सहकारीका ठगीको उजुरीले सिआइबीको कोठा नै भरिए : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सीआइबीको कार्यालय सहकारीका ठगी मुद्दाले भरिएको बताएका छन् । आइतबार प्रतिनिधी सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो जानकारी दिएका हुन् ।

उनले भने, ‘अहिले सीआईबीमा मात्रै रहेका सहकारीका उजुरी हेर्ने हो भने त्यसैको चाङले कोठा भरिएको छ । समस्या विकराल छ ।’ सरकारले अर्थ मन्त्रालय, सहकारी मन्त्रालयसँग काम गरिरहेको उनले जानकारी दिए । सम्बन्धित सरोकारवालासँग समेत बसेर सरकारले यसमा काम गरिरहेको उनले बताए ।

यो समस्या समाधानको लागि समिति समेत गठन गरिसकिएको जानकारी दिँदै उनले भने, ‘केही समस्या यसमा नै छन् केही चाहिँ तरलता अभाव (लिक्युडिटी क्रंच) ले सिर्जना गरेको समस्या हो ।’

त्यसैगरी, भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान भइरहेको हुनाले तथ्य प्रमाणले पुष्टि गरेमा जो कोहीलाई पनि नछाड्ने प्रतिवद्दता समेत उनले व्यक्त गरेका छन् । उनले भने, ‘भुटानी शरणार्थी प्रकरण मात्र होइन आर्थिक अनियमितता, भ्रष्ट्राचार भएका कुनै पनि प्रकरण र घटनामा कसैलाई छाडिने छैन ।’

सीमावर्ती क्षेत्रमा दैनिक आवश्यकताका बस्तुहरू भित्राउन बाधा अवरोध नगरिएको समेत उनले जानकारी दिए । तर, अवैध चोरी पैठारीलाई भने रोकिएको उनले बताए ।

गाँजा खेतीलाई वैधता प्रदान गरी नसकिएको हुनाले नष्ट गरिएको गाँजा खेती गर्ने किसानलाई क्षतिपूर्ति नदिइने स्पष्ट पारे । नेपाल लागु औषधको कारोबारको केन्द्र बन्ने खतरा रहेकोले त्यो बारे सचेत रहेको उनले बताए ।

प्रतिक्रिया