चोरी, लुट र हत्या घटनाकी मुख्य नाइके ‘लेडी डन’ भैरहवाबाट पक्राउ

भैरहवा । भारतको गोरखपुरमा ‘लेडी डन’ को नामले चर्चित गीता तिवारीलाई भैरहवाबाट पक्राउ गरिएको छ । चोरी, लुट, हत्या आरोपलगायतका घटनामा संलग्न रहेको आरोपमा भारतीय प्रहरीको हिरासतमा रहेकी उनी धरौटीमा रिहा भएकी थिइन् । तिवारीलाई रुपन्देही प्रहरीले विभिन्न चोरीको घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो ।

रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माका अनुसार तिवारी भैरहवामा भएको सिलसिलेवार चोरी घटनाकी मुख्य आरोपी हुन् ।

भारतको गोरखपुर बस्ने ४३ वर्षीया गीता तिवारीले वैशाख ९ गते सिद्धार्थनगर नगरपालिका–३ बस्ने हेमन्तकुमार हलवाइको घरबाट सुनका गरगहनासहित रु ५० लाख बराबरको चोरी गरेको घटनामा संलग्न रहेको प्रहरी उपरीक्षक विश्वकर्माले बताए ।

यस्तै वैशाख २३ गते सिद्धार्थनगर नगरपालिका–३ बस्ने डा. नरेन्द्र चौधरीको घरबाट सुनचाँदीका गहना, ल्यापटप र रु तीन लाख ८० हजार चोरी गरेको र जेठ ३ गते सिद्धार्थनगर नगरपालिका–८ बस्ने हुमनाथ पाण्डेको घरबाट रु ६० हजार नगदसहित ल्यापटप, मोबाइल, सुनको औठी चोरी गरेको आरोप प्रहरीले लगाएको छ ।

तिवारीकै समूहले असार ११ गते सिद्धार्थनगर नगरपालिका–९ बस्ने श्यामसुन्दर अग्रवालको घरबाट सुनको गहना, ल्यापटप मोबाइललगायत नगद रु एक लाख १५ हजार लुटेको प्रहरीको दाबी छ । प्रहरीले तिवारीलाई सिद्धार्थनगर नगरपालिका–३ बस्ने दीपक यादवको घरबाट पक्राउ गरेको जनाएको छ ।

प्रहरीले तिवारीको साथबाट कटुवा पेस्तोल जस्तो देखिने पेस्तोल एक थान, केएफ–७ दशमलव ६५ लेखेको गोली तीन राउण्ड, दुई वटा खुकुरी, एक चक्कु, सलाई रिन्च तीन वटा, छिनो एक, एक मोटरसाइकल, भारतीय नम्बर प्लेट भएको स्कुटर एक, ग्यासकटर, सात हजार छ सय ६५ नेपाली रुपैयाँ र पाँच हजार चार सय ४५ भारतीय रुपैयाँ बरामद भएको प्रहरी उपरीक्षक विश्वकर्माले बताए ।

पक्राउ परेकी तिवारीलाई चोरी तथा डाकासम्बन्धी कसुरमा पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए । यस्तै हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा समेत अनुसन्धान भइरहेको विश्वकर्माको भनाइ छ । तिवारीका समूहका अन्य सदस्यको समेत खोजी भइरहेको उनले बताउनुभयो ।

प्रतिक्रिया