मौलापुर नपाले ल्यायो आफ्नै पाठ्यपुस्तक

रौतहट । रौतहटको मौलापुर नगरपालिकाले यसै शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गरेको छ । नगरपालिकाले नगरका सबै विद्यालयमा स्थानीय पाठ्यक्रमअन्तर्गत ‘हाम्रो मौलापुर’ पुस्तक पनि समावेश गरेको छ ।

विद्यालय शिक्षामा राष्ट्रिय पाठ्यक्रमले नसमेटेका नैतिक शिक्षासहित स्थानीय विषयवस्तुलाई प्राथमिकतामा राखेर पाठ्यक्रम तयार गरी लागू गरिएको मौलापुरका नगरप्रमुख रीनाकुमारी साहले बताइन् । उनले नगरभरीको प्रत्येक सामुदायिक विद्यालयहरूमा आफैँ गएर हरेक बच्चाबच्चाको हातहातमा पुस्तक पुर्याएको उनको भनाइ छ ।
यो पुस्तकमा मौलापुर नगरपालिका आजभन्दा पाँच वर्ष अगाडि कस्तो थियो ? अहिले कस्तो छ ? यो सबै कुराहरू पुस्तकमा समेटिएको छ । यो पुस्तक बालबालिकाहरूलाई पढ्नका लागि मात्र होइन सम्पूर्ण नगरवासीहरूलाई मौलापुरको बारेमा चासो राख्ने सबैलाई उपयोगी हुने यो पुस्तकमा मौलापुरको बारेमा सम्पूर्ण जानकारी समेटिएको छ ।

मौलापुर नगरपालिकाको शिक्षा, स्वास्थ्य, मौलापुर पुरातात्विक महादेव मन्दिर, नगरपालिका भित्रको प्राकृतिक सम्पदा, स्थानीय पेसा व्यवसाय, आर्थिक अवस्था, संस्कृति तथा रहनसहन लगायतका विषयवस्तु समेटेको नगरप्रमुख साहले बताइन् । मौलापुर नगरपालिकाले ल्याएको स्थानीय पाठ्यपुस्तक ‘हाम्रो मौलापुर’ सार्वजनिक गर्ने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै साहले यो पुस्तक मधेस प्रदेशमै नमुना पुस्तक भएको बताइन् । मेयर साहले भनिन्, ‘मौलापुर पुरातात्विक महादेव मन्दिरलाई उत्खनन् गरी अहिले कहाँसम्म पुर्याएका छौँ । त्यो कुरा पनि समेटिएको छ ।’
‘यो पुस्तक मैले एक्लै होइन यहाँका बुद्धिजीवीहरू, शिक्षक, नगरपालिकाका उपमेयर लगायतको टिम बसेर गम्भीर रूपमा छलफल गरी धेरै कठिनाइले पुस्तक छपाएका छौँ’, मेयर साहले भनिन्, ‘सबै नगरवासीलगायत सबै आमजनसमुदायसँग एकचोटी पुस्तक हेर्न आग्रह गर्दछु ।’ उनले एकचोटी मौलापुरमा आएर पुस्तकमा उल्लेख भएका कुराहरू वास्तविक हो कि होइन ? हेर्न पनि अनुरोध गरिन् ।

त्यसैगरी नगरपालिकाले राष्ट्रिय पाठ्यक्रममा आधारित हुँदै स्थानीय पाठ्यपुस्तक निर्माण गर्ने कार्य गरेको शिक्षा संयोजक राजेन्द्र साहले बताए । हाल कक्षा १ देखि ३ सम्मका लागि प्रकाशन गरिएको यो पुस्तक बिस्तारै कक्षा ८ सम्म पुर्याउने लक्ष्य नगरपालिकाको छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया