमाईबाट सन्तुष्ट हुनुहुन्छ ?

लोकदोहोरी कलाकारको मुख्य आम्दानीको श्रोत मध्ये अहिलेको परिवेशमा युट्युबबाट आउने रोयल्टी, देश तथा विदेशमा हुने सांस्कृतिक कार्यक्रमहरू र दोहोरी साँझहरु नै हुन् । गर्नसक्नेलाई यो क्षेत्रमा राम्रो कमाइ हुन्छ देश विदेश पनि घुम्न पाइन्छ र सबैको माया र सम्मान पनि पाइन्छ । म पनि अहिलेसम्म यो क्षेत्रमा लागेर पछुताउनु परेको छैन । खुसी छु सन्तुष्ट छु ।

अहिलेसम्म देश तथा विदेशका कति ठाउँमा आफ्नो सांगीतीक प्रस्तुती राख्नुभएको छ ?

नेपाल भित्रका कति ठाउँमा गाइयो भन्ने रेकर्ड राखेको छैन । एक दिनमै धेरै कार्यक्रममा पुगिन्छ । नेपालका त मेचीदेखि महाकालीसम्म सबै ठाउँमा पुगेको छु । मुम्बई, पुना, आसाम, गुवाहाटी लगायत भारतका विभिन्न शहरमा आफ्नो प्रस्तुती दिने मौका पाएको छ । चीनको हङकङमा पनि आफ्नो प्रस्तुती राख्ने अवसर पाएको छु ।

नेपालमा गायन क्षेत्रको भविष्य कस्तो देख्नुहुन्छ ?

लोकदोहोरी हाम्रो पहिचान भएकोले पछिल्लो समय युवाहरूको पनि यसमा आकर्षण बढ्दो छ । लोकदोहोरी गीत संगीतमा नै आफ्नो करियर बनाउँछु भन्नेहरूको लागि पनि अहिले राम्रो अवसरहरू रहेको छ । म पनि यही क्षेत्रलाई आफ्नो करियर बनाएर अघि बढिरहेको छु । पछिल्लो समय यही क्षेत्रमा आफ्नो करियर बनाउँछु भनेर थुप्रै युवा कलाकारहरू पनि यस क्षेत्रसँग जोडिएका छन् ।

यदि आफुसँग राम्रो कला गला छ भने र समय अनुसार आफ्ना संगीतले दर्शक श्रोताहरुको मन जित्न सकियो भने नेपालमा पनि गायन क्षेत्रको भविष्य उज्वल छ । तर अझैपनि राज्यले कलाकारहरूलाई दिनुपर्ने सम्मान सेवा र सुविधा केही दिन नसकेकोमा दुःख चाही लाग्छ । चर्चित हुनलाई त आफैमा खुबि र क्षमता चाहीँ हुनैपर्छ र त्यो खुबिलाई सबै दर्शक श्रोताहरुसामु पुराउनु पर्यो । लगनशील निरन्तरता र मेहनत त जुनसुकै क्षेत्रमा सफल हुन चाहिन्छ नै ।

कलाकारितामा क्षेत्रमा लागेर परिवार समाज र राष्ट्रलाई कस्तो प्रभाव पार्न सफल हुनुभएको छ ?

यो क्षेत्रमा लागेर मेरो परिवारले पनि गर्व गर्ने वातावरण बनेको छ । समाजमा पनि राम्रै प्रतिष्ठा कमाएको छु । राष्ट्रमा पनि गित संगितको माध्यमबाट मैले केही योगदान पुर्याउने कोसिस गरिरहेको छु । त्यसैले अहिलेसम्म सबैतिर राम्रो प्रभाव पार्न सफल भएको महशुस गरेको छु ।

आफ्नो घर परिवारबाट कत्तिको सहयोग पाउनुभएको छ ?

