ठेकेदारको बदमासी, कालोपत्र भएको तीन महिना नबित्दै उप्किन थाल्यो

रौतहट । रौतहटमा कालोपत्र भएको तीन महिना नबित्दै उप्किन थालेको छ । जिल्लाको देवाही गोनाही नगरपालिका अन्तर्गत मलंग चोकदेखि देवाही जाने बाटोमा ह्युम पाइप निर यस्तो भएको हो । सडक डिभिजन चन्द्रनिगाहपुरको बजेटमा धन्सर कटहरिया कर्कच सडकमा कालोपत्रे,नाला र कल्भर्ट निर्माण कार्य काम भएको छ ।

यो सडक विस्तारको ठेक्का साहु कन्सट्रक्सन पतौरा ५ ले लिएको छ । करिब ४ करोड ९८ लाख ५५ हजार ५६८ रुपैयाँमा ठेक्का सम्झौता भइ काम भइरहेको छ । सो काम २०८० भदौ १४ गतेसम्म निर्माण कार्य सम्पन्न गर्नुपर्ने समझौता पत्रमा उल्लेख रहेको छ ।

उक्त कालोपत्र सडक डिभिजनको प्राविधिकको मिलोमतोमा गुणस्तरहिन बनेको कारण उप्किन थालेको सरोकारवालाहरुको भनाइ छ । सडक गुणस्तरहीन बन्दा चाँडै भत्किन थालेको स्थानिय रुपेश पटेलले आरोप लगाएका छन् । कालोपत्र उप्केको र प्वाल भएको कारण सो सडक खण्डमा दुर्घटनाको उच्च जोखिम रहेको छ ।

जुनसुकै बेला दुर्घटना हुन सक्ने सम्भावना बढेको छ । त्यसैले सम्बन्धित निकायले चासो देखाउनुपर्ने स्थानीयले माग गरेका छन् । निर्वाचन क्षेत्र रणनैतिक सडक विकास कार्यक्रमअन्तर्गत सो सडक कालोपत्र भएको हो । सो विकास निर्माणको काममा गुणस्तरीय काम गर्न स्थानीयहरुले बारम्बार आवाज उठाउँदै आएका थिए । तर पनि निर्माण कम्पनीले स्थानीयको कुरालाई वेवास्ता गर्दै धमाधम काम सकाएका थिए ।

स्थानीयहरुले स्टीमेट अनुसार काम नभएको भन्दै विरोधसमेत जनाएका थिए । यता सडक डिभिजनका इन्जिनियर प्रभु साहसँग सोध्दा साहु कन्सट्रक्सनलाई कालोपत्र उप्किेकको ठाउँमा मर्मत गर्न निर्देशन दिइसकेको जानकारी गराए । प्वाल भएको र उखडेको ठाउँमा छिट्टै मर्मत हुने उनको भनाइ छ । भदौ १४ गते काम सम्पन्न गर्नुपने भए पनि अहिलेसम्म काम नसकेको जनाए । काम भने अहिले पनि जारी रहेको उनले बताए ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया