एकै दिनमा सहकारीविरुद्ध हजारौँ उजुरी

सहकारीका नाममा ठगिनेको संख्या बढ्दै

काठमाडौं । तीन खम्बे आर्थिक नीतिको एक खम्बा मानिएको सहकारी क्षेत्र अहिले धरासायी हुने अवस्थामा पुगेको छ । सहकारीको रकम हिनामिना गरेको आरोपमा एमाले पूर्वसांसद इच्छाराज तामाङ थुनामा र ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपाली फरार छन् । यो घटनाले सहकारीको अवस्था कति भयावह छ यसमा कुन तहको संलग्नता छ भन्ने प्रस्टै छ । सहकारीको उद्देश्य सँगसँगै मिलेर आर्थिक, सामाजिक र सांस्कृतिक हैसियतमाथि उठाउन गरिने सामुहिक प्रयास हो । यो उद्देश्य सुन्दर भए पनि नेपालमा यस क्षेत्रमा हुर्कंदै आएको गलत प्रवृत्तिले सहकारी क्षेत्र नै बदनाम हुन पुगेको छ ।

सहकारी भन्ने बित्तिकै समान आर्थिक स्तर, इच्छा, रुचि र आवश्यकता भएका तथा एउटा निश्चित भौगोलिक सीमाभित्र बसोबास गर्ने वा समान प्रकृतिका कार्यमा संलग्न भएका मानिसहरूले आपसी हितका निम्ति आर्थिक कारोबार गर्न स्थापित गरिएको संस्था भन्ने बुझिन्छ । तर, यसबेला ठिक उल्टो जसरी पनि रकम संकलन गर्ने, त्यो रकम एकलौटी ढंगले लगानी गर्ने गरेका कारण नेपालमा सहकारी क्षेत्र नराम्रोसँग बदनाम हुन पुगेको हो । बदनाम मात्र होइन सहकारी क्षेत्रका ठगहरूको कारण कतिले ज्यान नै त्यागेका छन्, भने कतिको उठिबास भएको छ । सहकारीका पदाधिकारी बेपत्ता हुँदा जीवनभरको कमाइ सहकारीमा लगेर जम्मा गरेकाहरू सयौँ सर्वसाधारण मर्नु न बाँच्नुको अवस्थामा पुगेका छन् ।

नेपालमा रहेका ३० हजारभन्दा बढी सहकारी मध्ये केहीले राम्रो काम गरेका भए पनि सहर बजारमा कार्यालय राखेर सर्वसाधारणलाई अनेकौँ लोभ देखाएर रकम संकलन गरेर सहकारीको सिद्धान्त विपरीत लगानी गर्नेहरूले सहकारीप्रति आममानिसको बुझाइ फेरिन पुगेको छ । सहकारीको कारण परिवर्तन भएका थुप्रै देशहरू छन् । नेपालमा पनि तीन खम्बे अर्थनीति भन्दै सहकारीलाई अर्थनीति को खम्बा बनाइएको छ । अर्थतन्त्रको खम्बा भनिएको सहकारीमा पछिल्लो समय विकृति नै विकृतिको चाङ छताछुल्ल भएका छन् ।

देशमा आर्थिक संकट देखिनथालेपछि सहकारीका सञ्चालकहरूले रकम लुकाएको, ऋण तथा जग्गामा लगानी गरेको रकम उठाउन नसक्दा सहकारी क्षेत्र ध्वस्त हुने अवस्थामा पुगेको जानकारहरू बताउँछन् । एउटा सहकारीको कारण अरू सहकारी पनि मारमा परेको सहकारीका अगुवाहरूको धारणा छ ।

