एसिया कप खेलेको नेपाली क्रिकेट टोली बुधबार स्वदेश फर्किँदै

काठमाडौं । एसिया कप खेलेका नेपाली क्रिकेट टोली बुधबार (भाेलि) स्वदेश फर्किने भएको छ । पहिलो पटक एसिया कप–२०२३ सुरुवातमा पाकिस्तान र दोस्रो चरण भारतसँग खेलेर समूह चरणबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टोली बुधबार नेपाल फर्किने भएको हो ।

नेपाली टोली बुधबार दिउँसो १२ः३५ बजे श्रीलंकन एयलाइन्सबाट नेपाल आउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

एसिया कपमा प्रतियोगिताको समूह ‘ए’ मा नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धाको अवसर पाएको थियो । तर, नेपालले पहिलो खेलमा पाकिस्तानसँग २३८ र दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भएको थियो ।

नेपालले प्रतियोगिताको पहिलो खेल पाकिस्तानको मुल्तानमा र दोस्रो खेल श्रीलंकाको क्यान्डीमा खेलेको थियो । भारतसँगको पराजयसँगै नेपाल एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । श्रीलंकाको पालेकेले क्रिकेट रंगशालामा टस हारेपछि नेपाल ब्याटिङमा उत्रेको थियो ।

नेपालले ४८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै दुई सय ३० रन बनायो । दुई सय ३१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा खेलमा वर्षा बाधक बनेपछि निर्धारित ५० ओभरको खेललाई छोटयाएर २३ ओभरमा झारिएको थियो । भारतले एक सय ४५ रनको नयाँ लक्ष्य प्राप्त गरेको थियो । उक्त लक्ष्य भारतले बिना कुनै विकेट २० दशमलव एक ओभरमा पूरा गर्यो ।

भारतका लागि कप्तान रोहित शर्माले अविजित ७४ रन तथा सुभमन गिलले अविजित ६७ रन बनाए । शर्माले ५९ बल खेल्दै पाँच छक्का र ६ चौका प्रहार गरे । यस्तै गिलले ६२ बल खेल्ने क्रममा एक छक्का र आठ चौका हिर्काए ।

यसअघि नेपालले ४२ दशमलव २ ओभरमा सबैविकेट गुमाउँदै २ सय ३० रनको योगफल बनाएको थियो । नेपालका लागि आसिफ शेखले ५८, सोमपाल कामीले ४८, कुशल भुर्तेलले ३८, दीपेन्द्रसिंह ऐरीले २९ र गुल्सन झाले २३ रन बनाएका थिए ।

बलिङतर्फ भारतका रविन्द्र जडेजा र मोहम्मद सिराजले समान तीन तीन विकेट लिएका थिए भने मोहम्मद सामी, हार्दिक पान्ड्या र शार्दुल ठाकुरले समान एक एक विकेट लिएका थिए ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो । नेपाल अंक विहीन हुँदै समूह चरणबाटै बाहिरिएको छ। समूह ए बाट पाकिस्तान शीर्ष स्थानमा तथा भारत दोस्रो स्थानमा रहँदै सुपर फोरमा पुगेका छन् ।

प्रतिक्रिया