प्रकाश र सुनिताको दशैं गीत

काठमाडौं । दशैंको छेको पारेर गायक प्रकाश पुरीले ‘गरिबको दशैं’ बजारमा ल्याएका छन् । दशैं लक्षित नयाँ लोक दोहोरी गीतमा गायक पुरीलाई स्वरमा गायिका सुनिता दुलालले साथ दिएकी छन् । गीतको भिडियो शुभसाइत म्युजिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा प्रकाशकै शब्द, रेशम थापाको थेगो तथा संगीत रहेको छ । गीतमा आके मिलनले संगीत संयोजन, खड्ग बाजुरालीको मिक्सिङ र मास्टरिङ रहेको छ ।

यो गीतमा गरिबको दशैं कस्तो हुन्छ भन्ने व्यथा व्यक्त गरिएको छ । दशैं गरिबका लागि दशा बन्ने गरेकोले सो पीडालाई गीतमा उतारेको गायक पुरीले बताए । यो दशैं गीतको भिडियो निरेन श्रेष्ठले निर्देशन गरेका हुन् । आर्थिक अभावका कारण दशैंमा एक दम्पत्तिले भोग्नुपरेको पीडालाई निरेनले भिडियोमार्फत प्रस्तुत गरेका छन् ।
विष्णु खड्काले सम्पादन गरेको गीतको भिडियोमा राम केसीको छायांकन, कविता खड्काको शृंगार रहेको छ । भिडियोलाई रोयल मुभिज प्रालिले उत्पादन गरेको हो । सार्वजनिक गीतको भिडियोमा जुना गुरुङ, राजन पुरी, रमेश श्रेष्ठ, राज गिरी, अनुषा गिरी, शर्मिला श्रेष्ठ बलामी र देवकी गिरी लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया