कोशी प्रदेशको घटनाले गठबन्धनलाई समस्या हुँदैन : सहमहामन्त्री परियार

प्युठान । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पछिल्लो समय कोशी प्रदेशमा देखिएको राजनीतिक घटनाक्रमले गठबन्धन सरकारलाई कुनै असर नपुग्ने बताएका छन् ।

नेपाल प्रेस युनियन जिल्ला शाखा प्युठानले बाग्दुलामा गरेको पत्रकार भेटघाटमा सहमहामन्त्री परियारले गठबन्धन सरकार र कांग्रेसबीच कुनै समस्या नआउने दाबी गरे । सरकार बनाउने–गिराउने खेलमा नेपाली कांग्रेस पार्टी नरहेको बताउँदै उनले भने, ‘अहिलेको सरकार संविधानले व्यवस्था गरे अनुसार बन्न बाँकी कानून निर्माण गरी अगाडि बढ्ने स्पष्ट छ ।’

पछिल्लो समय देशमा साम्प्रदायिक भड्काउने र वैदेशिक हस्तक्षेप र देशमा अशान्ति पैदा गर्ने खेल भइरहेकोप्रति सरकार सचेत रहनुपर्ने उनले बताए । देशमा महंगी अस्थिरता बढेकोले यसमा कतै सरकार चुकेको भन्दै उनले महँगी अनियमितता भ्रष्टचार कालोबजारी नियन्त्रण गर्न सरकार लाग्नुपर्ने बताए ।

प्रतिनिधिसभा सदस्य समेत रहेका नेता परियारले अहिलेको सरकार संविधानको रक्षा गर्न ऐन कानून निर्माणमा जोड दिएको बताए । ‘मौलिक हक कार्यान्वयन गर्न ३ वर्षभित्र सबै ऐन कानून बनाउछौँ भनेर संविधानमा लेखिएको छ,’ उनले भने, ‘अहिलेको सरकार सबै ऐन कानून बनाउन लागिपरेको बताए ।’

उनले देशमा कतिपय पेशाकर्मीहरुले उठाएको माग र मुद्दामा सरकार सचेत रहेको बताए । सहमहामन्त्री परियारले महंगी नियन्त्रणमा सरकार चुकेको बताए । महंगी नियन्त्रणका लागि पार्टीले सरकारलाई पटक–पटक सुझाव दिएको उनले बताउए । भ्रष्टाचार मुद्दामा सरकारले निष्पक्ष अनुसन्धान गर्नुपर्ने उनको भनाई छ ।

जिल्लामा संगठनलाई सुदृढीकरण गर्ने कार्यकर्ता भेटघाट र समग्र राजनीतिक अवस्थाबारे जानकारी गराउने कार्यक्रम रहेको उनले बताए । नेपाल प्रेस युनियन जिल्ला शाखा प्युठानका अध्यक्ष मधुसूदन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार सम्शेरबिक्रम जेसीले गरेका थिए ।

पत्रकार भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय तथा जिल्ला नेता कार्यकर्ता र जिल्लाका क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया