‘खोकना’ सम्मानित

काठमाडौं । प्रेस काउन्सिल नेपालले वरिष्ठ कार्टुनिस्ट मोहनश्याम महर्जन ‘खोकना’ लाई सम्मान गरेको छ । सोमबार पे्रस काउन्सिल नेपालको आयोजना र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र कार्टुनिस्ट क्लब अफ नेपालको संयोजन तथा सहकार्यमा भएको ‘सञ्चार माध्यममा कार्टुन र आचारसंहिता’ विषयक अन्तरक्रियामा उनलाई सम्मान गरिएको हो । नेपाली कार्टुन क्षेत्रमा पाँच दशकदेखि सक्रिय खोकना अहिले पनि नियमित कार्टुन बनाउँदै आएका छन् । सो अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रेस काउन्सिल नेपालले सिर्जनात्मक सन्देश दिने कार्टुन विधालाई स्थान दिँदै यस विधालाई थप उजागर गर्न आवश्यक रहेको बताए । उनले भने, ‘काउन्सिलले सिर्जनात्मक कार्टुनिस्टलाई जीवित बनाउन जरुरी छ ।’

कुलपति हार्तम्छालीले कार्टुनले सिर्जना र सन्देशलाई सँगसँगै लैजाने बताए । उनले प्रेसले नियमन, नीतिगत सन्दर्भमा सचेत गराउने, संस्थागत प्रणालीबाट समाधान गरी त्रिकोणात्मक सन्तुलन गर्ने धारणा राखे । उनले भने, ‘कलाकरले भावनामा व्यक्त गर्ने कुरालाई वैचारिक रुपमा पनि बुझ्न सक्नुपर्छ । विवेक र विवेचनाबाट व्यक्त कलाकारिताको महत्व हुन्छ ।’

कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले पत्रकारितामा कार्टुनको महत्व विशिष्ट रहेको बताउँदै यसमा काउन्सिल, क्लब, नेपाल पत्रकार महासंघसँग मिलेर काम गर्न चाहेको बताए । उनले भने, ‘नेपाली पत्रकारितामा कार्टुन छापेकै कारण सम्पादक जेल जानुपरेको थियो । उनै कार्टुनिस्टलाई काउन्सिलजस्तो संस्थाले सम्मान गर्दैछ । यो निकै नै अनुकरणीय कार्य हो ।’ उनले राज्यबाट कार्टुनिस्टलाई अनावश्यक दबाब दिइने गरेको, बढ्दो प्रविधिको प्रयोगले कार्टुनलाई हल्का रुपमा लिइने र फोटोसफ एप्सजस्ता माध्यमबाट कार्टुनजस्तो बनाएर प्रचार गर्ने प्रवृत्ति बढेकोमा चिन्ता व्यक्त गरे । राजनीतिक, सामाजिक विकृति विसंगतिविरुद्ध कार्टुनले सशक्त आवाज उठाइरहेको बताउँदै सदाचारका निम्ति कार्टुनिस्टले निरन्तर बोलिरहनु पर्ने विचार व्यक्त गरे ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले राजनीतिक व्यक्तिले कार्टुनको मर्म बुझिदिन जरुरी रहेको बताए । उनले भने, ‘कार्टुनिस्टले बनाएको कार्टुनको व्यङ्ग्यलाई राजनीतिज्ञले अन्यथा नलिन र रचनात्मकरूपमा मात्रै लिन अनुरोध छ ।’ सो अवसरमा अध्यक्ष बस्नेतले कार्टुन पत्रकारिता, कार्टुनको वर्तमान अवस्था, कार्टुनमा आचारसंहिता लगायतका विषयमाथि प्रकाश पारे । साथै उनले कार्यपत्र प्रस्तुत गर्दै कार्टुनको महत्व र आवश्यकताका बारे चर्चा गरे ।

कार्टुनिस्ट क्लब नेपालका महासचिव रवि मिश्रले नेपाली पत्रकारितामा कार्टुनको महत्वका बारेमा चर्चा गरे । उनले कार्यपत्र प्रस्तुत गर्दै कार्टुनको परिभाषा, अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा कार्टुनको संक्षिप्त इतिहास, नेपाली कार्टुनको इतिहास, नेपाली पत्रकारितामा महिला कार्टुनिस्ट, पेसागत चुनौतीहरु, नगन्य पूर्णकालीन कार्टुनिस्ट, सेन्सरसिप र प्रतिबन्ध लगायतका विषयमाथि परिचर्चा गरे ।

