डब्लुडब्लुआइसीयसको डरलाग्दो ठगी धन्दा !

युएईमा नेपालीलाई युरोप पठाउने बहानामा

दोहा । संयुक्त अरब इमिरेट्स(युएई)मा रहेको डब्लुडब्लुआइसी विश्वको सबैभन्दा ठूलो इमिग्रेशन नामक कन्सल्टेन्सीले दुबई सयौ सोझासिधा नेपाली युवाहरुलाई ठगी गरेको खुलासा भएको छ । उक्त कन्सल्टेन्सीले युरोपका विभिन्न देश पठाउने भन्दै नेपालीहरुबाट मोटो रकम असुल्ने र विभिन्न बहानामा भिषा नलागेको भन्दै लिएको पैसा फिर्ता नगर्ने गरेको पीडितहरुले बताएका छन् ।

दुबईको विभिन्न सहरहरुमा शाखा कार्यालय रहेको डब्लुडब्लुआइसीयस कन्सल्टेन्सीले नेपालीहरुलाई विभिन्न प्रलोभनमा पारी पोल्याण्ड, पोर्चुगल, अस्ट्रेलिया, माल्टा लगायतका देशहरूमा पठाउने भन्दै पैसा असुल्ने र पैसा लिएपछि ६–७ महिना भित्र सबै प्रक्रिया पुरा हुन्छ र भिषा आउँछ भनेर पहिला नै ३ हजार दिराम लिने गरेको पीडित मध्येका एक नेपालीले बताए ।

पीडित ती नेपालीका अनुसार उनले ६ मे २०२२ मा पोल्याण्डको लागि भन्दै उक्त कन्सल्टेन्सीलाई दुई पटक गरी ३ हजार ९ सय दिराम दिएको ती नेपालीले सौर्य दैनिकलाई बताए ।

पैसा बुझाएको करिव ७–८ महिनासम्म पनि पोल्याण्डको भिषा नलागेपछि कन्सल्टेन्सीमा गएर पैसा फिर्ता माग्दा ‘हुन्छ, हुन्छ अहिले पैसा छैन हामी चांडै फिर्ता गर्छौ’ भन्ने अश्वासशन दिएको पीडितले बताए । एक बर्ष बितिसक्दा पनि पैसा फिर्ता नगरेको उनको भनाई छ । पटक–पटक पैसा फिर्ता माग्न जाँदा जहिल्यैै हुन्छ मात्र भन्ने गरेको र कही नलागेपछि आफूले दुबई प्रहरीमा उजुरी दिएको पीडितले बताए ।

’अन्य साथीहरू युएईको विभिन्न राज्यहरुमा हुनुहुन्छ, डब्लुडब्लुआइसीएस कन्सल्टेन्सीबाट ठगिएका सयौ नेपालीहरू हुनुहुन्छ नाम उल्लेख नगर्ने शर्तमा अर्का पीडित नेपालीले भने; ‘अहिले ठगिएको भनेर हाम्रो सम्पर्कमा आएका १६ जना नेपाली छौ, हामीबाट मात्रै करिव ७० हजार दिराम ठगी गरेको छ डब्लुडब्लुआइसीएसले ।’

पीडितहरूले युरोपका विभिन्न देश जाने भन्दै उक्त कन्सल्टेन्सीलाई ४ हजारदेखि १० हजार दिरामसम्म पैसा बुझाएको बताएका छन् । पैसा बुझाएको लामो समयसम्म पनि भिषा नलाग्ने गरेको पैसा फिर्ता माग्न जाँदा हरेक पटक अहिलेसम्म उक्त कन्सल्टेन्सीले त्यहाँ कार्यरत कर्मचारीलाई अन्य शाखामा पठाउने गरेको कारण कर्मचारी पहिचान गर्नै समस्या भएको पीडितहरुको भनाइ छ ।

कन्सल्टेन्सीको पैसा फिर्ता माग्न जानेहरूलाई रिफण्ड पेपर दिने र त्यस पेपरमा साइन गराउने, फेरि तीन– चार हप्ता जति पर्खनु पर्ने भनेर इमेल गर्ने तथा त्यसपछि फेरि इमेल गर्ने र दुई सय चालिस दिन पर्खि भन्दै इमेल गरेर झुक्याउने गरेको उनीहरुले बताएका छन् ।

उनीहरुले कन्सल्टेन्सीलाई हाम्रो भिसा प्रोसेस कहाँ कसरी एप्लाई गरेको हामीलाई देखाऊ भन्दा पनि सुनुवाई नगरेको बताएका छन् । त्यस कन्सल्टेन्सीबाट जति जनाले भिसा एप्लाई गरे अहिलेसम्म कसैको पनि भिसा नलागेको उनीहरुको भनाइ छ ।

