रुकुम पश्चिम । घाँस काट्ने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएकी एक महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– १ खेतकी ३५ वर्षर्षीया बास्मती दमाइलाई उद्धार गरिएको हो ।
शनिबार बिहान सबेरै घरबाट घाँस काट्न गएकी दमाई घर नजिकैको भिरबाट लडेर करिब एक सय मिटर तल खसेको स्थानीयले जनाएका छन् । घटनास्थलबाट वडा नम्बर– २ स्थित स्यालाखदी स्वास्थ्य चौकीमा उनको उपचार सम्भव नभएपछि हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ ।
नगरप्रमुख रवि केसीले घाइतेको उद्धार गर्न हेलिकप्टरका लागि प्रसाशनसमक्ष अनुरोध गरेका थिए । घटनास्थलमा सडक अवरुद्ध भएकाले घाइतेको उद्धारमा कठिनाई भएकाले हेलिकप्टर प्रयोग गर्नुपरेको आठबिसकोटका नगरप्रमुख केसीले बताए ।
घटनास्थल एकदमै दुर्गममा भएको र सडक भए पनि वर्षातमा अवरुद्ध भएकोले उद्धार गर्न समस्या भएको थियो । घटनास्थलमा प्रहरी र स्थानीयको सहयोगमा घाइतेको उद्धार गरिएको थियो । गम्भीर घाइते भएकी दमाइको हेलिकप्टरबाट उद्धार गरी थप उपचारको लागि सुर्खेत पठाइएको हो ।
स्यालाखदी स्वास्थ्य चौकीमा कार्यरत चेतना एरीका अनुसार दमाइको अवस्था गम्भीर भएपछि नगरपालिकासँग हेलिकप्टरमार्फत उद्धार गर्न अनुरोध गरिएको छ । नगरपालिकाको सहयोगमा सुर्खेतबाट हेलिकप्टर मगाएर उद्धार गरिएको जनाइएको छ ।
वडा नम्बरर १ का वडाध्यक्ष देवबहादुर घर्तीका अनुसार घाइते दमाईको टाउको फुटेको र खुट्टा दुई ठाउँमा भाँचिएको छ । शनिबार बेलुकातिर स्वास्थ्य चौकी पुगेकी उनलाई प्राथमिक उपचारपछि प्रदेश अस्पताल सुर्खेत पठाइएको वडाध्यक्ष घर्तीले जानकारी दिए ।
प्रतिक्रिया