१२ सहकारी समस्याग्रस्त

देशभर दर्जनौँ सहकारी समस्यामा छन्, जसमध्ये १२ सहकारीलाई सरकारले समस्याग्रस्त घोषणा गरेको छ । सरकारकै हिसाबअनुसार समस्याग्रस्त सहकारीमा १० हजार सर्वसाधारणको १० अर्ब डुबेको छ । समस्याग्रस्त घोषित ओरियन्टल सहकारीमा मात्रै नौ हजार सदस्यको ८ अर्ब ४० करोड डुबेको छ । ६ सय ८९ जनाले अपार्टमेन्ट बुकिङका नाममा ओरियन्टल कोअपरेटिभका अध्यक्ष सुधीर बस्नेतबाट ठगिएको दाबी गरेका छन् । सहकारीलाई सरकारले २० कात्तिक ०७४ मा समस्याग्रस्त घोषित गरेको हो ।

नियमअनुसार वित्तीय कारोबार गर्न नसकेका वा नगरेका सरकारीलाई सहकारी विभागको सिफारिसमा गरिबी निवारण तथा सहकारी मन्त्रालयले समस्याग्रस्त घोषणा गर्छ । अन्य समस्याग्रस्त सहकारीको सूचीमा स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, प्यासिफिक सेभिङ एन्ड इन्भेस्टमेन्ट को–अपरेटिभ, प्रभु बचत तथा ऋण सहकारी संस्था, कोहिनूर हिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, कन्जुमर बचत तथा ऋण सहकारी संस्था, कुबेर बचत तथा ऋण सहकारी संस्था, चार्टर्ड सेभिङ एन्ड को–अपरेटिभ, भेगास बचत तथा ऋण सहकारी संस्था र स्ट्यान्डर्ड मल्टिपर्पोज को–अपरेटिभ छन् । यी सहकारीलाई १८ असार ०७५ मा समस्याग्रस्त घोषणा गरिएको हो ।

त्यस्तै, सोसाइटल बचत तथा ऋण सहकारी संस्थालाई १९ फागुन ०७५ र लुःनिभा बहुउद्देश्यीय सहकारी संस्थालाई १२ साउन ०७६ मा समस्याग्रस्त घोषण गरिएको हो । यी ११ सहकारीमा १ हजार २ सय ८३ साधारण सदस्यको करिब दुई अर्ब फसेको छ  । तीन तहको सरकारमा अधिकार विभाजनपछि हाल संघ सरकारअन्तर्गत १ सय २५ मात्रै सहकारी छन् जुन कुल संख्याको पाँच प्रतिशत मात्रै हो  । प्रदेशअन्तर्गत ६ हजारभन्दा धेरै अर्थात् कुल संख्याको १५ प्रतिशत र स्थानीय तहअन्तर्गत ४० हजारभन्दा धेरै अर्थात् कुल संख्याको ८० प्रतिशत सहकारी छन् । प्रदेश र पालिकालाई पनि सहकारी दर्ता र नियमन गर्न सक्ने अधिकार संविधानले नै दिएको छ ।

धमाधम पक्राउ गर्दै सिआइबी, जाहेरी दिनेको भिड

सहकारीमा ठगिएपछि नियमनकारी निकाय सहकारी विभागमा उजुरी दिएका बचतकर्ताहरू यतिखेर सिआइबी कार्यालयमा पनि जाहेरी दिन पुगिरहेका छन् । पछिल्लो समय शिव शिखर सहकारीबाट ठगिएको भन्दै दैनिक सिआइबी कार्यालयमा जाहेरी लिएर आउनेको भिड लाग्न थालेको छ । विभागको सिफारिसमा सिआइबीले जाहेरी दर्ता गरेर अनुसन्धान अगाडि बढाइएका सिआइबीले जनाएको छ ।

