जानकीमा अष्टिम्की प्रतियोगिता

कैलाली । थारु समुदायमा प्रचलित अष्टिम्की चित्र प्रतियोगितामा रामगुलाम चौधरी प्रथम भएका छन् । उनले १० हजारसहित प्रथम पुरस्कार पाए भने मेनु डगौरा ८ हजारसहित दोस्रो, राजकुमार रावत र अनिल चौधरी ६ हजारसहित तेस्रो, संगीता चौधरी एवं अञ्जु चौधरी र कृष्ण चौधरीले ४ हजारसहित सान्त्वना पुरस्कार पाए । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र जानकी गाउँपालिकाको संयुक्त आयोजनामा भएको ‘थारु लोकचित्रकला तथा मूर्तिकला प्रशिक्षण कार्यशाला’ तथा प्रतियोगितामा उनीहरुले पुरस्कार पाउन सफल भएका हुन् । प्रतियोगितात्मक रुपमा गरिएको उक्त कार्यशालामा जानकी गाउँपालिकाका ९ वटै वडाका ३० जनाभन्दा बढी कलाकारको सहभागिता रहेको थियो । प्रतियोगितात्मक कार्यक्रममा सहभागीले आ–आफ्ना घरमा अष्टिम्की चित्र बनाएका थिए ।

थारुले मनाउने कृष्णाष्टमी पर्वमा बनाउने अष्टिम्की चित्रमा कृष्ण, गोपिनी, पाण्डव, रावण लगायतका विषयलाई चित्रण गरिएको हुन्छ । समापन समारोहमा गाउँपालिका उपाध्यक्ष लालमती कठरियाले थारुको मौलिक संस्कृति जोगाउन कार्यशाला प्रशिक्षण निकै सफल भएको बताइन् । उनले स्थानीयमा लुकेर रहेको प्रतिभालाई उजागर गर्न कार्यक्रमले निकै मद्दत पु¥याएको विचार व्यक्त गरिन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले नेपालको मौलिक संस्कृतिको जर्गेना गर्ने लक्ष्य प्रतिष्ठानले लिएको बताउँदै कार्यशाला तथा प्रशिक्षणले नयाँ उत्साह थपेको बताए । उनले मौलिकता बचाउँदै रोजगारी र अर्थतन्त्रमा कलामार्फत योगदान दिनेुपर्नेमा जोड दिए ।

जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले प्रतिष्ठानसँग मिलेर गरिएको कार्यक्रमले मौलिकता बचाउन र नयाँ पुस्तामा संस्कृतिप्रति सचेतना जगाउन मद्दत मिलेको बताए । उनले थारुको घर चिन्ने मुख्य आधार थारु चित्रकला, मूर्तिकला भएको बताउँदै संस्कृति सकिँदा जीवनपद्धति हराएर जाने विचार व्यक्त गरे । उनले भने, ‘मौलिकताको संरक्षणमा ध्यान दिँदै लोकचित्र तथा मूर्तिको विकासमा हामी ध्यान दिएर काम गर्न खोजिरहेका छौं ।’ अध्यक्ष चौधरीले तिनको थारु संस्कृति संरक्षण पारम्परिक विधि अनुसार गरिने बताए ।

प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले संस्कृति धान्न मात्रै नभइ विश्वबजारमा थारु लोककलालाई पु¥याउने गरी काम गर्नुपर्ने विचार व्यक्त गरे । उनले भने, ‘मौलिकतासहितको आफ्नोपनलाई बचाउन सकिए थारु लोककलालाई विश्वले चिन्ने छ ।’ सो प्रशिक्षण कार्यशालामा वादुलाल डगौरा, सुनप्रसाद चौधरी, रामगुलाम चौधरी, दिलिप चौधरी, अर्जुन चौधरी, सुखलाल चौधरी, शिवनारायण कठरिया, पृथ्वीनारायण महतो, राजेन्द्र परियार, अनिल चौधरी, राजकुमार रावत, अनिता बखरिया, प्रतिमा डगौरा, परदेशी लाल चौधरी, शिशिर थारु, चन्द्रा चौधरी, टिकाराम चौधरी, यज्ञ चौधरी, सन्तराम कठरिया, जुना चौधरी, रामलाल चौधरी, चन्द्रबहादुर चौधरी, मेनु डंगौरा, सरिता कुमारी चौधरी, रञ्जु चौधरी, संगीता चौधरी, अञ्जु थारु, कृष्ण चौधरी, अमृता बिक लगायतका कलाकार सहभागी थिए । लोककला विभाग प्रमुख प्रदिप अधिकारीले लोककलाको महत्वलाई स्थापित गर्न प्रशिक्षण फलदायी भएको बताए । उनले मासिँदै गएको लोकसंस्कृति र परम्परालाई जोगाउन सबैको ध्यान जानुपर्नेमा जोड दिए ।

सहभागीका तर्फबाट चन्द्रबहादुर चौधरीले समय छोटो भएको बताउँदै यस्ता कार्यक्रम निरन्तर गर्नुपर्नेमा जोड दिए । उनले संस्कृति बचाउन र नयाँ पुस्तालाई परम्पराको महत्व बुझाउन प्रशिक्षण निकै फलदायी भएको बताए । यस्तै, सहभागी कलाकार संगीता चौधरीले प्रशिक्षणबाट आफूले निकै गहन विषय सिक्न पाएको बताइन् । उनले छोटो समय भए पनि धेरै कुरा सिक्न पाएको बताउँदै अल्लि लामो समयको प्रशिक्षणको आवश्यकता रहेको धारणा व्यक्त गरिन् । सो प्रशिक्षणका प्रशिक्षक कलाकार मित्थु थारुले प्रशिक्षणको निरन्तरताको आवश्यकता रहेको विचार राखे । उनले थारु लोककलालाई विविध आयाम र शैलीमा प्रस्तुत गर्न सकिने जनाउँदै यसको व्यवसायिकरणमा ध्यान दिनुपर्ने बताए । १८ गतेदेखि चलेको उक्त कार्यक्रम २१ गते समापन भएको थियो ।

प्रतिक्रिया