आधुनिकीकरण हुन नसक्दा संकटमा आरन व्यवसाय

धनगढी । आधुनिकीकरण हुन नसक्दा पछिल्लो समय आरन व्यवसाय संकटमा पर्न थालेको छ । परम्परागत सीपमा आधारित आरन व्यवसाय समयानुकूल हुन नसक्दा संकटमा पर्न थालेको हो । समयानुकूल हुन नसकेको यो व्यवसाय गर्ने मान्छे पनि घट्दै गएका छन् । आजकाल फाट्टफुट्ट मात्रै आरन व्यवसाय गर्ने मानिस भेटिन्छन् ।

युवा पुस्ताहरू त झन् आरन व्यवसायमा लागेका बिरलै भेटिन्छन् । आधुनिक प्रविधिबाट बनेका सामानहरू सस्तोमा पाइने र आरनमा बनेका सामान महँगो हुने भएकाले बनाइएका सामान समेत बिक्री गर्न समस्या हुने गरेको आरन व्यवसायी बताउँछन् । कैलालीको धनगढी उपमहानगरपालिका–११ बेलाका खेमबहादुर विकले बजारमा पाइने आधुनिक प्रविधिबाट बनेका सस्ता सामानले आफूले आरनमा बनाएका सामान बिक्री गर्न समस्या हुने गरेको दुःखेसो पोखे ।

‘बजारमा एउटा बन्चरोलाई पाँच सय रुपैयाँ पर्छ, हामीले आरनमा बनाएको बन्चरोलाई तीन हजारसम्म पर्छ, अनि कसले किनिदिने हाम्रो सामान’, उनले भने, ‘हाम्रो मिहिनेत पनि धेरै लागेको हुन्छ, बनाउन पनि समय लाग्छ त्यति सस्तोमा दिए भने लगानी नै आउँदैन ।’
डोटीमा रहेर आरन व्यवसाय गर्दै आएका खेमबहादुर बसाइँसराइले गाउँमा मान्छे घटेसँगै बढी जनसंख्या भएको ठाउँमा गएर काम गर्दा राम्रो कमाइ हुन्छ होला भनेर चार वर्षअगाडि परिवारसहित कैलाली झरे ।

उनले भने, ‘डोटीतिर हुँदा काम गरेबापत धान, गहुँ दिन्थे, यता नगद कारोबार पनि हुन्छ, मान्छे पनि धेरै हुन्छन् राम्रै कमाइ होला भनेर यता आएँ, यहाँ पनि अनेकन समस्या हुन थाले ।’ उमेरले ४० वर्षीय खेमबहादुर सात जनाको परिवार आरन व्यवसायबाट पाल्ने गरेको बताउँछन् ।

उनी भन्छन्, ‘खेतीपाती गर्न जग्गा जमीन छैन् अन्य रोजगारी पनि केही छैन । छोराछोरीको लालनपालन, पढाइलेखाइ खर्च यसैबाट चलाउनुपर्छ । नयाँ सामान बनाएपछि बिक्री गर्नै मुस्किल पर्छ ।’ पुराना घरायसी सामान मर्मत गरेरै भए पनि दिनमा १ हजार ५ देखि २ हजार रुपैयाँसम्म कमाइ गर्ने गरेको उनी बताउँछन् ।
‘कृषि पेसामा प्रयोग हुने, घरायसी प्रयोजनका सबै सामान बनाउने सीप त छ’, उनले भने, ‘नयाँ आधुनिक प्रविधिबाट बनेका सस्तो सामानले गर्दा बेच्न समस्या हुन्छ, आधुनिक औजारको प्रयोग गरेर काम गर्न पाएको भए त मनग्य आम्दानी हुन्थ्यो’ ।
‘काम पनि धेरै अप्ठयारो छ, दुई जना अनिवार्य हुनुपर्छ आरनमा’, उनले भने, ‘ठूला घनले फलाम पिटेर सामान बनाउनु पर्छ, तागतको काम हुन्छ, त्यसैले हामीले आरनमा बनाएका सामान महँगा हुन्छन्, बलिया पनि हुन्छन् तर ग्राहकले त्यो बुझ्दैनन् ।’ ‘सरकारले आधुनिक औजार दिएको भए हामीलाई पनि काम गर्न सजिलो हुन्थ्यो’, उनले भने ।

त्यस्तै सोही ठाउँका ६३ वर्षीय टीकासिंह कामी पनि आरन व्यवसायबाटै परिवार पाल्दै आएका छन् । उनलाई पनि त्यही सामन नबेचिने समस्याले पिरोलेका छ । आधुनिक प्रविधिबाट बनेका कृषि सामानले उनका आरनमा बनेका सामान बेच्न कठीन छ ।
टीकासिंहले भने, ‘एउटा हँसिया दुई दिन लगाएर बनाउँछु, चार÷पाँच सय मूल्यमा बिक्री गर्छु, बजारमा १ सय ५० मै हँसिया पाइन्छ, अनी हाम्रो सामान कसले किन्छ ।’ ‘यो पेसाबाट गुजारा नै नचल्ने भएर त होला धेरैले यो पेसा नै छाडिसके’, उनले भने, ‘म त अरूकाम गर्न पनि नसक्ने भएँ, सधैँ यही काम गरेकाले सजिलो लाग्ने भएर काम गरिरहेको छु, हामी भन्दा पछिल्ला पिढीले त यो काम गर्दैनन् होला ।’

‘तागत भए गर्न सकिने काम हो अब त बुढेसकाल लागिसक्यो म पनि काम गर्न नसक्ने भइसकेँ तर के गर्ने गुजारा चलाउन काम गर्नै पर्यो’, उनले भने, ‘समय अनुसार बनाउन नसके आरन व्यवसाय अप्ठ्यारोमा छ ।’

प्रतिक्रिया