देशभर ३६ शाखा विस्तार गरेको भक्तपुरको शिव शिखर सहकारीले मात्रै पछिल्लो समय एक लाख निक्षेपकर्ताको १४ अर्ब रुपैयाँभन्दा धेरै हिनामिना गरेको दावी छ । पीडितहरूको जाहेरीपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पहिलो चरणमा भक्तपुरका निक्षेपकर्ताको उजुरीमाथि मात्रै अनुसन्धान गरेको थियो । यसक्रममा भक्तपुरबाट मात्रै सहकारीका सञ्चालकविरुद्ध १ सय ९ जाहेरी परेका थिए । उनीहरूको मात्रै बिगो रकम ६६ करोड ३१ लाख पुगेको छ । सिआइबीले ६६ करोड ३१ लाख ५८ हजारको बिगो दाबी गर्दै मुद्दा चलाएको थियो । सो मुद्दामा जिल्ला अदालत भक्तपुरले गत असार २४ गते तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

उक्त सहकारीका सञ्चालकद्वय अमिशराज भण्डारी र पुष्कर मल्ल तथा सहकारीको मुख्य ऋण लगानी रहेको शिखर अर्गनाइजेसनकी निर्देशक गीता शर्मालाई पनि पक्राउ गरेको छ  । पक्राउ परेकी गीता केदारनाथकी श्रीमती हुन् । तर, सहकारीको नेतृत्वकर्ता बाँके कोहलपुरका केदारनाथ शर्मा भने फरार छन्  ।

त्यस्तै, काठमाडौंको बुढानीलकण्ठस्थित एकताबद्ध बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकले मिटरब्याज र घरजग्गामा लगाएर निक्षेपकर्ताको आठ करोडभन्दा धेरै डुबाएको आरोप छ । उक्त सहकारीका कार्यकारी अध्यक्षसहित सात जनालाई पक्राउ गरी सिआइबीले अनुसन्धान थालेको छ । अध्यक्ष भानुकुमार शर्मा, उपाध्यक्ष प्रमोदकुमार न्यौपाने, सचिव सोमलाल श्रेष्ठ, कोषाध्यक्ष रामकुमार श्रेष्ठ, सञ्चालका सदस्य वीरबहादुर तामाङ र व्यवस्थापक शम्भु कार्की प्रहरी नियन्त्रणमा छन्  । उनीहरूविरुद्ध १ सय ७७ जनाको उजुरी परेको छ । उजुरीमा बचतकर्ताको ८ करोड १८ लाख ८९ हजार ७ सय ९५ रुपैयाँ संस्थाले फिर्ता नगरेको उल्लेख छ ।

त्यस्तै, ललितपुरस्थित देउराली बहुउद्देश्यीय सहकारी संस्थामा पनि समस्याग्रस्त छ । सो सहकारीका सञ्चालकले कहिले निक्षेपकर्तालाई जग्गा दिने भनेर नाटक गरे भने कहिले तत्काल नगद दिने भनेर टारिरहेका छन् । ठगी गरेको आरोपमा सिआइबीले शिव शिखरका साथै सिभिल सहकारी, भरोसा सहकारी र प्रज्ञान सहकारीका सञ्चालकमाथि अनुसन्धान गरी अदालतमा पेस गरेको थियो । सिभिल सहकारी ठगी प्रकरणका दुई मुख्य आरोपी पूर्वअध्यक्ष एवं एमालेका पूर्वसांसद इच्छाराज तामाङ र वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका छन्  ।

सिभिल सहकारीविरुद्ध सिआइबीमा १ हजार ५ सयभन्दा धेरै निक्षेपकर्ताले ५ अर्ब ७७ करोड ठगी भएको भन्दै जाहेरी दिएका थिए  । एमाले नेता पूर्वसांसदसमेत रहेका तामाङले आकर्षक ब्याजको प्रलोभनमा सहकारीमा पैसा जम्मा गर्न लगाई सहकारीको नियमविपरीत कर्जा आफ्नै कम्पनीको नाममा प्रवाह गरेका थिए । ती कम्पनीबाट भएको आम्दानी लुकाएर सहकारीको कर्जा नतिरेपछि संस्था समस्यामा परेको थियो ।

