तीन कार्याकाल विब्यस अध्यक्ष भएका हमालसहित १३ जना जुवाखालबाट पक्राउ

दैलेख । सुर्खेतको वीरेन्द्रनगरमा जुवातास खेलिएको अवस्थामा जुवाखालबाट १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–३ एरिचोक स्थित एक होटलमा उनीहरुलाई प्रहरीले विहिबार पक्राउ गरेको हो । प्रहरीका अनुसार जुवातास खेलिरहेको अवस्थामा जुवातास खेलीरहेकाबाट नगद दुई लाख २९ हजार ९ सय रुपैयाँ, ५ गड्डी तास र १५ थान मोबाइलसमेत बरामद गरिएको छ ।

यसरी पक्राउ पर्नेमा दैलेखको दुल्लु नगरपालिका–७ को नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कीर्तीखम्बका ब्यवस्थापन समिति अध्यक्ष दिनेश हमाल, सोही पालिकाकै वडा नम्बर १३ मा बस्ने जगत भण्डारी, वडा नम्बर ६ बस्ने थिरबहादुर खड्का, वडा नम्बर ८ बस्ने लक्ष्मण सिंह, वडा नम्बर ८ बस्ने अमृत सिंह, वडा नम्बर ६ बस्ने शेरबहादुर खड्का र सन्तोष थापा रहेका छन् ।

यस्तै, दैलेखकै डुङगेश्वर गाउँपालिका–२ बस्ने नेत्र बिष्ट, भैरबि गाउँपालिका–५ बस्ने रत्नबहादुर थापा, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ बस्ने जनकबहादुर सुनार, वडा नम्बर ३ बस्ने ओम खड्का, वडा नम्बर ६ बस्ने सरोज बराल र वडा नम्बर ४ बस्ने हर्क थापा रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको प्रहरीले जनाएको छ ।

नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत रहेका हमाल विद्यालय ब्यवस्थापन समितिका तीन पटका अध्यक्ष भइसकेका बहालवाला अध्यक्ष हुन् ।

प्रतिक्रिया