काठमाडौं । वरिष्ठ लोकगायक नारायण रायमाझीको एक सांगीतिक साँझ सम्पन्न भएको छ । शुक्रबार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजना र नेपाल टेलिकमको मुख्य प्रायोजनमा भएको ‘नारायण रायमाझी सांगीतिक साँझ’ कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा भएको कार्यक्रममा वरिष्ठ गायक रायमाझी आफ्ना विभिन्न गीतहरु प्रस्तुत गरेर गुञ्जिएका हुन् ।
सो समारोहमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापामगरको सभापतित्व रहेको थियो भने संस्कृत तथा पर्यटन मन्त्री सुदन किराती प्रमुख आतिथि रहेका थिए । त्यसैगरी कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्मर बिरही गुरुङ, पूर्वअध्यक्ष प्रजापती पराजुली, पूर्वअध्यक्ष दुर्गा रायमाझी, पूर्वअध्यक्ष पुरुषोत्तम न्यौपाने, पूर्वअध्यक्ष चन्द्र शर्मा, पूर्वअध्यक्ष बद्री पंगेनी, निवर्तमान अध्यक्ष रमेश बिजी, नेपाल टेलिकमकी ब्यापारिक प्रमुख संगीता पहाडी, पूर्वमन्त्री प्रदिप ज्ञवाली, संविधान सभा सदस्य सोमप्रसाद पाण्डे, संविधान सभा सदस्य छिरिङ लामालगायत थुप्रै चर्चित कलाकारहरु, समाजसेवीहरु रसंगीतप्रेमीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख आकर्षक एवं स्रष्टा रायमाझीले मार्मिक कथा व्यथामा आधारित आफ्ना धेरै गीत आमदर्शक माझ प्रस्तुत गरेका थिए । उनले ‘मलाई सम्झी रेलिमै (कार्गील) देखि ‘फुलबुट्टे चोलीमा’, ‘राम्दीपूल तर्ने बित्तिकै’, ‘गेटमा बेली जाई’, ‘कालो केशमा रातो रिबन’, ‘पसिनाले पैसा साटेर’, ‘माया पैँचो नदेउ साइँली’, ‘लाइछौ बेसन’, ‘नमुछे आमा दहीमा टीका’, ‘हाँसेर बोलीदेऊ माया’, ‘सान्नानीले झुक्कायो मलाई’ लगायत धेरै गीतहरु प्रस्तुत गरेका थिए ।
उक्त समारोहमा चर्चित गायक तथा गायिकाहरु शर्मिला गुरुङ, लक्ष्मी न्यौपाने, कुलेन्द्र विश्वकर्मा, राधिका हमाल, राजु गुरुङ, कृष्ण रेउले, टिका पुन, बिक्रम परियार, कुशल बेलबासे, चेतन गोतामे, कमला पोखरेल, दिपिका बयम्बु, प्रकाश दुतराज, रचना रिमाल, बालकलाकार सुप्रिम मल्ल, बालकलाकार पूजा देवकोटा लगायत अन्य कलाकारहरुले वरिष्ठ गायक रायमाझीलाई प्रस्तुतीमा साथ दिएका थिए ।
पाल्पामा जन्मिएका वरिष्ठ गायक रायमाझीको २०४२ सालदेखि निरन्तर लोकगीत र संगीतमा साधना गरेका श्रव्यदृश्य कार्यक्रममा देखाइएको थियो । सो समारोहमा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापामगरले आफ्नो कार्यकालबाट स्रष्टाहरुका सम्मानस्वरुप सो ‘नारायण रायमाझी संगीतिक साँझ २०८०’ को सुरुवात गरेको जानकारी गराउँदै अबदेखि प्रत्यक वर्ष अन्य अग्रज कलाकार तथा स्रष्टाहरुको पनि क्रमशः संगीतिक साँझ गर्दै जाने बताइन् ।
साथै, कार्यक्रमका प्रमुख अतिथि संस्कृत तथा पर्यटन मन्त्री सुदन किरातीले आफू सानैदेखि नारायण रायमाझीको मौलिक गीतहरु सुन्दै आएको जनाउँदै रायमाझीले मौलिक लोक संस्कृतिलाई उचाइमा पुर्याएको बताए । उनले आफ्नो लाहुरे बुवाको केही दिनअघि निधन भएको स्मरण गर्दै बुवाको नामबाट आफ्नो खातामा आएको दुई महिनाको पेन्सन सोही सांगीतिक साँझको सहयोगका लागि प्रदान गर्ने घोषणा गरे ।
कार्यक्रममा हलभित्र दर्शक र अतिथिहरुको चापले नअटाएपछि दर्शकहरुले हलबाहिर डिस्प्लेमा वरिष्ठ गायक रायमाझीका प्रस्तुती नियालेका थिए । वरिष्ठ गायक रायमाझी बुवा सूर्यबहादुर रायमाझी र आमा कृष्णकुमारी रायमाझीको दोस्रो सन्तानका रुपमा २०२० सालमा पाल्पाको झडेवामा जन्मिएका थिए ।
रायमाझीद्वारा निर्देशित चलचित्रहरु ‘गार्खा पल्टन,’ र ‘परदेशी १’ केही वर्षअघि विभिन्न हलहरुमा प्रदर्श भइसकेका छन् भने अब आउने ‘परदेशी २’ आगामी कार्तिक ३ गते प्रदर्शनमा आउने सांगीति साँझ कार्यक्रममा उक्त चलचित्रकै अभिनेता प्रकाश सपुतले जानकारी गराएका थिए ।
प्रतिक्रिया