सिआइबीले भरोसा सहकारी ठगी प्रकरणमा अनुसन्धान गरेर तीन जना जेल चलान भएका छन्, भने विराटनगरको तुलसी सहकारीमाथि पनि अनुसन्धान गरिरहेको छ । त्यस्तै सिआइबीले करिब १८ करोड रुपैयाँ हिनामिना अभियोगमा काठमाडौंको बलम्बुस्थित प्रज्ञान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित आठ जना पक्राउ गरेर अदालतमा पेस गरेकोमा तीन जना जेल चलान भएका छन् । उनीहरूले संस्थाको १७ करोड ९४ लाख ७६ हजार ५ सय १८ रुपैयाँ हिनामिना गरेको अनुसन्धानमा खुलेको सिआइबीले जनाएको छ । नेपाली कांग्रेस काभ्रेका नेता सिबी लामा सञ्चालक रहेको पशुपति बचत तथा ऋण सहकारी संस्थाको विषयमा सिआइबी अनुसन्धान गरिरहेको छ ।

विभागमा कति परे उजुरी ?

सहकारी विभागका उपरजिस्ट्रार टोलराज उपाध्यायले प्रदेश र स्थानीय तहले हेर्ने सहकारीको उजुरी केन्द्रमा नआउने बताए । उनले भने, ‘विभागमा दैनिक कति उजुरी परे भन्ने यकिन हिसाब नभए पनि केही दिन अगाडि एकै दिन हजारसम्म उजुरी आएका थिए ।’ ठुलो सहकारीमा समस्या आएको समयमा धेरै उजुरी परेको उनको भनाइ छ । गौतमश्री, शिव शिखर, सुमेरु, कान्तिपुर लगायतका सहकारीहरू जसको कार्यक्षेत्र धेरै र वचतकर्ता धेरै भएको कारण धेरै उजुरी परेका थिए ।

संस्था हेर्दा १२ वटा सहकारी मात्र विभागले समस्याग्रस्त घोषणा गरे पनि संस्थाका सदस्या भने धेरै भएको कारण उजुरी पनि धेरै देखिएका छन् । कार्यक्षेत्र अनुसार केन्द्रमा कम संस्थाको उजुरी परेको विभागको बुझाइ छ । नेपाली कांग्रेस काभ्रेका नेता सिबी लामा सञ्चालक रहेको पशुपति बचत तथा ऋण सहकारी संस्थाको विषयमा सिआइबी अनुसन्धान गरिरहेको छ । विभागले सहकारीका अधयक्षलगायत पदाधिकारीलाई पटकपटक स्पष्टीकरण सोधेको र सम्पत्ति तथा दायित्वको विवरण पेस गर्न अवसर दिँदा पनि कुनै प्रगति नभएपछि सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस पनि गरेको थियो । सहकारीले करिब पाँच करोड ठगी गरेको भन्दै विभागमा उजुरी परेका छन् । पशुपति सहकारीले करिब ८० करोड बराबरको निक्षेप दायित्व फिर्ता गर्नुपर्नेछ । शिव शिखरका अध्यक्ष केदारनाथ शर्मा अझै फरार छन् ।

उपाध्यायका अनुसार भरत महर्जन सञ्चालक रहेको सुमेरु बचत तथा ऋण सहकारी संस्था विरुद्ध सुरुमै ५० भन्दा बढी उजुरी आएका थिए । उनले भने, ‘सुमेरुको कार्यक्षेत्र प्रदेशअन्र्तगत पर्ने भएकोले हामीले यहाँ आएका उजुरी प्रदेशमा नै पठाएका छौँ ।’ उनका अनुसार धेरै उजुरी परेका सहकारीहरूमा शिव शिखर, तुलसी, कान्तिपुर, सुमेरु, गौतमश्री लगायतका छन् । देशभर कार्यक्षेत्र भएका अन्यको हकमा भने सम्बन्धित प्रदेश तथा जिल्लामा उजुरी परेर अनुसन्धान भइरहेको विभागले जनाएको छ ।

