काठमाडौं । प्रविधिमा आएको परिवर्तनसँगै नेपाली चलचित्रमा नयाँपनको थालनी भएको छ । विसं २०६३ पछि चलचित्र क्षेत्रमा पनि परिवर्तन देखा पर्यो । प्रविधिको विकाससँगै चलचित्र निर्माणमा नयाँ र जनचासोका कारण विविध विषयले स्थान पाउन थाले । विसं २०६५ पछि निर्माण भएका ‘कागबेनी’ एवं ‘सानो संसार’ बाट सुरु भएको डिजिटल चलचित्रको यात्राले नेपाली सिनेजगतमा नयाँपन ल्याउने बाटो खोल्यो । चलचित्र ‘लूट’ को प्रदर्शनपश्चात यसले झनै गति लियो । यी चलचित्रको निर्माणले नेपाली सिने जगतमा स्थापित पुराना मान्यतालाई भत्काउन सफल भयो । अभिनेता, कला, पहिरन, छायांकन, लवजसँगै प्रस्तुतिका दृष्टिले अन्यभन्दा भिन्न चलचित्र ‘लूट’ ले नयाँपनको थालनी गर्यो । देशमा भइरहेको परिवर्तन र त्यसले दिएका विषयवस्तु तथा परिवर्तनसँगै भित्रिएका आधुनिक प्रविधिले दिएको सहजताका कारण अहिले चलचित्रलाई समाजसँग जोड्ने गरिएको छ ।
यसअघि सामाजिक विषय र बदलाभावका कथा कयौँ चलचित्रमा देखिए । किनकि ती दर्शकमार्फत अनुमोदित विषय थिए । त्यसलाई धेरै समयसम्म निर्देशक र पटकथाकारले फेर्न चाहेनन् । बजारको मागअनुसार चलचित्र निर्माण भइरहेको निर्देशक ज्ञानेन्द्र देउजाले बताए । उनले समाजमा देखिएको परिवर्तन र नयाँपनलाई लामो समय चलचित्रमा उतार्न नसकिएको जिकिर गरे । उनले भने, ‘त्यो समयमा फरक किसिमका चलचित्रले प्रदर्शनमा सहजता पाउथेनन्, गीत, द्वन्द्व र काल्पनिक कथा भएका चलचित्र दर्शकको रोजाइमा पर्थे । दर्शक फेरिएपछि चलचित्रको निर्माण फेरियो । अहिले बन्ने चलचित्रमा बढी यथार्थ खोजिन्छ, त्यो समय काल्पनिक कथा रोजाइमा पथ्र्याे ।’
निर्देशक प्रदीप भट्टराईले मौलिक विषयवस्तुले चलचित्रमा स्थान पाएसँगै निर्माण शैलीमा परिवर्तन आएको बताए । उनले भने, ‘पर्दामा हाम्रो मौलिकता र संस्कृतिले स्थान पाएका छन् । हामीसँग भएको कथालाई पर्दामा उतार्न पाएका छौँ । उनले राम्रा भनिने चलचित्रले स्वदेशी बजारको मात्रै भर पर्नुपर्ने अवस्थाको अन्त्य भएको जिकिर गरे । उनले भने, ‘चलचित्र राम्रो बनाउन सके व्यावसायिकरूपमा विदेशमा पनि प्रदर्शन गर्न सकिन्छ ।’ भट्टराईको निर्देशनमा तयार हुने आगामी चलचित्र ‘महाजात्रा’ निर्माणअघि नै विदेशका प्रायः देशमा प्रदर्शन अधिकार बिक्री भइसकेको छ । प्रविधिझैँ निर्माणमा समेत नयाँ शैलीले मान्यता पाएको छ । अहिले चलचित्रका अभिनेता भन्नेबित्तिकै सुकिला वा सयौँ भिलेनलाई पिट्ने मात्र हुँदैनन्, आम मानिसझैँ शक्तिविहीन र पर्दा बाहिर देखिने पात्रले स्थान पाएका छन् । यहीँ कारण चलचित्रलाई विभिन्न धारको भन्ने पनि गरिन्छ । अधिकांश चलचित्रकर्मी भने चलचित्रको एउटै धार ‘दर्शकको मन जित्नु’ रहेको बताउने गर्छन् । यद्यपि कलात्मक र पूर्ण व्यावसायिक भनेर दुई विधामा चलचित्रलाई प्रस्तुत गर्ने गरिएको छ । सामाजिक कथामा आधारित चलचित्रले दर्शकको मन जित्ने भएकाले पछिल्लो समय नेपाली चलचित्रका दर्शक फेरिएसँगै नयाँपन देखापरेको छ ।
प्रतिक्रिया