बाजुरा । मंगलबार बझाङको तलकोटमा ५ दशमलव ३ म्याग्नेच्युड र चैनपुर केन्द्रविन्दु बनाएर आएको ६ दशमलव ३ म्याग्नेच्युडको भूकम्पमा परी बाजुरामा दुई जना घाइते हुनाका साथै नौ घर पूर्ण रूपमा क्षति भएका छन् । घाइते हुनेमा बडीमालिका नगरपालिका–९ का प्रलोप डिजी र खप्तड छेडेदह गाउँपालिका–४ घर भई हाल बडीमालिका नगरपालिका–८ मा बस्दै आएका १३ वर्षीय सुन्दर सार्की रहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
घाइते भएका डिजी घर अगाडिको आँगनमा खेल्दै गरेको बेला घरको छतबाट ढुंगा खसेर टाउकोमा चोट लागेको छ भने सार्की विद्यालय सञ्चालन भइरहेका बेला भूकम्प आएपछि आत्तिएर दौडिने क्रममा विद्यालयको सिँढीमा लडेर बायाँ हातको हड्डी चर्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए ।
उनका अनुसार घाइते भएका दुवै बालकको जिल्ला अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका छन् । भूकम्पका कारण जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा ६ घर र बूढीगंगा नगरपालिकामा तीन घर पूर्ण रूपमा क्षति भएको प्रहरी निरीक्षक भण्डारीले बताए । जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरीचौकीलाई भूकम्पबाट क्षतिको विवरण संकलनका लागि खटाएअनुसार प्रहरी टोलीले दिएको जानकारीअनुसार खप्तड छेडेदहमा ६ र बूढीगंगा नगरपालिकामा तीन घर पूर्ण रूपमा क्षति भएको बताए । उनका अनुसार भूकम्पका कारण १३ निजी घर र पाँच सरकारी भवन आंशिक रूपमा क्षति भएका छन् ।
भूकम्पबाट भएको थप क्षतिको विवरण संकलन र स्थलगत अनुगमनका लागि जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल भूकम्पबाट प्रभावित क्षेत्रको अनुगमनमा गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भूकम्पबाट जिल्लाका बूढीगंगा नगरपालिका, खप्तड छेडेदह गाउँपालिका, त्रिवेणी नगरपालिका र बडीमालिका नगरपालिका प्रभावित बनेका छन् । भूकम्पले दर्जनौँ घर चर्किएर जोखिम हुनुका साथै फेरी भूकम्प आउने डरले खप्तड छेडेदह र बूढीगंगा नगरपलिकाका स्थानीय रातभर जाग्राम बसेका हुन् ।
यसैगरी बझाङमा भूकम्पबाट ३ सय ३६ निजी तथा सरकारी भवनहरूमा क्षति पुगेको छ, भने एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो । बझाङमा भूकम्पबाट ११ जना घाइते भएका छन् । दुई जना उपचारपछि घर फर्किएका छन् भने नौ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
बेपत्ताको खोजी कार्यको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिरहेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए । पाण्डेका अनुसार जिल्लामा अहिलेसम्म प्राप्त जानकारी अनुसार २१ सरकारी भवन र ३ सय १५ निजी भवनहरू चर्केका र केही भत्केको भन्ने खबर प्राप्त भएको छ । भूकम्पका कारण बझाङका दजनौँ घर, विद्यालयमा क्षति भएको छ ।
त्यस्तै यता जयपृथ्वी नगरपालिकाले भूकम्पको त्रास नहटेको भन्दै शुक्रबारसम्म पालिका भित्रमा सञ्चालित सामुदायिक र निजी विद्यालयहरूमा बिदा दिएको छ । भूकम्पका कारण धेरै विद्यालयमा क्षति भएको हँुदा बिदा दिएको जयपृथ्वी नगरपालिकाका शिक्षा संंयोजक निरजप्रशाद रेग्मीले बताए । रेग्मीका अनुसार भूकम्पबाट भएको क्षति र हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै विद्यालयमा बिदा दिएको बताए । भूकम्पका कारण मंगलबार राती अधिकांश मानिसहरूले खुल्ला चौर सार्वजनिक स्थलमा रात बिताएका थिए । बझाङमा मंगलबार मात्रै १२ पटकसम्म भूकम्प गएको छ । यसैबीच सुदूरपश्चिम प्रदेश सरकारले भूकम्पबाट प्रभावित भई घाइते भएकाको उपचार खर्च बेहोर्ने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बुधबार बसेको सर्वपक्षीय बैठकमा भूकम्पबाट प्रभावितको उद्धार कार्यलाई प्रभावकारी बनाउँदै प्रभावितलाई तत्काल एकद्वार प्रणालीबाट राहत सामग्री वितरण गर्ने निर्णय भएको छ ।
खोज, उद्धार, राहत वितरण कार्य आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायको समन्वयमा गर्ने निर्णय भएको मुख्यमन्त्री कमलबहादुर शाहले बताए । उनले भूकम्पमा परी घाइते भएकाको उपचारमा कुनै कमीकमजोरी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै घाइतेको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने जानकारी दिए ।
बैठकमा प्रदेश सरकारका मन्त्री, प्रदेशसभाका सभामुख, प्रदेशका प्रमुख सचिव, सचिव, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति थियो । मंगलबार बझाङमा गएको भूकम्पमा परी जयपृथ्वी नगरपालिकाकी गुनमती धामीको मृत्यु भएको छ । भूकम्पसँगै पहिरो जाँदा बेपत्ता भएकी उनी मृत फेला परेकी थिइन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, सञ्चार शाखाका अनुसार भूकम्पका कारण बझाङ, अछाम, बैतडी र बाजुरामा गरी २७ जना घाइते भएका छन् । भूकम्पको झड्काका कारण करिब ३२ सरकारी, तीन सय संख्यामा विद्यालय भवन तथा व्यक्तिगत घरमा क्षति पुगेको छ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बझाङमा मंगलबार गएको भूकम्पका कारण एकको मृत्यु, केही बेपत्ता र दर्जनौँ व्यक्ति घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
उनले बुधबार एक विज्ञप्तिमार्फत सो घट्नाप्रति दुःख व्यक्त गर्दै सम्पूर्ण पीडितहरूको संवेदनशीलताप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सहानुभूति प्रकट गरे । सभापति देउवाले युद्धस्तरमा उद्धारको कार्य गर्न, हराएकाहरूको तत्काल खोजी, भूकम्पबाट प्रभावितलाई सुरक्षित स्थलतर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियताका साथ लाग्न सरकारसँग आग्रह गरे । उनले स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन आग्रह गर्दै यस विपत्तिको सामना संयम र एकतापूर्वक गर्नसमेत आग्रह गरेका छन् ।
प्रतिक्रिया