झिमरुकले दियो घर आँगनमै पुगेर अपांगता परिचयपत्र, स्थानीय हौसिए

प्युठान । जिल्लाको झिमरुक गाउँपालिकाले घर आँगनमै पुगेर अपांगता परिचयपत्र वितरण गर्ने कार्यको थालनी गरेको छ । शारीरिक मानसिकरुपमा अपांग भएका व्क्तिहरुलाई वडा कार्यालयमा आउजाउमा समस्या हुने भन्दै गाउँघरमै पुगेर अपांगता परिचयपत्र वितरण गर्न लागिएको हो ।

झिमरुक गाउँपालिका– ३, ढाकेडीकी लक्ष्मी महतरा उमेरले ५९ पुगिन् । सामान्य परिवारकी लक्ष्मी २ वर्ष पहिलेदेखि एक्कासी बिरामी परिन् । उनका हातखुट्टा नचल्ने भए, बोली बन्द भयो । घरको मुलि अभिभावक बिरामी परेपछि उनको उपचारमा धेरै खर्च गरे पनि रोग निको नभएको कान्छी बुहारी दोवन्ता महतराले गुनासो गरिन् ।

उपचारमा करिब ५ लाख खर्च भयो । उनले भनिन्, ‘अस्पतालमा लैजाँदा डाक्टरले निको हुन्छ भन्छन्, तर धेरै पटक काठमाडौं, बुटवल र बिजुवार अस्पताल लगियो उहाँको बिमार बिसको उन्नाइस भएन ।’ एक जनाको सहाराविना हिँडडुल र बोल्नसमेत नसक्ने भएकाले समस्या भएको बुहारी दोवन्ताले बताइन् ।

त्यस्तै, झिमरुक गाउँपालिका– ३ दारिमचौर बस्ने करिस्मा केसीको कान्छो छोरा रियन केसी जन्मदै अपांग भएर जन्मिए । रियन अहिले उमेरले ४ वर्ष पुगे । उनी बोल्न हिँडडुल र बस्न नसक्ने जन्मदै अपांग भएर जन्मेको रियनको एक जना हेरालो अनिवार्य भएको उनकी आमा करिष्मा केसीले बताइन् ।

एक्लै छोडेर हिँड्न मिल्दैन । उनले भनिन्, ‘धेरै समय छोराकै सुसारमा समय गुज्रिएको छ, छोराको उपचारमा करिब ३ लाख खर्च भयो, उपचारले पनि निको भएन, बाबुको बिमार निको नहुँदा दुःखी छौँ ।’

आफ्नै घरमा अपांग परिचयपत्र पाउँदा निकै खुशी हुँदै भनिन, ‘अहिले घरमै यसरी परिचयपत्र पाउने भन्ने सोचेको थिइन, आज पाउँदा खुशी छु ।’ उनले जिल्लामा गएर मात्र परिचयपत्र बनाउन पाइन्छ भनेको सुनेको तर आज आफ्नो छोराको परिचयपत्र आँगनमै जनप्रतिनिधि र कर्मचारी आएर दिँदा अशक्तको सरकार बल्ल गाउँमै आएको अनुभूती भएको करिष्माले बताइन् ।

झिमरुक– ३ का रियन केसी र लक्ष्मी महतरा दुवै जना मानसिक र शारिरिक दुवै खालको अपांग भएकोले उनलाई (क) वर्गको परिचयपत्र प्रदान गरिएको गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले बताए । पछिल्लो समय अभियानकै रुपमा अपांगको घर आँगनमै पुगेर अपांग परिचयपत्र वितरण गर्दै आएको उपाध्यक्ष पोख्रेलले जानकारी दिए ।

अशक्त अपांग भएका व्यक्तिहरुलाई गाउँदेखि पालिकासम्म आउन धेरै खर्च हुने र उनीहरूलाई आउजाउ गर्न समस्या हुने भन्दै यस्तो अभियान सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पोख्रेलले बताए ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया