भेरी नदीमा पानीको बहाव उच्च, किनाराका वस्ती जोखिममा

रुकुम पश्चिम । लगातार दुई दिनदेखि पानी परिरहेको र भेरी नदीमा पानीको बहाव बढेपछि भेरी नदी किनारका वस्तीमा त्रास फैलिएको छ । नदी किनाराका वस्तीमा भेरी नदीको पानीको बहाव बढेसँगै त्रास फैलिएको हो । पानी पर्ने क्रम नरोकिएकाले भेरी नदीमा पानीको बहाव अझै बढ्दै जाने अनुमान गरिएको छ ।

भेरी नदीमा पानीको बहाव आइतबार बिहान तीन मिटर ९ सेन्टिमिटर रहेकामा बेलुका केही बढेर तीन मिटर ९० सेन्टिमिटर पुगेको जिल्ला आपतकालीन सञ्चालन केन्द्रले जनाएको छ । नदीमा पानीको बहाव ४ मिटर कटेपछि खतराको चेतावनी दिईन्छ ।

तर, फेरि पानी पर्न सुुरु भएका कारण पानीको बहाव अझै बढेर जाने खतरा रहेको छ । लगातारको वर्षाले जनजीवन प्रभावित बने पनि अहिलेसम्म मानवीय क्षति वा ठूलो पहिरो र बाढीको घटना नभएको प्रहरीले जनाएको छ ।

लगातार पानी पर्ने क्रम जारी रहेका कारण भेरीमा बाढी आउने आंशका गरिएको छ । पानीको बहाव बढ्दै गएपछि किनाराका वस्तीहरुलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सचेत गराएको छ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका नगरप्रमुख रवि केसीले सोमबार बिहान भेरी नदीको अवलोकन गर्दै नदीमा पानीको बहाव बढेकाले काठ निकाल्न, वा माछा मार्न नदी किनारा नजान स्थानीयलाई सचेत गराएका छन् । प्रमुख केसीले नदीले खतराको संकेत पार गर्न सक्ने सम्भावना बढेको भन्दै किनाराका बस्तीहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

भेरी नदीको किनारामा पर्ने डोल्पाको सिमानादेखि, रुकुमपश्चिमको गोतामकोटको त्रीवेणी, ज्यामिरे, मन्काबगर, दामाचौर, आठबिसकोटको राडी, चौर, छेपारे र जाजरकोटको नलगाड, भेरी नगरपालिकाका क्षेत्र र सुर्खेत जिल्लाका भेरी केहि स्थानहरु रहेका छन् ।

डोल्पाको सिमानादेखि रुकुपश्चिमको सिमाना रिम्ना र सुर्खेतको जामुसम्मका तटिय क्षेत्रमा बसोबार गर्दै आएका स्थानीय भेरी नदीको बाढीको उच्च जोखिममा रहेका छन । लगातारको वर्षाका कारण रुकुम पश्चिमका साना, ठुला खोलामा पानीको बहाव बढ्दै गएको छ भने अधिकांश ठाउँमा पहिरो जाने क्रम बढिरहेको छ ।

प्रतिक्रिया