राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपद्मा खटिन द्रुत एक्सन टोली गठन गरेको छ । अघि पछि सामाजिक कार्यमा केन्द्रित रहने र विपद्का बेला उद्धार, खोज र राहतमा खटिने गरी द्रुत एक्सन टोली निर्माण गरिएको रास्वपाले जनाएको छ । टोलीको संरचना केन्द्रदेखि स्थानीय तहसम्म हुने पनि रास्वपाले जनाएको छ । तर यो टोली मात्रै हो या टोलीका नाममा गठन गरिएको युवा संगठन हो ? भन्ने कुरा स्पष्ट छैन । पार्टी गठनकै बेला रास्वपाले कुनै पनि भ्रातृ संगठन निर्माण नगर्ने प्रतिवद्धता सार्वजनिक गरेको थियो । त्यसैले यो संगठनलाई सिधै युवा संगठन नभनेर घुमाउरो पाराले द्रुत एक्सन टोली नाम दिइएको पनि हुनसक्छ । विगतमा नेकपा माओवादीले योङ्ग कम्युनिस्ट लिग नामक संगठन निर्माण गर्दा पनि यस्तै उद्देश्य राखेको थियो । तर परिणाम राम्रो आएन । पञ्चायतकालमा पनि समाज सेवा तथा विपद्का बेला उद्धार तथा राहतमा खटिने भन्दै स्वतन्त्र विद्यार्थी मण्डल नामक संगठन खडा गरिएको थियो । तर सिद्धान्तविहीन यो संगठन आपराधिक क्रियाकलापमा संलग्न भएर बद्नामी कमाएपछि विघटनको घोषणा गर्न तत्कालीन राजा वीरेन्द्र स्वयं बाध्य भए ।
विपद्का बेला राहत उद्धार तथा खोजका लागि नाम चलेको थुप्रै सामाजिक संस्थाहरू छन् । अन्तर्राष्ट्रिय ख्याति प्राप्त संस्थाहरू पनि थुप्रै छन् र सरकारी संस्थाहरू पनि धेरै छन् । नेपाली सेना, नेपाल प्रहरीभित्र पनि विपद् व्यवस्थापनका लागि तालिम प्राप्त संयन्त्रहरू छन् । यिनै संस्था तथा संयन्त्रसँग हातेमालो गर्दै विपद्का बेला काम गर्न नसकिने अवस्था छैन ।
रास्वपाले गरेको यो निर्णयमाथि अहिले नै अविश्वास गरिहाल्नु हुन्न । आफूसँग असहत पक्ष तथा व्यक्तिलाई तल्लो स्तरमा उत्रेर गालीगलौज गर्नेबाहेक रास्वपाका कार्यकर्ताहरूको शैली खराब छैन । केही न केही गरौँ भन्ने जोश जाँगर छ । जनताले पनि रास्वपालाई पुराना दलहरूभन्दा राम्रो विकल्पका रूपमा हेरेका छन् । पुराना दलहरूले आफ्नो सत्ता यात्राका क्रममा गरेका कमीकमजोरीबाट रास्वपाका नेताहरूले पाठ सिकेको विश्वास जनतामा छ । गौरवशाली इतिहास तथा पृष्ठभूमि बोकेका पुरानादलहरू प्रति जनताको विश्वास टुट्दै जानुको मुख्य कारण बुझेकोले रास्वपाले गल्ती नगर्ला कि ? भन्ने जनविश्वास छ ।
यदि उद्देश्यमा कत्ति पनि विचलित नभई आफ्नो कर्तव्यमा खटिने हो भने रास्वपाले अहिले गठन गरेको द्रुत एक्सन टोली भोलिका लागि निकै फलदायी हुनसक्छ । छिमेकी मुलुक भारतको अहिलेको सत्तारूढ पार्टी भारतीय जनता पार्टीको जग भनेकै राष्ट्रिय स्वयंसेवक संगठन (आर एसएस) हो । आर एसएसकै सामाजिक कामको जगमा भाजपाले यो हैसियत कायम गरेको हो ।
प्राकृतिक प्रकोप तथा विपत्तिका बेला राजनीतिकदलहरूको भूमिका के हुने ? भन्ने कुरा विगत केही वर्षदेखि बहसको विषय बनेको छ । त्यसमा पनि नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र भनेका निकै ठूलो संगठन भएका दलहरू हुन् । नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना पार्टी सदस्यको संख्या १० लाखको हाराहारीमा रहेको दावी गर्दै आएका छन् । माओवादी केन्द्रले पनि आफ्नो सदस्य संख्या आठ लाखको हाराहारीमा रहेको दावी गरेको छ । यदि यी तीन पार्टीहरूले समाजिक काममा तथा विपद्का बेला आफ्ना सदस्यहरूलाई परिचालन गर्न सकेको भए देशको अवस्था यस्तो हुने थिएन । तर, यी पार्टीका अधिकांश कार्यकर्ता जनताको सेवामा होइन कि मौका पाउनासाथ जनतालाई नै लुटिहाल्ने हर्कतमा केन्द्रित भए । ठग र भ्रष्टहरूको सूची हेर्ने हो भने ९० प्रतिशतभन्दा बढी पुराना दलकै कार्यकर्ताहरू छन् । जो सत्तामा पुग्छ, उसैको नजिक देखिएर जनता लुट्न ठग र भ्रष्टहरू माहिर हुन्छन् ।
ठग र भ्रष्टहरूको यो जमात अब रास्वपातिर लाग्न सलबलाइरहेको छ । फलानो पार्टीबाट यति जना कार्यकर्ता प्रवेश गरे, ढिस्कानो पार्टीबाट यति जना प्रवेश गरे भनेर समाचार प्रवाह गर्न पाएकोमा रास्वपाका नेताहरू यति बेला दंग छन् । तर पुराना पार्टीमा रहँदा उनीहरूको हर्कत कस्तो थियो ? केका लागि उनीहरू पुराना पार्टी छाडेर रास्वपामा आवद्ध भएका हुन् ? भन्ने प्रश्नको यथार्थ उत्तर पत्ता लगाउन नेताहरूले सकेनन् भने अहिले गठन गरिएको द्रुत एक्सन टोली पनि हिजोको मण्डले ग्याङ तथा वाइसियल ग्याङमा परिणत हुन धेरै बेर लाग्दैन ।
प्रतिक्रिया