मेयर फरार, प्रहरीमा २ सय ३५ जाहेरी दर्ता

नेकपा एमालेबाट ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले पनि दुई वटा छुट्टाछुट्टै सहकारीमा सर्वसाधारणको दुई अर्ब रकम अपचलन गरेर फरार रहेका छन् । पोखरा र बागलुङमा कार्यालय रहेको ‘इमेज बचत तथा ऋण सहकारी संस्था’ मा रहेको सर्वसाधारणको दुई अर्ब निक्षेप अपचलन गरेर मेयर नेपाली जेठ पहिलो हप्तादेखि फरार छन् ।

सहकारीका बागलुङ र पोखराका बचतकर्ताले प्रशासनमा उजुरी दिएपछि नेपालीलाई अध्यागमन विभागले विदेश यात्रामा रोक लगाएको छ । मेयर नेपालीले दुई वटा सहकारी सञ्चालन गरेको पाइएको छ । पोखरा र बागलुङमा ‘इमेज बचत तथा ऋण सहकारी संस्था’का नाममा दुई वटा छुट्टाछुट्टै सहकारी खोलेर उनले सर्वसाधारणको दुई अर्ब अपचलन गरेको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ । बागलुङमा मात्रै सहकारीले आठ सय जना सेयर सदस्य र ३ हजार २ सय जना बचतकर्ताको करिब डेढ अर्ब रुपैयाँ बचत रहेको देखिएको छ । यो सहकारी पोखरा महानगरपालिकामा पनि दर्ता छ, जहाँबाट पाँच सय बढी बचतकर्ताको ५० करोड रुपैयाँ अपचलन गरेको खुल्न आएको छ । उक्त रकम उनले घरजग्गा कारोबारमा लगानी गरेको बुझिएको छ ।

मेयर नेपालीले बागलुङमा पनि इमेज बचत तथा ऋण सहकारी संस्था सञ्चालन गर्न तत्कालीन रजिष्ट्रारको कार्यालयमा दर्ता गरेका थिए । बागलुङमा सञ्चालन गरेको सहकारीको मुख्य कार्यालय बागलुङ बजार रहेको छ, भने बुर्तिवाङ र गलकोटमा सेवा केन्द्र सञ्चालनमा छ । सहकारी ऐनले एउटै व्यक्ति दुई वटा सहकारीको सञ्चालक हुन नपाउने व्यवस्था गरेको छ । तर नेपाली दुबै सहकारीका अध्यक्ष हुन् । इमेज बचत तथा ऋण सहकारी विरुद्ध जिल्ला प्रहरी कास्कीमा १ सय १० र बाग्लुङमा १ हजार २ सय २५ जाहेरी दर्ता भएका छन् । जिल्ला प्रहरी कास्कीले जेठ ३२ गते र बाग्लुङले जेठ ३१ गते जाहेरी दिन अनुरोध गरेको थियो ।

अध्यक्ष फरार भए पनि सञ्चालक चित्रबहादुर भण्डारी र कर्मचारी लालमति रोकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । संस्थापक अध्यक्ष देवकुमार नेपाली फरार भएपछि सञ्चालक भण्डारी र रोकालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए । अन्य सञ्चालकको खोजी भइरहको प्रहरीले जनाएको छ । अध्यक्ष नेपाली परिवारसहित जेठ ५ गते बुर्तिबाङ बजारबाट फरार भएका छन् ।

किन विकराल भयो सहकारी समस्या ?

