भूकम्प पीडितका लागि राहत लिएर बझाङ पुगे रवि लामिछाने

बझाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यतिखेर बझाङमा छन् । मंगलबार आएको भूकम्पले क्षतिग्रस्त भएको क्षेत्रको स्थलगत अनुगमन र राहत वितरण गर्न सभापति लामिछाने बझाङ आइपुगेका हुन् ।

सभापति लामिछाने बिहीबार जयपृथ्वी राजमार्गअन्तर्गतका पर्ने पालिका विथ्थडचिर केदारस्यु छविसपाथिभेरा र जयपृथ्वी नगरपालिकाको चैनपुर भोपुर गोलाई र देवल लगायतका ठाँउमा स्थलगत अनुगमन र राहत वितरण कार्यक्रममा छन् ।

बिहीवार बिहान नेपाल पत्रकार महासंघ बझाङले आयोजना गरेको पत्रकार सम्मेलनमा लामिछानेले भने, ‘भूकम्पले पुर्याएको क्षति बुझ्न र प्रभावितसँग साक्षात्कार गर्न बझाङ आइपुगेका छौँ ।’ भूकम्पमा परी एक जनाको ज्यान गएको छ । केही घाइते भएका छन् भने कैयौँ घर भत्किएका छन् ।

पूर्णरुपमा क्षति नभए पनि अधिकांश घर चर्कीएका छन् । प्रभावितलाई उचित व्यवस्थापनको खाँचो रहेकाले आफू यस जिल्लामा आएको उनले बताए ।

उनले भूकम्पकले क्षति भएको र आफूले गर्नुपर्ने कर्तव्यबारे जिल्लाका सुरक्षा निकायसँग छलफल भएको तथा आफूले ल्याएका टेन्टलगायतका सामग्री प्रमुख जिल्ला अधिकारीसमक्ष बुझाएको बताए । आफू बझाङ आउनुले मात्रै पनि राज्यको नजर त्यसतर्फ गएको समेत उनको दाबी थियो ।

प्रतिक्रिया