सीआईबी पुग्यो देउराली सहकारीको फाइल

इमेज सहकारी बागलुङका तीन जना प्रक्राउ, मेयर नेपाली अझैं फरार

काठमाडौं । देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाई माथि अनुसन्धान गर्न सहकारी विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई पत्राचार गरेको छ । ललितपुरको सातदोबाटोमा प्रधान कार्यालय रहेको उक्त सहकारीबाट ठगिएको भन्दै सहकारी विभागमा १७५ भन्दा बढी उजुरी आए पनि सहकारीसँग समन्वय हुन नसकेपछि सीआईबीलाई पत्राचार गरेको विभागले जनाएको छ ।

याे पनि : सहकारीको ऋण नतिर्नेहरू को को हुन् ?


सीआईबीलाई पत्र पठाएको बारे जानकारी दिंदै विभागका उप–रजिष्ट्रार टोलराज उपाध्यायले हाल प्रदेश अन्तरगत कार्यक्षेत्र पर्ने सहकारी भएपनि विभागमा धमाधम उजुरी आएपछि सो प्रक्रिया अगाडी बढाएको बताए । उनले भने, ‘आवश्यक समन्वय गर्न प्रदेशमा पठाएका थियौं तर पीडितहरुले विभागमा उजुरी दिइसकेपछि आवश्यक अनुसन्धान गर्न प्रहरीलाई पत्र पठाएका हौं ।’

याे पनि : सहकारी सञ्चालक शर्माले साढे ११ अर्ब हिनामिना गरेको सीआइबीको ठहर

अनुसन्धानका लागि पत्र आइसकेको जानकारी दिंदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता संजयसिंह थापाले आवश्यक अनुसन्धान अगाडी बढेको बताए । विगो कति हो वा पीडित कति छन् ? भन्ने कुरामाथि मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको उनले बताए । यो सँगै सहकारीका सञ्चालकलाई पक्राउ गर्न सीआईबीलाई बाटो खुलेको छ ।

अध्यक्ष चौलागाईले संस्थाले ८० प्रतिशत बचत फिर्ता गरिसकेको र बचत फिर्ता लिन आउन सूचना जारी गरी गर्ने र आफू मिटरब्याजीको फन्दा परेको भन्दै बचतकर्तालाई भ्रममा राख्दै आएका थिए । बचत फिर्ता गरेको दाबी संस्थाले गरे पनि बचतकर्ताले भने बचत फिर्ता पाउन नसकेको भन्दै विभाग र वाग्मती प्रदेश सहकारी महाशाखामा उजुरी दिन पुगेका थिए ।

चौलागाईँले बचतकर्ताको रकम फिर्ता गर्छु भन्दै पटक पटक झुलाइरहेको पीडितहरुको आरोप छ । देउराली बहुउद्देश्यीय सहकारी संस्थाले गत असार १ गते सूचना टाँसेर कार्यालय बन्द गरेको थियो । यो सहकारीको सञ्चालक समितिको अध्यक्ष रविन्द्र चौलागाईं, उपाध्यक्ष अस्मिता खत्री, सचिव सुमन महर्जन र कोषाध्यक्षमा मनोहर बस्नेत रहेका छन् । सहकारीले विभिन्न हाउजिङ, घरजग्गा र सेयरमा लगानी गरेको स्रोतले बतायो ।

याे पनि : सहकारीलाई ३० दिनभित्र सबै विवरण बुझाउन काठमाडौं महानगरको निर्देशन

काभ्रेपलाञ्चोक जिल्ला चौरी देउराली गाउँपालिका वडा नं ६ बोक्से खाडीटोल स्थायी ठेगाना भएका सहकारीका अध्यक्ष रविन्द चौलागाईं हाल ललितपुरको भैंसेपाटीमा करोडौं बराबरको घर खरिद गरी बसोबास गर्दै आएको बताइन्छ । सर्वसाधारणले दुख गरेर कमाएको रकम उनले आफ्नो परिवारको नाममा विभिन्न संघसंस्थामा लगानी गरेको उनी माथी आरोप छ । धरासायी बनेको देउराली बहुउद्देश्यीय सहकारीले गरेको बदमासीलाई ढाकछाप गर्न अध्यक्ष चौलागाईंले विभिन्न अनलाईन मिडियाहरुको दुरुपयोग गर्ने गरेको पनि आरोप छ । चौलागाईँ माथि बचतकर्ताहरुको रकमको दुरुपयोग गर्दै आरआर गु्रप अफ कम्पनी दर्ता गर्दैं त्यस अन्तरगर्त संचालन हुने गरी देउराली मल्टी पर्पोज को—अपरेटिभ प्रालि, श्री पूजा पोल्ट्री फार्म प्रालि, देउराली प्रोप्रटिज प्रालिजस्ता कम्पनी खोलेको आरोप छ ।