सहकारीहरूले गलत ठाउँमा लगानी गर्दा समस्या आएको सहकारी क्षेत्रका विज्ञहरूले बताउने गरेका छन् । जिम्मेवार निकायहरूबाटै नियमन हुन नसक्दा सहकारीले विनाधितो ऋण दिने, आफ्ना कम्पनीमा लगानी गर्ने, कमसल धितो राख्ने लगायतका काम गर्दा यो क्षेत्र धराशायी भएको सहकारी विज्ञहरूले बताउने गरेका छन् ।

घरजजग्गामा लगानी गरेकाहरूको नै बढी समस्या आएको सहकारी विभागका उपरजिस्ट्रार टोलराज उपाध्यायले बताए । उनले भने, ‘केही संस्थामा समस्या आएपछि त्यसको प्रभाव अरू संस्थामा पनि परेको हो । समस्या आएको समाचार सुन्ने बित्तिकै सेयर सदस्यहरू सिधै रकम फिर्ता लिन गएपछि समस्या देखिएको हो ।’ संस्थाहरू सुशासनमा नजाँदा पनि समस्या आएको उनले बताए । नियमनकारी निकाय पनि कमजोर भएर पनि समस्या आएको उनको भनाइ छ ।

देशभर २९ हजार सहकारी, नौ खर्बको कारोबार

सहकारी विभागको पछिल्लो तथ्यांकअनुसार देशभर २९ हजार ८ सय ८६ सहकारी छन्  । यी सहकारीमा ७३ लाख ७ हजार ४ सय ६२ सदस्य छन् । कुल सेयर पुँजी ९४ अर्ब १० करोड छ भने कुल बचत संकलन ४ खर्ब ७७ अर्ब ९६ करोड तथा कुल ऋण लगानी ४ खर्ब २६ अर्ब २६ करोड रहेको हिसाब छ । नेपालमा सञ्चालित सहकारी संस्थाहरूमा करिब नौ खर्बको कारोबार हुन्छ ।

१ सय १४ वटा सहकारी संस्था कालोसूचीमा

सहकारीले सर्वसाधारणको बचत फिर्ता मात्र नभई बैंक तथा वित्तीय संस्थाको कर्जासमेत नतिरेको पाइएको छ । यही कारण बैंक तथा वित्तीय संस्थाले सहकारीलाई धमाधम कालोसूचीमा राख्न थालेका छन् । कर्जा सूचना केन्द्रकाअनुसार हालसम्म १ सय १४ सहकारी कालोसूचीमा परेका छन् । केन्द्रका प्रवक्ता विजय कुँवरले बैंक तथा वित्तीय संस्थाले सिफारिस गरेका सहकारी मात्र कालोसूचीमा राखिने बताए ।

पहिलोपटक २०६० पुस २८ मा शैक्षिक समाज सहकारी कालोसूचीमा परेको थियो । त्यसयता फाट्टफुट्ट सहकारी कालोसूचीमा परे पनि २०७९ मा भने ह्वात्तै बढेको देखिन्छ । २०७९÷८० को (दुई महिनामा) मात्रै ८६ सहकारी संस्था कालोसूचीमा परेका छन् । जीवन सुन्दर कृषि सहकारी लिमिटेड, तिरिमिरि बचत तथा ऋण सहकारी संस्था, स्मृति बचत तथा ऋण सहकारी संस्था, साथीभाइ बचत तथा ऋण सहकारी संस्था, अनुरोध बचत तथा ऋण सहकारी संस्था, इमानुअल बचत तथा ऋण सहकारी संस्था, हाम्रो कृषि तथा पशुपालन सहकारी, सन्ध्या बचत तथा ऋण सहकारी संस्था, नयाँ तारा बचत तथा ऋण सहकारी, सुमार्ग बचत तथा ऋण सहकारी, तुलसी बहुमुखी सहकारी संस्था, सनराइज बचत तथा ऋण सहकारी, पश्चिमोदय बचत तथा ऋण सहकारीलगायत कालोसूचीमा परेका छन् । त्यस्तै गेल्डेनरोज सेभिङ एन्ड क्रेडिट, हिउचुली सेभिङ एन्ड क्रेडिटलगायत सहकारी पनि सूचीमा छन् । कालोसूचीमा परेका सहकारीको बैंक खाता रोक्का हुन्छ ।

प्रतिक्रिया