गायन क्षेत्रमा लागेर आफुलाई अब्बल बनाउन सकियो भने नेपालमा लोकदोहोरी कलाकारले सजिलै सँग जिवन यापन गर्न सकिन्छ । तर अझै राज्यले पनि कलाकारको हितमा केही कार्यक्रम ल्याउन सके कलाकारहरूलाई जिवन यापन गर्न निकै सहज हुनेथियो । मेरो कुरामा अहिलेसम्म सजिलै सँग राम्रैसँग जिवन यापन गरिरहेको छु । म परिवारले पनि मलाई निकै सहयोग गर्नुहुन्छ । उहाँहरु मेरो कामबाट खुसी हुनुहुन्छ सन्तुष्ट हुनुहुन्छ ।

नेपालका सांस्कृतीक धार्मिक सामाजिक राजनैतिक रितीरिवाज भेषभुषा रहन सहन चालचलन परम्परालाई लोकगित संगितको माध्यमबाट विश्व बजारमा कस्तो सन्देश प्रवाह गर्न सकिन्छ र यसमा तपाँइको भुमिका के रहन्छ ?

लोकगित संगित भनेको हाम्रो कला संस्कृति परम्परा रहनसहन भेषभूषा भाषा साहित्य आदिलाई अभिब्यक्त गर्ने कला हो । लोकगितले समाजको प्रतिबिम्बलाई प्रस्तुत गर्दछ । हाम्रो देशको सस्कृतिलाई विश्वबजारमा पुर्याउने प्रमुख माध्यम नै लोकगीत संगित हो । त्यसैले हामीले हाम्रो मौलिक लोकसंस्कृतिलाई संरक्षण गर्दै विश्वब्यापीकरण गर्नु आजको आवश्यकता हो ।

र म लगायत सम्पूर्ण लोक कलाकारले देशको सस्कृतिलाई विश्वबजारमा पुर्याउन आफ्नो आफ्नो ठाउँबाट कोशिस गरिरहेका छौं र राज्यले पनि हाम्रो लोकसंस्कृतिको संरक्षण प्रवद्र्धनका लागि बिशेष कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने देखिन्छ । नेपालमा लोक दोहोरीलाई जीवनशैलीसँग जोडिन्छ किनकि, लोक गीत लोकको जीवनमा आधारित हुन्छ । लोक गीतमा लोक भाका, गाउँका, दुःखका वेदनाका, प्रेमका वा समाज, वातावरण लगायतका सबै कुराहरूलाई समेटेर गीत सिर्जना गरिएको हुन्छ जसले गर्दा लोक गीत नेपालीहरूको प्रिय बन्न गएको हो ।

यो क्षेत्रमा लागेका नयाँ पिढीलाई कस्तो सन्देश दिन चाहनु हुन्छ ?

गाउँ र सहर मात्र होइन, विदेशमा बस्ने नेपाली पनि चाडपर्वमा अनिवार्य रूपमा लोकगीतमा नाच्न थालेका छन् । पहिले नाच्नुपर्यो भने हिन्दी वा अंग्रेजी गीत मात्र बजाइन्थ्यो । अहिले लोकगित नबजाई चित्तै नबुझाउने जमात बढेको छ । जीवनसँग संगीतको अन्योन्याश्रित सम्बन्ध छ । सृष्टिकर्ता भगवान् शिवको हातमा डमरु, भगवान् कृष्णको हातमा बाँसुरी र विद्याकी देवी सरस्वतीको हातमा विणा हेर्दा नै पुष्टि हुन्छ कि जीवनसँग संगीतको अर्थपूर्ण सम्बन्ध छ ।

गीतसंगीत नभए जीवन कति विरसिलो हुन्थ्यो होला ? संसार कस्तो हुन्थ्यो ? कतिवटा युद्ध भइसक्थे ।
सयौँ मानिसलाई भुलाउने, झुलाउने, शान्त बनाउने गीतसंगीतको सम्बन्ध नङ र मासुको जस्तै छ । तर जुनसुकै क्षेत्रमा पनि सफल हुनुको लागि लगनशीलता, मेहनत र निरन्तरताको आवस्यकता पर्दछ ।

यदि तपाईंसँग पनि कला र गला छ भने यो क्षेत्रमा संघर्ष गर्नुहोस् । पक्कै पनि एकदिन सफल हुनुहुनेछ । तपाईं हामी सबै मिलेर हाम्रो लोकसंगीतको क्षेत्रलाई अनुसासित र मर्यादित बनाउदै अगाडी बढ्ने हो । जुनसुकै क्षेत्रमा पनि सुरुवातमा संघर्ष गर्न गाह्रो हुन्छ । तर आत्तिनु हुँदैन । किनकी तपाईंसँग हामी र हाम्रो साथ छ निर्धक्क अगाडी बढ्नु होला भन्न चाहन्छु ।

प्रतिक्रिया