दोषिमाथि कारवाही नभए संघर्षमा उत्रिने पत्रकारहरुको चेतावनी

सिराहा । सिराहाका पत्रकार दिनेश्वरप्रसाद गुप्ता र टुडे खोजका जयनाथ यादवमाथि भएको सांघातिक हमला गर्नेमाथि नेपाल पत्रकार महासंघ प्रादेशिक कार्यसमिति मधेश प्रदेशले कारवाहीको माग गरेको छ । प्रेस विज्ञप्ति जारी गर्दै महासंघ प्रादेशिक कार्यसमिति मधेश प्रदेशले घटनामा संलग्नलाई कानुनी कारवाहीको माग गरेको हो ।

मधेश प्रदेश पत्रकार महासंघका अध्यक्ष राजेश कुमार कर्णले प्रेस विज्ञप्ति जारी गर्दै पत्रकारमाथि आक्रमण गर्ने दोषीहरुमाथि कानूनी कारवाही नभएको खण्डमा पत्रकारहरु संघर्षमा उत्रिने चेतावनी समेत दिएका छ्न् । सिराहाको नवराजपुर गाउँपालिका वडा नं ३ फुलवारिया स्थित सार्वजनिक पोखरीको विवादमा पालिकाको ट्र्याक्टर तोडफोड भइरहेको बेला फोटो खिच्न लाग्दा स्थानीय कमलेश यादवको नेतृत्वमा रहेको समूहले पत्रकारहरु माथि आक्रमण गर्दै उनीहरूको मोबाइल समेत लुटपाट गरेको बताइएको छ ।

घटनामा संलग्न कमलेश यादव प्रहरी हिरासतमा रहेका छन्, भने अन्य आरोपीहरु फरार छन् । मधेश प्रदेशका जिल्लाहरूमा बारम्बार पत्रकारहरुमाथि भइरहेको आक्रमण प्रति स्थानीय प्रशासन र सरकार मौन देखिएको आरोप लाग्ने गरेको छ । दोषीहरुलाई राजनीतिक संरक्षण प्राप्त भइरहेको बताइएको छ । मधेश प्रदेशका जिल्लाहरूमा निरन्तर रूपमा पत्रकारहरुमाथि भइरहेको आक्रमणले प्रेस स्वतन्त्रता कुण्ठित हुने अवस्थाको सिर्जना भएको मधेश प्रदेश पत्रकार महासंघले जनाएको छ ।

प्रतिक्रिया