काभ्रे । काभ्रे जिल्लाको बनेपा नगरपालिका– ८ विद्युत प्राधिकरण चोकमा रहेको पोखरीमा एक पुरुषको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय बनेपाका डीएसपी रेशम बोहोराले सोमबार बिहान ९ बजेतिर प्राधिकरण चोक नजिकै रहेको तलापुखुफु पोखरीमा डुबेको अवस्थामा पुरुषको शव फेला परेको जानकारी दिए ।
डीएसपी बोहोराले पोखरीमा डुबेको रोशी गाउँपालिका–५ सिसाखानीको ३४ वर्षीय धर्मसिंह तामाङ नामको नागरिकता फेला परेको बताए । मृतकको साथमा भेटिएको नागरिकता सोही व्यक्तिकै हो या होइन भन्नेबारे यकिन हुन नसकेको र अनुसन्धान भइरहेको उनले बताए ।
‘हामीले मृतकको पहिचान गर्नको लागि रोशी–५ का वडाध्यक्ष निरध्वज लामालाई खबर गरी नागरिकतामा नाम उल्लेख गरिएको आफन्तलाई बनेपा बोलाएको छौँ,’ डीएसपी बोहोराले भने, ‘अब आफन्त आइपुगेपछि नागरिकतामा उल्लेख भएको नामको व्यक्ति नै मृतक हो वा होइन यकिन हुन्छ ।’
सोमबार बिहान स्थानीयले पोखरीमा मान्छे डुबेको जस्तो देखिएपछि प्रहरीलाई गरेका थिए । मृत व्यक्ति पोखरीमा घोप्टो अवस्थामा फेला परेको थियो । यस विषयमा बनेपा प्रहरीले थप अनुसन्धान सुरु गरिएको बताइएको छ ।
प्रतिक्रिया