शिवशिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा न्यौपाने बचतकर्ताको करिब १६ अर्ब रुपैयाँ हिनामिना गरेको अभियोगमा बुधबार प्रहरीद्वारा पक्राउ परेका छन् । ठगीपछि भागेर भारत पुगेका न्यौपानेलाई प्रहरीले नेपालगञ्जबाट पक्राउ गरेको जनाएको छ । यसअघि गौतमश्री सहकारीका अध्यक्ष रामबहादुर गौतम बचतकर्ताको करिब पाँच अर्ब रुपैयाँ हिनामिना गरेको अभियोगमा पक्राउ परेका थिए । त्यसो त केही वर्षअघि पक्राउ परेका ओरियन्टल सहकारी अध्यक्ष सुधीर बस्नेतमाथि बचतकर्ताको करिव ६ अर्ब रुपैयाँ हिनामिना गरेको आरोप लागेको थियो । न्यौपाने, गौतम र बस्नेत उदाहरण मात्रै हुन् ।
सहकारीको बचत हिनामिना गरेर फरार हुनेहरूको सूची निकै लामो छ । सहकारीको बचत हिनामिना गर्ने र फिर्ता माग्न आउनेलाई उल्टै राज्य संयन्त्र तथा गुुण्डागर्दीमार्फत धम्क्याउनेहरू सञ्चालकहरूको संख्या पनि निकै ठूलो छ । अनुमानित तथ्यांकअनुसार देशभित्रका करिब ८० प्रतिशत सहकारीहरूमा यो समस्या देखिएको छ । सहकारीका ठगहरू पीडितभन्दा बलिया छन् । ठगी रकमको केही अंश राजनीतिकदलका नेताहरूलाई दिएर सार्वजनिक पद ओगट्ने र त्यही पदका आडमा पीडितहरूलाई धम्क्याउने क्रम घट्न सकेको छैन ।
उदाहरणका लागि पोखराको एक सहकारीमा रकम हिनामिना गरेका ढाकाकुमार श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरी समानुपातिक सांसद बनेका थिए । उनको हिनामिना समाचारमा आउने बित्तिकै रास्वपाका कार्यकर्ताहरू मिडियामाथि खनिन्थे । त्यसैगरी बाग्लुङ जिल्लाको ढोरपाटनको एक सहकारीका अध्यक्ष देवकुमार नेपाली पनि बचतकर्ताको रकम खर्च गरेर एमालेको टिकट लिइ मेयर भए । मेयर पदको आडमा करिब एक वर्ष जति पीडितलाई धम्क्याउन एमालेको पार्टी संयन्त्र प्रयोग गरे । तर केही सीप नचलेपछि उनी प्रहरीको नजरमा फरार छन् । उनले करिब डेढ अर्ब रुपैयाँ ठगी गरेको समाचार आएको छ ।
सहकारीमार्फत बचतकर्तालाई ठगी गर्ने प्रचलन नेपालमा नयाँ होइन । जहिलेदेखि बचत तथा ऋण सहकारीको सुरुआत भयो, त्यही बेलादेखि नै ठगी धन्दाको पनि सुरुआत भएको हो । फरक यत्ति हो कि, त्यतिबेलाको ठगी लाख तथा करोड रुपैयाँसम्म हुन्थ्यो । वर्षमा एक–दुई वटा ठगीका घटनाहरू हुन्थे । पीडतहरूको संख्या खासै ठूलो हुँदैनथ्यो । तर अहिले त एउटै व्यक्तिले १५ अर्ब रुपैयाँसम्म ठगी गरेको घटना बाहिर आयो । एक अर्ब रुपैयाँभन्दा बढी ठगी गर्ने त कति देखिए कति । मुलुकमा बैंकिङ तरलतको संकट अन्य कारणले आएको रहेनछ भन्ने कुरा पुष्टि भएको छ । सहकारीबाट ऋण लिने तर नतिर्नेहरूको संख्या पनि उल्लेख्य छ ।
एकथरीले नियतबस ऋण तिरेका छैनन् । अर्काथरीले व्यवसायमा मन्दी आएका कारण चर्को व्याजको मारका कारण ऋण तिर्न नसकेका हुन् । अधिकांश सहकारीहरूले बैंकमार्फत १० प्रतिशत ब्याजदरमा ऋण लिने र त्यही रकम २० प्रतिशत व्याजदरमा लगाउने गरेका थिए । २० प्रतिशत ब्याजमा ऋण लिने व्यवसायी टाट पल्टेका कारण सहकारीहरूले बैंकको ऋण तिर्न सक्ने अवस्था रहेन । त्यसको मारमा बैंक पनि परे । बैंकमा असर पर्नु भनेको बैंकका आमनिक्षेपकर्तालाई पनि असर गर्नु हो ।
सहकारीमा ठगी बढ्नुका मुख्य कारण दुई वटा छन् । एउटा कारण हो विगतमा सहकारीमार्फत ठगी गर्नेहरूलाई दण्ड दिनुको सट्टा उल्टै शक्तिको आडमा परस्कृत गरियो । छोराले सहकारी ठगी गर्ने, बाबुलाई सरकारले नेपाल राष्ट्र बैंकको गर्भनर नियुक्त गर्नेजस्ता जघन्य अपराध भए । सहकारीको आडमा ठगी गरेको रकम घुस खुवाएर राष्ट्र बैंकको गर्भनर नियुक्त हुने देश हो हाम्रो । दोस्रो कारण हो, ‘अनुगमन नहुनु ।’ यतिसम्मकी बुधबार पक्राउ परेका शिव शिखर सहकारीका अध्यक्ष न्यौपानेले १ लाख ६८ हजार जनासँग वचत संकलन गरेको प्रहरीले जनाएको छ । यो सहकारीले ३५ जिल्लामा शाखा विस्तार गरेर सर्वसाधारणको रकम बचतको रूपमा उठाएको थियो । सहकारीमा रहेको सर्वसाधारणको बचतको दुरुपयोग गर्दै उनले ४३ वटा कम्पनी खोलेको ब्युरोको अनुसन्धानमा देखिएको छ । यस्तो ठूलो हर्कत हुँदा पनि नियामक निकायले थाहा नपाएको होला त ? निश्चिय पनि होइन । नांगो आँखाले हेर्दा पनि नियामक निकायमा बस्नेहरू र ठगहरूबीच साँठगाँठ भएको देखिन्छ ।
प्रतिक्रिया