उक्त कन्सल्टेन्सी भारतीयको भए पनि त्यहाँ काम गर्ने नेपालीका लागि एजेन्ट तथा कर्मचारीहरू नेपाली नै रहेको र सोझासिधा नेपालीहरुलाई युरोपमा राम्रो कमाई हुने भन्दै ठगी गर्ने गरेको पीडितहरुले बताए ।

अहिलेसम्म त्यो कन्सल्टेन्सी एक जनालाई पनि युरोप नपठाएको उनीहरुले दाबी गरेका छन् । हरेक देशका नागरिकलाई ठग्न त्यही देशका कर्मचारी तथा एजेन्ट राख्ने गरेको उनीहरुले बताएका छन् ।
आफू त एक प्रतिनिधि पात्र मात्र रहेको बताउदै उनीहरूले उक्त कन्सल्टेन्सीले नेपाली सहित फिलिपिनी, बंगलादेश, श्रीलंका, भारतलगायतका मुलुकका हजारौ नगरिकहरुबाट युरोप पठाउने भन्दै मोटो रकम लिएर फिर्ता नगर्ने गरेको बताए ।

आफूहरुले ४५–५० डिग्रीको तातो घाममा काम गरेको पैसा फसेको भन्दै फिर्ता गराउन त्यहाँस्थित प्रहरी तथा विभिन्न नेपाली संघ सस्थाहरुलाई गुहारेको भए पनि कतैबाट सहयोग नपाएको दुखेसो पोखेका छन् ।

ठगी बारे बुझ्न डब्लुडब्लुआइसीयस कन्सल्टेन्सीको कुनै एक शाखाका कर्मचारी आफूलाई एक्जुकेटिभ बताउने सुशान आचार्यलाई सम्पर्क गर्दै आफूहरुले कन्सल्टेन्सी तीस बर्ष पुरानो रहेको र अहिलेसम्म कसैलाई पनि नठगेको बताए । अहिलेसम्म यो कन्सल्टेन्सीबाट कति युरोप गइसके ? भन्ने प्रश्नमा हजारौं गइसकेको जबाफ दिए ।
यता,नेपाल सरकार,श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युरोपियन श्रम गन्तव्य मुलुकमा जान असम्बन्धित व्यक्ति वा संस्थाको अनुचित प्रभावमा नपर्न सुझाव दिएको छ ।

मन्त्रालयले गत हप्ता मात्र विज्ञप्तीमार्फत आकर्षक सेवा, सुविधाको प्रलोभन देखाई माल्टा, रोमानिया, पोल्याण्ड, पोर्चुगललगायतका युरोपियन श्रम गन्तव्य मुलुकमा रोजगारी दिने बहानामा लाखौँ रुपैयाँ ठगी गरेको सम्बन्धमा सुक्ष्म अनुसन्धान गरिरहेको जानकारी दिँदै असम्बन्धित व्यक्ति वा संस्थाको अनुचित प्रभावमा नपर्न सुझाव दिएको हो ।

‘असम्बन्धित व्यक्ति वा संस्थाको अनुचित प्रभावमा नपर्न मन्त्रालयको अनुरोध छ’, विज्ञप्तीमा उल्लेख छ, ‘दर्ता भएका इजाजत प्राप्त संस्थामार्फत वा उच्च दक्ष कामदारले व्यक्तिगतरुपमा वैदेशिक रोजगारीमा जाँदा अन्य कोही अनाधिकृत व्यक्ति वा संस्था एवं सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशन तथा प्रसारण गरेको सूचनाको आधारमा नभई कामदार स्वयंले वैदेशिक रोजगार विभाग वा सम्बन्धित सङ्घ तथा रोजगारदातासँग सिधा सम्पर्क र समन्वय गरेर मात्र वैदेशिक रोजगारीमा जानुहुन अनुरोध छ ।’

जारी विज्ञप्तीमा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा ‘वैदेशिक रोजगारीमा ठगी’ विषयमा प्रकाशित तथा प्रशारित समाचारप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । मन्त्रालयले अनधिकृतरुपमा वैदेशिक रोजगारीको आवरणमा हुने सबै प्रकारका ठगीलाई निरुत्साहित गर्न सहयोग तथा सहकार्यका लागि अनुरोध गरेका छन् ।

वैदेशिक रोजगारीमा जानका लागि नेपाल सरकारले खुला गरेको मुलुकमा तीन प्रकारको कानूनी प्रकृयाबाट श्रम स्वीकृति प्रदान गरिन्छ । नेपाल सरकार र सम्बन्धित देशको सरकारबीच श्रम सम्झौता गरी, वैदेशिक रोजगार विभागमा दर्ता भई अद्यावधिक भएका वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न अनुमती प्राप्त इजाजतप्राप्त संस्था र तेस्रो व्यक्तिगतरुपमा श्रम स्वीकृति प्रदान गरिने प्रावधान रहेको छ । पीडितहरूको आग्रहमा उनीहरुको नाम उल्लेख नगरिएको हो ।

प्रतिक्रिया