केही दिनअघि बेपत्ता भएकी कालिकोटकी गीताले गरिन् आत्महत्या

कालीकोट । २०७५ साल माघमा जन्मिएको छोरालाई एक्लै छोडेर गीता जैसीले आत्महत्या गरेकी छन् । केही दिनअघि बेपत्ता भएर पछि आफन्तको सम्पर्कमा आएर सोसेक नेपाल संस्थाकाे संरक्षणमा रहँदै आएकी गीताले आइतबार बिहान आत्महत्या गरेकी हुन् ।

आइतबार बिहान संरक्षक कर्मचारी खाना खान गएको बेला शौचालयको ढोकामा गीताले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख अर्जुन केसीले जानकारी दिए । ‘घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ’, उनले भने, ‘संरक्षण गरिरहेको संस्थाको घरमा नै मृत्यु भएको हो ।’

दैलेख भगवतीमाई गाउँपालिका–५ कट्टीका दानबहादुर शाहीसँग विवाह गरेकी गीतालाई लामो समयदेखि शाहीले मानसिक तथा शारीरिक यातना दिँदै आएको आरोप थियो । पतिसँग झगडा परेपछि गीताले कालीकोट जिल्ला अदालतमा अंशमुद्दा दायर गरेकी थिइन् ।

याे पनि : कालिकोटमा आमा छोरा बेपत्ता, माईती पक्ष आन्दोलित

मानसिक यातनाकै कारणले सान्नीत्रिवेणी– १ लुसा माइत भएकी २५ वर्षीया गीताकुमारी जैसी शाही र उनका पाँच वर्षीय छोरा टेकेन्द्रसहित केही दिनअघि उनी बेपत्ता भएकी थिइन् । बेपत्ता भएको भोलिपल्ट उनी नेपालगञ्जमा भेटिइएकी थिइन् ।

गीताका श्रीमान् कालीकोटको मान्म बजारमा व्यवसाय गर्दै आएका छन् । शाही एमाले मान्म नगर कमिटी हुँदै जिल्ला कमिटी सदस्य थिए । केही समय अघिसम्म कार्यालय सचिवको काम पनि गर्थे । मान्म बजारमा बस्दै आएकी गीता हिंसा पीडित महिला हुन् ।

याे पनि : मानसिक तनावका कारण आफैँ बेपत्ता भएकी थिइन् कालिकोटकी गिता जैसी

गीतालाई शाहीले ५ वर्षअघि कान्छी श्रीमतीको रुपमा विवाह गरेर छोरा जन्माएपछि कुटपिट गर्दै हिंसा गर्न थालेपछि अलग बस्दै आएकी थिइन् । शाहीले गीता र उनका छोरा मारिदिने र गत वर्ष लुसा भीरमा लडेर मरेका उनका बुवाको पनि आफैँले मान्छे लगाएर भीरबाट धकेल्न लगाई हत्या गरेको फेसबुक म्यासेञ्जरमा भनेपछि दानबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

शाहीले पाँच वर्षअघि गीतालाई ढाँटेर विवाह गरेका थिए । जेठी श्रीमतीलाई क्यान्सर लागेको भनेर शाहीले आफूसँग ढाँटेर विवाह गरेको पाँच वर्ष अघिदेखि नै बताउने गरेकी थिइन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया