मिर्गौलाको पत्थरी फुटाउने नौलो प्रविधि प्रयोग गर्दै धुलिखेल अस्पताल

काभ्रे । धुलिखेल अस्पतालले मिर्गाैलाको पत्थरी फुटाउन नौलो प्रविधिको प्रयोग अपनाउने भएको छ । प्रविधिबारे मंगलबार पत्रकार सम्मेलन गर्दै धुलिखेल अस्पतालले छिट्टो र सहज कम लागतमा अप्रेसन नगरी पत्थरी निकाल्ने प्रविधि अपनाइने जानकारी दिएको छ । रेट्रोग्रेड इन्ट्रा रेनल सर्जरीबारे जानकारी दिँदै अस्पतालका प्राडा सुमनराज ताम्राकारले मिर्गौलाको पत्थरी फुटाएर निकाल्ने नौलो प्रविधिको नाम रिर्स रहेको बताउँदै यसप्रविधिमा अप्टिकल फाइबरयुक्त दूरबिन प्रयोग मुत्रनलीमार्फत पठाएर मिर्गौलाका रहेको पत्थरी पत्तालगाई लेजर प्रविधिबाट मिर्गौलामा रहेको पत्थरीलाई फुटाएर बाहिर निकालिने बताए । उक्त प्रविधिमा प्रयोग हुने दूरबिन (इन्डोस्कोप) लचिलो खालको भएकोले मूत्र प्रणाली भित्रका बांगाटिंगा नलीमा छिराउन सजिलो हुन्छ । यो इन्डोस्कोप पिसाब खुल्ने प्वालबाट छिराई मिर्गौलासम्म पुयाउन सकिने भएकोले पेटमा कुनै घाउ बनाइराख्नु पर्दैन । डा. ताम्राकार भन्छन् ।

मिर्गौलाको पत्थरी व्यवस्थापन मिर्गौलामा पत्थरी समस्या हुँदा विभिन्न तरिकाले व्यवस्थापन गरिँदै आएको छ । नेफ्रोलिथोटोमी ः यसमा परम्परागत एवं पुरानो तरिकामा पेटको साइडमा ठूलो घाउ पारेर मिर्गौलाको पत्थरी निकालिन्छ । यस क्रममा मिर्गौला पनि चिनुपर्ने भएकोले यो उच्च जोखिम हुनुका साथै संक्रमण घाउ र पिसाबको हुनसक्ने, अस्पताल बसाई लामो हुने, पीडा पनि निकै हुने हुन्छ । करिब २०–३० वर्ष अघिसम्म यसको खासै विकल्प पनि नभएकोले बाध्य भएर यो अपनाउँदै आएको बताइन्छ ।

यस्तै अर्को पाइलोलिथोटोमी ः यो शल्यक्रियामाथिको जस्तै तर यसमा मिर्गौलाको सट्टा मिर्गौलामा मूत्रनली युरेटर जोडिएको भागमा घाउ पारेर मिर्गौलामा रहेको पत्थरी निकालिन्छ । शल्य चिकित्सकहरूको लागि नेफ्रोलिथोटोमी भन्दा सहज हुने भए पनि माथि उल्लिखित जटिलताहरूका साथै यस्तो खालको शल्यक्रियापछि मूत्रनली साँगुरिने, फेरि फेरि पत्थरी बन्ने, मिर्गौला फुल्ने, बिस्तारै मिर्गौलाले काम गर्न छोड्ने (फेलखाने) जस्ता थप जटिलता उब्जिन सक्ने जोखिम रहेको बताइन्छ ।