याे पनि : सहकारीका ठगीको उजुरीले सिआइबीको कोठा नै भरिए : गृहमन्त्री श्रेष्ठ

सहकारीहरुले गलत ठाँउमा लगानी गर्दा समस्या आएको सहकारी क्षेत्रका विज्ञहरुले बताउने गरेका छन् । जिम्मेवार निकायहरूबाटै नियमन हुन नसक्दा सहकारीले विनाधितो ऋण दिने, आफ्ना कम्पनीमा लगानी गर्ने, कमसल धितो राख्नेलगायतका काम गर्दा यो क्षेत्र धराशायी भएको सहकारी विज्ञहरुले बताउने गरेका छन् । घरजजग्गामा लगानी गरेकाहरुको नै बढी समस्या आएको देखिन्छ । संस्थाहरु सुसासनमा नजाँदा पनि समस्या आएको बताइन्छ ।

इमेज सहकारी बागलुङका तीन जना प्रक्राउ, मेयर नेपाली अझैं फरार

ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहकारी बागलुङका तीन जना प्रक्राउ परेका छन् । प्रहरीका अनुसार अहिलेसम्म इमेज बचत तथा ऋण सहकारी बागलुङका प्रबन्धक शक्ति किसान, सञ्चालक चित्र बहादुर भण्डारी र कर्मचारी लालमति रोका पक्राउ परेका हुन् । प्रबन्धक शक्ति किसानलाई गत सोमबार दिउँसो बागलुङ नगरपालिका २ हल्लन चोकमा रहेको इमेज सहकारीको कार्यालयबाट पक्राउ गरिएको हो भने, सञ्चालक चित्र बहादुर भण्डारीलाई जेठ ३२ गते बुर्तिबाङ बजारबाट र कर्मचारी लालमती रोकालाई असार १ गते ताराखोलाबाट पक्राउ गरएिको बाग्लुङ प्रहरीले जनाएको छ ।

सञ्चालक, प्रबन्धक र कर्मचारी पक्राउ परेपनि अध्यक्ष तथा ढोरपाटनका मेयर नेपाली भने अझैं फरार छन् । नेपाली परिवारसहित जेठ ५ गतेदेखि बुर्तिबाङ बजारबाट फरार भएको बताइएको छ । नेकपा एमालेबाट ढोरपाटन नगरपालिकाका मेयर जितेका देवकुमार नेपालीले पनि दुई वटा छुट्टाछुट्टै सहकारीमा सर्वसाधारणको दुई अर्ब रकम अपचलन गरेर फरार छन् । पोखरा र बागलुङमा कार्यालय रहेको ‘इमेज बचत तथा ऋण सहकारी संस्था’ मा रहेको सर्वसाधारणको दुई अर्ब निक्षेप अपचलन गरेको आरोप लागेको छ ।

याे पनि : एकै दिनमा सहकारीविरुद्ध हजारौँ उजुरी

पोखरा र बागलुङमा ‘इमेज बचत तथा ऋण सहकारी संस्था’का नाममा दुई वटा छुट्टाछुट्टै सहकारी खोलेर उनले सर्वसाधारणको दुई अर्ब अपचलन गरेको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ । बागलुङमा मात्रै सहकारीले आठ सय जना सेयर सदस्य र ३ हजार २ सय जना बचतकर्ताको करिब डेढ अर्ब रुपैयाँ बचत रहेको देखिएको छ । सो सहकारीको बागलुङ बुर्तिवाङ र गलकोटमा सेवा केन्द्र सञ्चालनमा छन । जिल्ला प्रहरी बाग्लुङले जाहेरी दिन अनुरोध गरेसंगै आफ्नो वचत रकम जोखिममा परेको भन्दै वचतकर्ताहरुले इमेज बचत तथा ऋण सहकारी विरुद्ध जिल्ला प्रहरी बाग्लुङमा जाहेरी दर्ता क्रम जारी छ । अन्य सञ्चालकको खोजी भइरहको प्रहरीले जनाएको छ ।

याे पनि : इमेज सहकारीका सञ्चालक र कर्मचारी पक्राउ

प्रतिक्रिया