काठमाडौं । एसीसी यू–१९ प्रिमियर कप क्रिकेटअन्तर्गत नेपालले साउदी अरबलाई ३०१ रनले हराउँदै विजयी भएको छ ।
बिहीबार मलेसियामा भएको नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ३४८ रनको लक्ष्य दिएको थियो । विशाल लक्ष्य पछ्याएको साउदी अरब १९.१ ओभरमा ४६ रन बनाएर अलआउट भएपछि नेपालले फराकिलो जित हात पारेको हो ।
साउदीलाई सस्तैमा समेट्ने क्रममा नेपालका दिपेश कंडेलले ६, आकाश चन्दले २ र शुवास भण्डारीले एक विकेट लिए ।
यसअघि मलेसियाको युएसडी–युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ८ विकेट गुमाएर ३४७ रनको विशाल योगफल बनाएको थियो ।
नेपालका लागि अर्जुन कुमालले शतकीय पारी खेले । उनी १४२ रनबनाएर आउट भए । अर्का ब्याटर आकाश त्रिपाठीले ८९ रनको महत्वपूर्ण योगदान गरे भने ओपनिङमा आएका दीपक बोहोरा २९ रन बनाए ।
चौथो नम्बरमा आएका कप्तान देव खनाले भने शून्य रनमै आउट भए । त्यसपछि आएका दीपकप्रकाश डुम्रेले १४ रनमा आउट भए । मिलन बोहरा ९ रन र दीपेश कंडेलले १४ रन बनाए । विशालविक्रम केसी २४ रनमा अविजित रहे ।
साउदीका मोहम्म अहमद राजा र मोहम्मद घयोर अहमदले दुईरदुई, जुहेयर मोहम्मद, अब्दुल्लाहा शिराज र शजीब मुजीबुर रहमानले एक–एक विकेट लिए । योसँगै नेपाल समूह एको विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । अब नेपालले सेमिफाइनलमा समूह डीको विजेतासँग खेल्नेछ ।
प्रतिक्रिया