इजरायल र हमासको द्वन्द्वबीच तेल अविव पुगे बेलायती प्रधानमन्त्री सुनक

तेल अविव । इजरायल र हमासबीचको जारी द्वन्द्वका बीच इजरायली शीर्ष नेताहरूलाई भेट्न र युद्धग्रस्त मुलुक इजरायलसँग ऐक्यबद्धता प्रकट गर्न बेलायती प्रधानमन्त्री ऋषि सुनक बिहीबार तेल अविव आइपुगेका छन् ।

प्रधानमन्त्री सुनकले अक्टोबर ७ मा इजरायलमा भएको रकेट हमलामा इजरायल र गाजामा भएको जनधनको क्षतिप्रति समवेदना प्रकट गर्ने र आफ्ना इजरायली समकक्षी बेन्यामिन नेतान्याहु र इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग भेट्नु हुने उनको कार्यालयले जनाएको छ ।

‘प्रत्येक नागरिकको मृत्यु एउटा त्रासदी हो र हमासको भयानक आतंकवादी क्रियाकलापपछि धेरै मानिसको मृत्यु भएको छ’, रोयटर्सका अनुसार तेल अविव भ्रमण गर्नुअघि प्रधानमन्त्री सुनकले एक विज्ञप्तिमा भनेका छन् ।

यसका अतिरिक्त प्रधानमन्त्री सुनकले चाँडोभन्दा चाँडो गाजामा मानवीय सहायता पठाउन अनुमति दिन र गाजामा फँसेका बेलायती नागरिकहरूलाई बेलायत प्रस्थान सम्भव बनाउन मार्ग खोल्न आह्वान गर्ने पनि रोयटर्सले जनाएको छ ।

यसअघि सामाजिक सञ्जाल एक्समा सुनकले सयौँको ज्यान जाने गरी गाजाको अस्पतालमा भएको हमलाको निन्दा गरेका थिए । ‘अल अहबी अस्पतालको दृश्यबाट हामी सबै स्तब्ध भएका छौँ, हाम्रा जासुसी संयन्त्रले तथ्यहरूको स्वतन्त्ररूपमा स्थापित गर्न तीव्ररूपमा विश्लेषण गरिरहेको छ’, उनले भने । हरेक दिन युद्ध क्रुर हुँदै जाँदा दुवै पक्षका हजारौँ मानिस मारिएका छन् ।

प्रतिक्रिया