रुकुम पश्चिम । मुसिकोट नगरपालिकाले अवैध भौतिक संरचना हटाउन जारी गरेको सार्वजनिक सूचना दुई महिना बित्यो, तर अहिलेसम्म एउटा पनि संरचना हटाइएको छैन ।
पालिकाका नागरिकले यसअघि आफूले भोग चलन गर्दै आएका तर कानूनी आधार नभएका संरचना हटाउन गत साउनमा सार्वजनिक सूचनामार्फत ३० दिनमा सडक छेउछाउका अवैध संरचना हटाउन निर्देशन दिइएको थियो ।
विशेष गरी सेरीगाउँ, बागबजार, खलंगाबजार, र सल्ले लगायत स्थानका नागरिकले कानूनी आधार नभएका अवैध संरचना सञ्चालन गर्दै आएका छन् । सार्वजनिक सूचना जारी गर्दा पनि अटेर गरे अनधिकृत संरचना हटाउन भौतिक रूपमा तथा कानूनी रुपमा नै उत्रिने भन्दै मुसिकोटले जानकारी मात्रै गराएको तर कार्यन्वयन नगरेको स्थानीयको भनाई छ ।
‘पहिले जस्तो अटेर गर्ने बानी छ केही परिवर्तन आउछ कि भनेको अवस्था उस्तै छ, अब चाडबाड सकिए लगत्तै अवैध भौतिक संरचना हटाउछौँ’, नगरप्रमुख महेन्द्र केसीले भने, ‘पटक–पटक अटेरी गरिएको छ, अब सार्वजनिक जग्गा मिचेर निर्माण भएका सबै संरचनामाथि डोजर चलाउने छौँ ।’
सार्वजनिक जग्गा मिचेर बनाईएको अवैध संरचना हटाउन जारी गरिएको उक्त सूचनाको व्यवसायीहरुले बेवास्ता गर्दै आएका छन् । यसअघि पनि पालिकाले सूचना निकाल्यो तर कार्यन्वयन हुन सकेको थिएन । साना व्यवसायीहरुले अवैध घुम्ती, टहरा हटाउनुको साटो नगरपालिका अगाडि नै टहरा बनाएर स्थानीय सरकारलाई चुनौती दिँदै आएका छन् ।
मुसिकोट नगरपालिकाभित्र सडक छेउमा जथाभावी बनाइएका घर, टहरा तथा घुम्तीहरुले सडक दुर्घटना बढ्ने र पैदल यात्रीलाई समेत असर पर्दै आएको छ ।
प्रतिक्रिया