रौतहट । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको मिलेमतोमा रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल सार्ने षड्यन्त्र भएको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोकप्रसाद यादवले आरोप लगाएका छन् । पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उद्योग मन्त्रीले आफ्नो जिल्लामा अर्को चिनी मिल स्थापना गराई वाहवाही कमाउनका लागि चिनी मिल उठाउन लगाउने षड्यन्त्रमा लाग्नुभएको उनको आरोप छ । भोट बैंक बनाउने मनसायले यस्तो गर्न लागेको उनले बताए । विशाल ग्रुपको स्वामित्वमा रहेको श्रीराम सुगर मिलले ऋण नतिरेपछि नेपाल बैंक लिमिटेडले उद्योग लिलामी प्रक्रिया अघि बढाएको थियो । शिवशक्ति ग्रुपले सो लिलामी साकार गरेको हो । मिल सञ्चालकले अनधिकृत रूपले मिल कवाड भनी टेन्डर प्रक्रिया बढाएको लाई खारेज गरी मिल पुनः सञ्चालन गर्न उनीहरूको माग छ ।
संघका अध्यक्ष यादवका अनुुसार मन्त्री रिजाल विशाल ग्रुपसँग मिलेमतो गरी चिनी मिल गरुडाबाट हटाउने षड्यन्त्रमा लागेको आरोप छ । मिल सञ्चालकले बदनियतपूर्ण तरिकाले मिल हटाएर जमिन बिक्री गर्ने सोचमा रहेको उनको भनाइ छ । २०४९ साउन १३ गते तत्कालीन गोल्छा अर्गनाइजेसनले स्थापना गरेको श्रीराम सुगर मिल्स २०७७ साउन १२ देखि पूर्णरूपमा बन्द छ । उद्योग जिल्लाको गरुडा नगरपालिका–६ महम्मदपुरमा रहेको छ । उद्योगको नाममा ८० बिघा जग्गा रहेको छ ।
निर्णायक आन्दोलन गर्ने तयारी
मिल पुनः सञ्चालन गराउने विषयमा सर्वदलीय बैठकबाट कानुनी बाटोमा जाने निर्णय भएको अध्यक्ष यादवले बताए । यसबाट पनि सुनवाइ नभए कडा आन्दोलनका साथ अगाडि बढने चेतावनी दिए । उखु उत्पादक संघ रौतहटको नेतृत्वमा गठित श्रीराम सुगर मिल्स बचाउ संघर्ष समितिले लीलामी रद्द गर्नुपर्ने र मिल्स पुनः सञ्चालन गर्नुपर्ने माग राख्दै निर्णायक आन्दोलन गर्ने भएको छ । मिल पुनः सञ्चालन गर्न गराउनका लागि साउन २२ गते ज्ञापनपत्र बुझाउने, साउन २७ गते आमभेला गर्ने भएको छ । त्यसपछि पनि सुनवाइ नभए थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
स्थानीयद्वारा लखेटिए शिवशक्ति ग्रुपका व्यक्ति
श्रीराम सुगर मिलको लिलामी सकार गरेका शिवशक्ति ग्रुप शुक्रबार मिल अनुगमन गर्न आउँदा उखु उत्पादक संघका सहित स्थानीयहरूले शिवशक्ति ग्रुपका पदाधिकारीलाई लखेटेका छन् । साथै स्थानीयले शिवशक्ति ग्रुपलाई मिल परिसरभित्र प्रवेशसमेत गर्न दिएका थिएनन् । मिल उठाउने प्रयास गरे आफूहरूले प्रतिकार गर्ने उनीहरूले चेतावनीसमेत दिएका छन् ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया