मोरङ । समाजमा ललितकलाप्रति जागरण ल्याउने लक्ष्यका साथ मुहारचित्र बनाइ वितरण गरिएको छ । सखी फाइन आर्ट ग्यालरीको आयोजनामा गरिएको कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई (डिपी) ले कला र संस्कृतिको संरक्षण र विकासले राज्यको मौलिकता बढ्ने विचार व्यक्त गरे । उनले समाजलाई गतिशील र समृद्धशाली बनाउन कला र संस्कृतिमा राज्यले विशेष ध्यान दिनुपर्ने बताए ।
नगरप्रमुख राईले बेलबारीमा रहेका सबै क्षेत्रका कलाकार तथा साहित्यकारले राष्ट्रिय तथा अन्तर्राष्टिय स्तरमा अगाडि बढिरहेकाले बेलबारी नगरले उनीहरूको सम्मान प्रोत्साहन गरेर लानुपर्ने जिम्मेवारी काँधमा लिएको जनाए । सो कार्यक्रममा विशेष अतिथिमा पूर्वसांसद एवं संस्कृतिकर्मी हर्कमान तामाङ, संविधानसभा सदस्य तथा जनकलाकार मधु गुरुङ, समालोचक तथा लेखक मिश्र बैजन्तीले कला अभियानमार्फत सखी फाइन आर्ट ग्यालरीले जागरण ल्याउन गरेको प्रयास सराहनीय रहेको धारणा राखे ।
अग्रज कलाकार विक्रम श्रीले मुहारचित्रकला इतिहास र वर्तमान अवस्थाबारे धारणा राख्दै कलाको महत्वका बारेमा चर्चा गरे । उनले सामाजिक जागरणमा कलाको विशिष्ट भूमिका रहने भएकाले राज्यले ध्यान दिनु पर्नेमा जोड दिए । कार्यक्रमका संयोजक कलाकार गणेश लामाले अभियानमार्फत ललितकलाप्रति जागरण ल्याउन कार्यक्रम गरिएको धारणा व्यक्त गरे ।
उनले भने, ‘बेलबारी नगरमा सखी ग्यालरीले नियमित रुपमा कार्यक्रम गर्दै आइरहेको छ । कलालाई सामाजिक रुपमा स्थापित गर्ने लक्ष्यका साथ अभियान गरिएको हो । यसमा सबैको साथ र सहयोग रहने अपेक्षा राखेका छौं ।’
सो अवसरमा कलाकार गणेश लामा, शिव छाङछा राई र सगुन पोख्रेलले तयार गरेको २९ जना विभिन्न व्यक्तत्वका मुहारचित्र वितरण गरिएको थियो । सो कार्यक्रम साहित्यकार धनजीत पराजुलीले सञ्चालन गरेका थिए ।
प्रतिक्रिया