यस्तै ल्यापारोस्कोपीमा ठूलो घाउको सट्टा सानो प्वालमार्फत् व्यापारोस्कोप (दूरबिन) छिराई मिर्गौलाको पत्थरी निकालिन्छ । यसमा सक्रमण जोखिम कम, अस्पताल बसाई छोटो भए पनि मूत्रनली साँगुरिने जोखिम कायम नै हुने हुन्छ । यस्तै एक्स्ट्रा कर्पोरियल शकवेभमा शरीर बाहिरबाट उपकरणका माध्यमबाट निरन्तर झट्का पठाई मिर्गौलाको पत्थरी फुटाइन्छ, जुन पिसाब फेरेसँगै बाहिरिन्छ । तर यो प्रविधि सबै खाले पत्थरीलाई काम लाग्दैन भने गर्भवती महिला, उच्च रक्तचाप, रगत पातलो हुने औषधि लिइरहेका बिरामीका लागि उपयुक्त नहुने । नरम खालका एवं १५ मिलिटिरभन्दा साना पत्थरीलाई मात्र उपयुक्त हुन्छ ।

यस उपचारको क्रममा मिर्गौलामा रगतजम्ने, पेटमा निलडाम बस्ने र सबै पत्थरी फुटाउन नसकिने पनि हुनसक्छ । त्यसैले धेरैपटक दोहो¥याउनुपर्ने, फुटाइएको पत्थरीको टुक्रा मूत्रनलीतिर सरेर पीडा हुने, पिसाब रगताम्य हुने, रक्तश्राव हुने, पिसाबको बहावमा अवरोध खडा हुने (त्यसैका लागि फेरि मुबमार्गबाट दूरबिन छिराई पत्थरीको टुक्काहरू भिक्नुपर्ने हुन्छ भने ठूलो खाले पत्थरीको लागिउपयुक्त नहुने बताइन्छ ।

यता अहिले अपनाउन लागेको प्रविधि रेट्रो ग्रेडेट इन्ट्रा रेनल सर्जरीले प्रविधिमा बिरामीलाई पुरै बेहोस बनाई वा शरीरको आधा भाग मात्र बेहोस बनाई पिसाबनलीको प्वालबाट दूरबिन छिराई पिसाब थैली, मुत्रनली हुँदै भित्रभित्रै मिर्गौलासम्म पुगी त्यहाँ रहेको पत्थरीको अवस्थिति पत्ता लगाएर लेजर प्रविधिले निकै ससाना टुक्रा पारिन्छ । त्यसरी टुक्राएका पत्थरीहरू बास्केट (धोको) मास्मा पारी बाहिर ल्याइन्छ । सबै पत्थरी निख्रियो, निख्रिएन भनेर विशेष खालको एक्सरे (फ्लुओरोस्कोप) र दूरबिनबाट चेकजाँच गरिन्छ । प्रक्रिया सकिएपछि मूत्रनलीमा विशेष खालको पाइप (डिजे स्टेन्ट भनिने) २–३ हप्ता राखिन्छ । बिरामीलाई ४–५ घण्टापछि खान दिइन्छ । अर्को दिन अस्पतालबाट डिस्चार्ज गरिने बताएको छ ।

युरोसर्जन डा.सुजन माकजूको भनाइमा यस प्रविधिको फाइदा – घाउ बनाउनु पर्दैन, चाँडै तंग्रिन्छ, पीडा कम, छोटो अस्पताल बसाई, मिर्गौला बिग्रिने वा चोट पुग्ने जोखिम कम, दुवै मिर्गौलामा एकै सेटिङमा गर्न सकिन्छ । उनले यसको हुनसक्ने बेफाइदा बारे पनि जानकारी दिँदै बेफाइदामा महँगो प्रविधि भएको, समय बढी लाग्ने, पिसाब नलीको संक्रमण हुने, दुई सेमीभन्दा ठूलो पत्थरी वा अदुवा जस्तो बांगोटिंगो खालको पत्थरीलाई काम लाग्दैन ।

यो उनको भनाइमा यो प्रविधि पत्थरी दुई सेमीभन्दा सानो, पटकपटक पत्थरी भएसकेकोमा, मूत्रनलीको पत्थरी, गुजुल्टिएको मूत्रनली भएका, पुट्ठाको जोर्नीमा समस्या भएर खुट्टा खुम्च्याउन नसक्ने खालको पत्थरीको बिरामीमा, रगत पातलो हुने औषधि लिइरहेकालाई उपयुक्त हुने बताउँछन् ।

प्रतिक्रिया