आरजु राणाको झुठो दावी

नक्कली भुटानी शरणार्थी प्रकरणका सन्दर्भमा नेपाली कांग्रेसका सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणाले गरेको दावी झुठो ठहर भएको छ । प्रकरण छानविनका क्रममा सन्देश शर्मा नाम गरेका एक जना अभियुक्तको अडियो रेकर्ड सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । उक्त आवाजमा सन्देश शर्माले भनेका छन्, ‘मलाई केही डर छैन, आरजु देउबालाई साढे दुई करोड, ६ करोड बालकृष्ण मञ्जु दिदीले घरमा बुझ्या हो, मलाई कस्तो भयो होला दाई त्यो कुरा छोडदिनु न ।’ तर यो अडियो आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले नक्कली रूपमा तयार गरिएको भन्दै देउवा पत्नी राणाले गत वैशाख २ गते छानविनका लागि प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी थिइन् । छानविनका क्रममा प्रहरीले उक्त आवाज अभियुक्त सन्देश शर्माको आवाजसँग मेल खाएको जनाएको छ ।

आइतबार विज्ञप्तिमार्फत प्रहरीले उक्त जानकारी दिएको हो । सुरुमा पक्राउ परेका अभियुक्तहरूको बयान तथा टेलिफोन संवादका आधारमा प्रहरीले तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री खाण लगायतलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको हो । तत्कालीन उपप्रधानमन्त्री रायमाझी, तत्कालीन गृहमन्त्री खाणलगायत दर्जनौँ अभियुक्तहरू अहिले पनि थुनामा छन् । तर तत्कालीन प्रधानमन्त्री डा.राणाले भने अभियुक्तले बोलेको आवाज नक्कली भएको दावीसहित आफैँले प्रहरीसमक्ष छानविनका लागि निवेदन दिइन् । जेठ २ गते दिइएको निवेदन माथि भएको छानविनको रिपोर्ट प्रहरीले असार २४ गते मात्रै सार्वजनिक गर्यो । यति ठूलो र चर्चित मुद्दामा आवाज पहिचान गर्नसमेत प्रहरीलाई करिब दुई महिना किन लाग्यो ? भन्ने प्रश्न उठ्नु स्वभाविकै हो ।

सार्वजनिक भएको अडियोको स्वर अभियुक्त सन्देश शर्माकै हो भन्ने कुरा प्रहरी अनुसन्धानबाट पुष्टि भइसकेपछि डा.राणालाई तत्काल पक्राउ गरी छानविन गर्नुपर्छ कि पर्दैन ? भन्ने प्रश्नको उत्तर प्रहरीले अहिलेसम्म दिएको छैन । तर दुई दिनमै सकिने स्वर परीक्षणको काम सम्पन्न गर्न प्रहरीले दुई महिना लगाइसकेको छ । यसको कारण स्पष्ट छ । देउवाकी पत्नीलाई पक्राउ गर्नु भनेको देउवालाई पक्राउ गर्नुजस्तै हो । यस्तो अवस्थामा आफ्नो प्रधानमन्त्री पद धरापमा पर्छ भन्ने ठम्याइमा प्रधानमन्त्री प्रचण्ड पुगेका हुन सक्छन् । डा. राणाको संलग्नता भएका सबै प्रमाणहरू नष्ट गर्न राज्य संयन्त्रको दुरुपयोग भएको आशंका जनस्तरमा व्याप्त भइसकेको छ । त्यसैले भुटानी शरणार्थी प्रकरणको छानविन अघि बढाएको जस प्रधानमन्त्री प्रचण्डले पाउने संभावना कमजोर बनेको छ ।

भूटानी शरणार्थी प्रकरणको वास्तविकता छानविन गर्ने हो भने तत्कालीन प्रधानमन्त्रीद्वय देउवा र केपी शर्मा ओली उम्कन सक्ने अवस्था देखिँदैन । तर देउवा अथवा ओलीमध्ये एक जनाको साथ सहयोगविना प्रचण्ड प्रधानमन्त्री पदमा अडिनसक्ने संभावना कत्ति पनि छैन । प्रधानमन्त्री पद दाउमा राखेर जनविश्वास आर्जन गर्ने आँट प्रधानमन्त्री प्रचण्डले गर्ने संभावना छैन । यो प्रकरण अब यति नै हो । सत्ताको जोड घटाउ र संसद्भित्रको अंकगणितका कारण भुटानी शरणार्थी प्रकरणका ठूला अपराधीहरूले उन्मुक्ति पाउनु एउटा पाटो हो । तर, अब जनताको नजरबाट उन्मुक्ति पाउने संभावना रहेन । यो घटना अब जनताको मनमा बसिसक्यो । अब कांग्रेस र एमालेका आमनेता तथा कार्यकर्ताहरूले यस प्रकरणको निकै ठूलो मूल्य चुकाउनुपर्नेछ ।

कांग्रेसका युवा नेता प्रदीप पौडेलले हालै एक सार्वजनिक कार्यक्रममा भनिसकेका छन्, ‘हामी नुसुध्रिने हो भने आगामी चुनावमा जुनसुकै पार्टीसँग तालमेल गरे पनि चुनाव जित्दैनौँ ।’ युवा नेता पौडेलले सत्य कुरा बोलेका छन् । जनताको नजरमा पार्टी गिरेको पार्टीबाट जतिसुकै राम्रा नेता उम्मेद्वार बने पनि चुनाव जित्दैनन् भन्ने कुरा गत वैशाखमा तनहुँमा भएको उपनिर्वाचनले पुष्टि गरिसकेकै छ । कांग्रेसको गढ मानिएको तनहुँमा गोविन्द भट्टराई जत्तिको नेता पाँच वटा पार्टीको समर्थनमा उम्मेदवार बन्दा एक वर्ष पनि उमेर नपुगेको पार्टीबाट आगन्तुक व्यक्तिले चुनाव जितेका छन् । कांग्रेसले सुध्रिनेभन्दा सक्किने विकल्प रोजेको पो हो कि ?

प्रतिक्रिया