भीमफेदी कारागारले बायो ग्यास उत्पादन गर्ने

काठमाडौं । मकवानपुरको भीमफेदी कारागारमा बायो ग्यास उत्पादन गरिने भएको छ । आगामी असोजको अन्तिम साताबाट कारागारबाट बायो ग्यास उत्पादन प्रक्रिया सुरु गरिने कारागार प्रशासनले जनाएको छ ।

यसका लागि कारागार व्यवस्थापनले बोलपत्र आह्वान गरिसकेको छ । भदौको तेस्रो सातासम्ममा बोलपत्रलाई स्वीकृत गर्ने लक्ष्यसहित काम अघि बढाइएको भीमफेदी कारागारका जेलर तीर्थराज पौडेलले जानकारी दिए ।

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भीमफेदी कारागारबाट निस्कने फोहरको सदुपयोग गर्न चालु आर्थिक वर्ष २०८०/८१ का लागि ३० लाख अनुदान रकम उपलब्ध गराइएको छ ।

बायो ग्यास उत्पादन गर्ने क्रममा विभिन्न उपकरणको खरिद गरी जडान गर्न सो अनुदान रकम खर्च गरिने कारागारका जेलर पौडेलले जानकारी दिए ।

कारागारबाट निस्कने फोहर सिधै भूमिगत पाइपबाट भीमफेदीका विभिन्न खोलामा मिसाउने गरिएको थियो ।

कारागारमा उत्पादन हुने वायु ग्यास कारागारमै खपत गरिनेछ ।

भीमफेदी कारागारमा हाल एक हजार ७० जना कैदीबन्दी छन् । तीमध्ये ३१ जना महिला छन् । रासस

प्रतिक्रिया