पत्थरीको अप्रेशनमा किड्नी निकालेपछि बिरामीको मृत्यु भएकाे आरोप

धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको पत्थरीको अप्रेशनका क्रममा मृत्यु भएको छ । कैलालीको धनगढीस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा पत्थरीको अप्रेशनका क्रममा आइतबार मृत्यु भएको मृतकका आफन्तले बताएका छन् ।

पत्थरीको अप्रेशन गर्दा मृगौलाको नसा काटिएपछि मृगौला दोस्रो पटक अप्रेशन गरेर मृगौला नै झिकिदिँदा चौधरीको मृत्यु भएको आफन्तको आरोप छ । उनको बाँया किड्नीको पत्थरीको अप्रेशन गरिएको थियो । अस्पतालको लापरबाहीका कारण मृत्यु भएको मृतक चौधरीकी छोरी सुष्मा दहितले बताइन् ।

‘दुवै किड्नीमा पत्थरी थियो भदौ ९ गते बिहान बुवालाई अस्पताल ल्याएका थियौँ’, उनले भनिन्अ । ‘स्पतालमा डाक्टरले दुवै मृगौलामा पत्थरी रहेकाले शल्यक्रिया गर्न सुझाव दिएका थिए, कञ्चनपुरको राजघाटबाट अटो नपाउँदा हिँडेरै बुवा अस्पतालसम्म आउनुभएको थियो’, सुष्माले भनिन्, ‘डाक्टरले अप्रेसन गर्न सक्छु भनेर बुवालाई आशा देखाएपछि बुवा अस्पताल भर्ना हुनुभयो र अप्रेशनका लागि तयार हुनुभयो ।’

अस्पतालले बिरामीलाई सोही दिन दिउँसो १ बजे अप्रेशनका लागि अप्रेशन कक्षमा लगेको बताउँदै उनले भनिन्, ‘अप्रेशन दिउँसो नै सकिएको थियो, अप्रेशनमा संलग्न चिकित्सकले अप्रेसन सफल भएको बताएका थिए, हामी खुसी भयौँ, केही समयपछि भेट्न पाउनुहुन्छ भन्नुभयो, अप्रेशन भएको १ घण्टापछि भेट्न जाँदा वुवा बोल्न सक्नुभएन, हातखुट्टा चलाइराख्नुभएको थियो, त्यसको केही समयपछि बुवाले पेट दुख्न थाल्यो,ए क्कासी पेट भारी भएर आयो भन्नुभयो, छटपटाउन थाल्नुभयो ।’

उनले थपिन्, ‘त्यसपछि ५ बजेतिर नर्सहरुले दुखाइको होकी के सुइ लगाइदिनुभयो, बुवा एकछिन शान्त हुनु भो, दुखाइ कम भएर हो कि किन हो ‘६ बजेतिर बुवा एक्कासी बेहोस हुनुभयो, बोल्न पनि सक्नुभएन्, नर्सहरुले त्यो बेलासम्म पनि डक्टरलाई बोलाएनन्, डक्टर अप्रेशन गर्नासाथ बाहिर निस्किहाल्नु भो, दाइले डक्टरलाई फोन गरेर डक्टर ७ बजेतिर आउनुभयो र हेर्नुभयो ।’

‘तपाइको मान्छेको ब्लडिङ भइरहेको छ, हामी आइसियुमै लगेर हेर्छौँ, के भएको रहेछ भनेर भने ७ बजेभित्र गएको डक्टरले रातिको ११–१२ तपाइँको मान्छेको ब्लडिङ कहाँबाट भइरहेको छ हामीलाई थाहा छैन, पत्ता लगाउनलाई किड्नी चिरेर हेनुपर्छ भने’, उनले भनिन्, ‘अनि एक बजे राति अप्रेशन थ्रेटरमा लग्नुभयो, पहिले हामीलाई अप्सन दियो तपाईहरुलाई मान्छेको ज्यान बचाउन चाहानु हुन्छ कि किड्नी चाइएको छ भनेर भने एउटा किड्नीले मान्छे बाच्छ फेरि अप्रेशन गर्नु पर्छ किड्नीलाई चिरेर हेनुपर्छ भन्नुभयो ।’

‘हामीले हुन्छ भन्यौँ’, उनले भनिन्, ‘दोस्रो अप्रेशन गरेर मृगौला झिकेपछि बुवा होसमा नै आउनुभएन, अस्पतालको लापरबाहीले बुवाको मृत्यु भएको हो’ अस्पतालले भेट्न आउने मान्छेलाई आशा छ भने तर हामीहरुलाई मृत्यु भइसक्यो भनेर झुटसमेत बोल्यो ।’

मृतकी छोरी सुष्माका अनुसार पहिलो अप्रेशन गर्नुपूर्व बिरामीको शरीरमा ६ प्वाइन्ट रगत रहेकोमा अप्रेशन पश्चात घटेर दोस्रो शल्यक्रिया गर्न लैजाँदा दुई प्वाइन्ट मात्रै रगत रहेको डाक्टरले बताएका थिए । शनिबार रातभर रेडक्रसको रक्तसञ्चार केन्द्रबाट २३ प्वाइन्ट रगत चढाइएको बताउँदै डाक्टरले शल्यक्रिया सफल भयो भनेर झुठो बोलेर आफ्नो गल्ती ढाकछोप गर्न खोजेको सुष्माको आरोप छ ।

उनले भनिन्, ‘गल्तीको सजाय अस्पताल र डाक्टरले पाउनुपर्ने हुन्छ, मान्छेको ज्यानमाथि गरिएको खेलवाड क्षम्य हुनु हुन्न ।’ अस्पतालमा कार्यरत सर्जन डाक्टर जोनस तिवारीको टोलीले चौधरीको शल्यक्रिया गरेको आफन्तले बताएका छन् । अस्पतालका अध्यक्ष महेश जोशीले बिरामी चौधरी किड्नीको पत्थरीको अप्रेशन गर्न आएको र अप्रेशन समेत भएको बताए ।

अप्रेशन गर्दा प्वाल पारेको ठाँउबाट रगत नरोकिएपछि किड्नी निकालेको उनले स्विकार गरे । ‘एउटा किड्नीले पनि मान्छे बाच्छ भनेको भएर एउटा किड्नी निकालिएको हो,’ उनले भने । अन्तिम अवस्था आइपरेकोले यस्तो घटना हुन पुगेको उनले बताए । अस्पतालको कुनै पनि लापरवाही नभएको उनले दाबी गरे । मृतकका आफन्तले आइतबार नै मृत्यु भएको बताउँदै आएको र अस्पतालले सोमबार बिहान चौधरीको मृत्यु भएको बताएको छ ।

प्रतिक्रिया