काेटदरबार क्षेत्रमा बृक्षराेपण गरिएका बिरुवा गाेडमेल

कालीकाेट । खाँडाचक्र नगरपालिका वडा नं १ स्थित पर्यटकीय क्षेत्र काेटदरबारमा बृक्षाराेपण गरिएका बिरुवाहरु गाेडमेल गरिएका छन् । विश्व वातावरण दिवसकाे अवसरमा र विश्व बृक्षाराेपण दिवसकाे अवसरमा राेपिएका बिरुवाहरु कालीकाेट युथ क्लबले गाेडमेल गरि बिरुवामा मल थप्ने कार्य गरेकाे हाे । कालीकाेट युथ क्लबकाे आयाेजना तथा डिविजन वन कार्यालय कालीकाेटकाे सहजिकरणमा बृक्षाराेपण गरिएका बिरुवा गाेडमेल तथा मरेका बिरुवा हटाएर नयाँ बिरुवा राेप्ने काम थालिएकाे हाे ।

कालीकाेट युथ क्लबका अध्यक्ष प्रकाश शाहीका अनुसार विभिन्न संघ संस्थाले काेटदरबार क्षेत्रमा बिरुवा बृक्षाराेपण गर्ने र संरक्षण नगर्ने जस्ता गतिविधि देखेपछी कालीकाेट युथ क्लबले नयाँ काम थालेकाे बताए । उनले भने पर्यटक आकर्षण गर्नका लागि हरियाली जंगल बनाउनु पर्ने, काेटदरबार क्षेत्रमा बनेका भाैतिक संरचनाकाे सदुपयोग गर्नु पर्ने र सरकारी तथा गैरसरकारी संस्थाहरु संग समन्वय गरेर काेटदरवार क्षेत्रलाई घेरवारसहित ब्यवस्थित गर्नतिर कालीकाेट युथ क्लबका सम्पूर्ण युवाहरु लागिपर्ने बताए ।

डिभिजन वन कार्यालय कालीकाेटका प्रमुख रमेशकुमार गिरीले कालीकाेटकाे पर्यटकीय स्थल काेटदरबार क्षेत्रमा बनेका संरचना अब्यवस्थित भएकाे, बर्षेनी राेपिएका बिरुवाहरुकाे संरक्षण नभएकाे, चरन क्षेत्र भएकाे जस्ता समस्या देखिएकाले यसलाई तत्काल राेकथाम गर्न स्थानीय सरकारसँग समन्वय गर्नु पर्ने बताए ।

काेटदरबार क्षेत्रमा राेपिएका बिरुवाकाे संरक्षण गर्न चाैकिदार समेतकाे ब्यवस्था भएपनि घेरबारकाे अवस्था जिर्ण भएकाले राेकथाम नभएकाे गिरीले बताए । गिरीले डिविजन वन कार्यालयबाट हुने सम्पुर्ण सहयाेग गर्ने प्रतिबद्धता जनाएका छन् । पछिल्लो समय काेटदरबार क्षेत्रमा विभिन्न संघ संस्थाहरुले बजेट पचाउन बृक्षाराेपण कार्यक्रम गरेपनि संरक्षणमा कसैकाे चासाे देखिएकाे छैन ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया