बनेपा महोत्सव सुरु, मन्त्री लामाले गरे उद्घाटन

काभ्रे । काभ्रेपलाञ्चोकमा व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेला बनेपा महोत्सव-२०८०’ चौथो संस्करणको आजदेखि सुरुआत भएको छ । दसैँको पूर्वसन्ध्यामा बनेपा ब्वाइज क्लबद्वारा आयोजित मेला–महोत्सव बनेपास्थित उगे्रश्वर मन्दिर परिसरमा कात्तिक ४ गतेसम्म सञ्चालन हुने छ । सम्मेलनमा पर्यटन, कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक, हस्तकला तथा खेलकुद विकास गर्ने उद्देश्यले लिइएको छ । महोत्सवको बाग्मती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामाले आज उद्घाटन गरे ।

मन्त्री लामाले स्थानीय सांस्कृतिक, औद्योगिक, हस्तकला प्रवद्र्धन र खेलकुद विकासमा महोत्सवले ठूलो सहयोग पुग्नेमा विश्वास व्यक्त गरे । ‘महोत्सव आन्तरिक पर्यटक प्रबद्र्धन र आर्थिक गतिविधि बढाउन सहयोगी हुनेछ’, उनले भने ।

मेला उद्घाटनअघि बनेपास्थित चैतन्यचोकदेखि महोत्सवस्थलसम्म स्थानीय कला संस्कृति झल्कने झाँकी तथा बाजागासहित नाच प्रदर्शन गरिएको थियो । क्लबका अध्यक्ष महेश कर्माचार्यले यो ‘बनेपा महोत्सव–२०८०’को चौथो संस्करण भएको उल्लेख गर्दै मेलामा कृषि, घरेलु सामग्री लगायतका करिब एक सय प्रदर्शन कक्ष रहेको जानकारी दिए ।

मेलामा बाल उद्यानको व्यवस्थापन गरिएको छ प्रत्येक दिन राष्ट्रिय कलाकारको सहभागितामा सांस्कृतिक कार्यक्रमसमेत गरिने छ । साथै महिला भलिबल, खुल्ला नृत्य तथा गायन, मार्सल आर्ट तथा ऐतिहासिक बनेपासम्बन्धी चित्रकला प्रतियोगिता सञ्चालन गरिने आयोजकको भनाइ छ ।

गत भदौमा काभ्रेपलाञ्चोक होटल तथा रेष्टुराँ व्यवसायी सङ्घ र पार्टी प्यालेस तथा क्याटरिङ सङ्घको आयोजनामा बनेपामा परम्परागत खाना, संस्कृति, भेषभूषा तथा स्वच्छ परिकारको प्रवद्र्धन गर्ने उद्देश्यले ‘काभ्रेपलाञ्चोक फुड फेस्टिबल, नेवारी सुकुल भोज तथा सांस्कृतिक कार्यक्रम’ आयोजना गरिएको थियो ।

त्यसैगरी गत वर्षको माघमा बनेपा (भ्वतः)को ऐतिहासिकतालाई महत्व दिने उद्देश्यले सांस्कृतिक महोत्सवको आयोजना गरिएको थियो । यहाँका दरबार चोक र मन्दिरका आ–आफ्नै महत्व रहेको तथा यी सम्पदा प्रचार अभावले ओझेलमा परेकाले देशविदेशमा चिनाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको थियो ।

ऐतिहासिक एवं प्राचीन सहर बनेपा काभ्रेपलाञ्चोकको मुख्य व्यापारिक केन्द्र हो । यो सहरमा धेरै पहिलेदेखि घाम र हावाको सन्तुलन मिलाउन ठाउँठाउँमा (चोक), पानीको व्यवस्था मिलाउन ढुङ्गेधारा र इनारहरू, सांस्कृतिक कार्यक्रम गर्न तथा नाटक देखाउन डबली बनाइएका छन् । बनेपा नौवटा ढुङ्गेधारा, नौवटा चोक, नौवटा डबली र ९९ वटा इनार भएको सहर हो ।

प्रतिक्रिया