दैलेख पूर्णखोप घोषणा

दैलेख । दैलेख जिल्लालाई पूर्णखोप जिल्ला घोषणा गरिएको छ । सोमबार जिल्लामा एक कार्यक्रमका बीच पूर्णखोप जिल्ला घोषणा गरिएको हो । कर्णाली प्रदेशलाई आगामी भदौमा पूर्ण खोपयुक्त प्रदेश घोषणा गर्ने कार्यक्रमअनुसार दैलेखलाई असारमै पूर्ण खोप घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले जानकारी दिएको छ ।

प्रतिनिधिसभाका पूर्वसांसद रद्रिन्द्रराज शर्माले औषधिमा विश्वास नगर्ने राउटे समुदायका बालबालिकालाई पनि खोपमा समेट्नुपर्ने बताएका छन् । जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले पूर्णखोप कार्यक्रमलाई प्रभावकारी बनाउन ग्रामीण खोप कार्यकर्ताहरूमा महिलाहरू परिचालन गर्नसके उपयुक्त हुन् सुझाव दिए । खोपबाट कोही बालबालिका नछुट्ने गरी अनुगमन पद्धतिलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् ।

स्वास्थ्य सेवा कार्यालयका खोप अधिकृत थीरप्रसाद रेग्मीले दैलेखका ११ पालिकाका ९० वडाका ५६ स्वास्थ्य चौकी र २९ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र २ सय ६३ खोप केन्द्रबाट गएको जेठसम्म ३६ हजार ५ सय ९१ जना बालबालिकालाई खोप दिइएको जानकारी दिए ।

रेग्मीले जन्मेदेखि १५ वर्ष उमेर समूहका खोप लगाउनुपर्ने उमूर समूहका पूर्णखोपमा २१ जना र आंशिकतर्फ ३ सय ७७ नना बालबालिका छुटेकामा खोजपड्तालबाट पत्ता लगाई खोप दिइएको बताएका हुन् । जेठ महिनाको दोश्रो सातादेखि असार पहिलो साता अवधिमा दैलेखका सबै पालिकामा पूर्णखोप निश्चितता घोाषणा गरिएको समेत उनले जानकारी दिए ।

नेपालमा २०३४ सालमा बिफर उन्मूलन खोपको महत्व र स्वास्थ्य सुरक्षाको आवश्यकता शिक्षासँग अभियानको रूपमा खोप कार्यक्रम सञ्चालन हुँदै आएका छन् । क्षयरोग, भ्यागुते, लहरेखोजी, धनुष्टंकार, हेपाटाइटिस, झाडापखालालगायत १३ प्रकारका प्राणघातक रोगबाट बच्न खोप दिइन्छ ।

बालबालिका र गर्भवती महिला समेतलाई दिइने खोपले वयस्क भएपछि स्वस्थ रहने गरेको विभिन्न परीक्षणबाट पुष्टि भएकोले सरकारले जनस्वास्थ्य सुरक्षा रणनीतिअन्तर्गत पहिलो प्राथकिताका साथ खोप कार्यक्रमहरू सञ्चालन गरिएको दैलेख अस्पताल प्रमुख डा. धर्मराज रेग्मीले चर्चा गरे ।

दैलेखमा २०७१ वैशाख १४ गते साविक लाँकुरी गाविसबाट थालिएको पूर्णखोप अभियानको क्रममा २०७४ असार ४ गते दैलेख जिल्लालाई कर्णाली प्रदेशकै पहिलो जिल्लाको रूपमा पूर्णखोप युक्त जिल्ला घोषणा गरिएको थियो ।

पूर्णखोप युक्त जिल्ला घोषणापछि पनि यसको दिगोपन, सुनिश्चितता र निरन्तरताको अवस्थाबारे जिल्ला खोप समन्वय समितिले हरेक वर्ष आर्थिक वर्षको अन्तमा समीक्षा गर्दै आएको छ । बालबालिकाले पाउनपर्ने खोप पाए नपाएको अवस्था र पूर्णखोप सुनिश्चितता प्रभाकारिताका निम्ति समीक्षा गरिन्छ ।

कोरोना महामारीका कारण अघिल्ला तीन वर्षमा पूर्णखोप कार्यक्रम दैलेखमा ९६ प्रतिशत रहेको तर अहिले सुधार भएको बताइएको छ । दैलेखमा बालबालिका समेत लिई भारतमा मजदुरी गर्न जाने कारणले पूर्णखोपलाई सतप्रतिशत पुर्याउन चुनौती रहेको कार्यक्रममा जानकारी दिइएको थियो ।

पूर्णखोप अन्तरक्रिया कार्यक्रममा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी, राजनीतिक दल पत्रकार लगायतको उपस्थिति रहेको थियो उक्त सभाबाट दुई बुँदे साझा प्रतिबद्धतामा समेत हस्ताक्षर गरिएको छ ।

प्रतिक्रिया