कार्टुनिस्ट क्लबका अध्यक्ष एवं प्राज्ञसभा सदस्य वासु क्षितिजले कार्टुनिस्ट जहिले पनि राज्यको प्रतिपक्ष भूमिकामा रहने हुँदा कतिपय अवस्थामा दुःख पाउने गरेको बताए । उनले भने, ‘सरकारबाटै कार्टुनिस्ट सधैँभरी त्रासमा रहेर काम गर्नुपर्ने अवस्थालाई काउन्सिलले सुरक्षा प्रदान गर्नुपर्छ । कार्टुनले राज्यको विकृति÷विसङ्गतिलाई उजागर गर्दछ भन्ने कुरा सबैले बुझ्न जरुरी छ ।’ उनले समयअनुसार पहिला कार्टुन छापिनै पथ्र्यो भने अहिले सामाजिक सञ्जालमा पोस्ट हुन थालेको बताए । उनले थपे, ‘कार्टुनको मर्म भनेकै विकृति विसंगतिमाथि व्यंग्य हो ।’

अग्रज कार्टुनिस्ट एवम् टिप्पणीकार रविन सायमीले प्रेस काउन्सिलले अभिव्यक्तिका पक्षमा काम गर्नुपर्नेमा जोड दिए । उनले विकृति विसंगतिविरुद्ध आवाज सशक्त रुपमा उठाउनु पर्ने विचार व्यक्त गरे । अग्रज कार्टुनिस्ट अविन श्रेष्ठले कार्टुन र पत्रकारिता गाँसिएको विषय भए पनि काउन्सिलले कार्टुन विधालाई स्थान नदिएको दुःखेसो व्यक्त गरे । उनले भने, ‘कार्टुनिस्ट पेसा लोपोन्मुख हुन थालिसक्यो यसको अस्तित्व कायम राख्न काउन्सिलले भूमिका खेल्नुपर्छ । नवप्रवेशी कार्टुनिस्टलाई प्रोत्साहन गर्न त्रासको वातावरण अन्त्य हुनुपर्छ ।’ श्रेष्ठले पञ्चायतकालमा बामे सर्दै गरेको कार्टुन कलाले प्रजातन्त्रपश्चात् अभिव्यक्ति स्वतन्त्रतामा सशक्त कदम चालेर नयाँ कार्टुनिस्ट जन्मिएको स्मरण गरे । उनले कार्टुनिस्टलाई बाँध्ने खालका गतिविधिमा प्रेस काउन्सिलले ध्यान दिनुपर्ने बताए ।

नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कार्टुनक्षेत्रलाई व्यवस्थित ढंगले अगाडि बढाउन पहल गर्नुपर्नेमा जोड दिए । कार्टुनिस्ट राजेश केसीले कार्टुनिस्टले आफ्नो परिचय नपाएको बताए । उनले भने, ‘प्रेस प्रतिनिधि पास कार्टुनिस्ट भनेर पाइँदैन । कार्टुन विधालाई परिचय दिनुपर्छ । काउन्सिलले स्पष्टिकरणका लागि पत्र काट्दा विज्ञसँग छलफल गरेरमात्रै पत्र काट्नुपर्छ नभए काउन्सिलकै विज्ञतामाथि प्रश्न उठ्न सक्छ ।’

केसीले कार्टुन भनेकै प्रतिपक्ष भएकाले यो स्वभाविक रुपमा विवाद आएता पनि यससँग सम्बन्धित समस्यालाई समाधान गर्न प्रेस काउन्सिल अग्रसर हुनुपर्ने धारणा राखे । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख प्राज्ञ सौरगंगा दर्शनधारीले कार्टुनिस्ट, प्रेस काउन्सिल तथा कला संस्थाहरुबीचको एकताको महत्वलाई जोड दिइन् । उनले कलाकार, सम्पादक र प्रकाशक सबैले कार्टुन सिर्जनामार्फत समाजसँग साझेदारी गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् । अग्रज कलाकार अशोकमान सिंले कार्टुन विधाको विकासका लागि सबै सरोकारी संघसंस्थाले काम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रतिष्ठानका प्राज्ञपरिषद सदस्य पाल्साङ्मो लामा, प्रदिप अधिकारी, दिनेश्वर महतो, अरुणा हिङमाङ, नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनाल, कार्टुनिस्ट रविन्द्र मानन्धर, योगेश खपांगी, अनुप गुरुङ, अनुप गुरुङ, भानु भट्टराई, उमेशचन्द्र अधिकारी, सानुराज डंगोल, रामहरि रिमाल, पानसिं तमोर, सागर शाह लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया