जनकपुरधाम । केही हप्ताअघिसम्म सामान्य अवस्थामा एकनाश बगिरहेको कमला नदीले असार लागेसँगै आकार बढाइसकेको छ । असारसँगै सुरु भएको वर्षाले कमला नदीमा बढेको पानीको बहावले यहाँको अस्थायी काठेपुल बगाइसकेको छ ।
नदीले आकार बढाउँदै गर्दा स्थानीयमा कमला नदीले रौद्ररूप लिन्छ कि भन्ने चिन्ता पनि बढेको छ । त्यसैले नदी किरानका मानवबस्तीमा बस्नेतहरू त्रसित बनेका छन् । नदी किरानमा जोखिम बढ्दै जान थालेपछि बगरखेती गर्नेहरू पनि बगर छोड्ने सुरसारमा छन् ।
हुलाकी राजमार्ग हुँदै हिँड्ने यात्रुहरूको संख्या पातलिँदै गएको छ भने नदी किनारमा डुंगा खियाउने माझीहरूको संख्या भने बढ्न थालेको छ । त्यसैमध्येका एक हुन् कमला नगरपालिका–५ धनुषाका ८० वर्षीय माझी ‘बा’ रामसेवक सहनी ।
उमेर बुढो भए पनि शरीरमा जोस् भने जवान माझी सरह नै छ । विहान झिसमिसे नहुँदै कमला नदीको सारस्वरनाथ घाटछेऊ पुग्ने र घाम डुबेपछि मात्रै फर्किने सहनीको दिनचर्या बनेको छ । ‘के गर्नु वर्षाका दुई÷चार महिना त हो डुंगा चलाउन पाउने । यो सानै उमेरदेखि गर्दै आएको काम हो । यही घाटमा डुंगा खियाउँदै जीवन बित्यो ।
ज्यानले साथ दिएसम्म त काम गर्नै प¥यो’, उनले भने
कमला–५ का ५२ वर्षीय रामेश्वर सहनीको दिनचर्या पनि त्यस्तै छ । नदी किनारमा बिहानदेखि बेलुका आँखाले देखुञ्चेल डुंगा खियाउन उनी व्यस्त छन् । यो दैनिकी आगामी करिब चार महिनासम्म चल्छ । ‘देशमा हुँदा नौ÷१० वर्षको उमेरदेखि यही घाटमा जीवन बितेको छ । बाउबाजेले महेन्द्र राजमार्ग बन्नुभन्दा पहिले बन्दिपुर नजिकै कमला नदीमा डुंगा चलाउँथेँ । त्यहाँ पुल बनेपछि यही घाटमा चलाइरहेका छौँ’, सहनीले भने, ‘यहाँ पनि कहिलेसम्म चलाउन पाउने हो ? भाँसिएको पुल नउठेसम्म त होला !’
वर्षायामका करिब चार महिना डुंगा चलाएर प्रतिमहिना १० देखि २० हजार आम्दानी हुने उनको भनाइ छ । सहनीका शब्दमा यो रहर नभइ उनको बाध्यता हो । ‘पेसा हो लोभ त लाग्छ तर रहरले नभई कमला पुल नबन्दा जनताले भोग्नुपरेको सास्तीका कारण बाध्य भएर डुंगा चलाइरहेका छौँ । मैले त १५ वर्षभन्दा बढी समय कतारमा बिताएँ । रातारात हुने त्यहाँको विकास देखेको छु । यहाँ त पुल नदेखेरै पुस्ताँै बित्यो, १२ वर्षअघि पुल बन्न थालेपछि निकै उत्साहित भएका थियौँ तर त्यो पनि अलपत्र छ । थप कति वर्ष लाग्ने हो कुनै ठेगान नै छैन’, सहनीको गुनासो छ ।
उनीसँगै कक्षा ११ मा अध्ययनरत छोरा हरिदेवकुमार सहनी पनि डुंगा चलाउन सिक्दै छन् । बुबाको अनुपस्थितिमा सजिलो होला भनेर फुर्सदको समयमा आफूले पनि डुंगा चलाउन सिकिरहेको हरिदेवको कथन छ ।
‘हाम्रो जात नै डुंगा चलाउने हो । बुबाले बाजेबाट सिक्नुभयो र मैले बुबाबाट सिक्दैछु । बाजेले कमलामा पुल देख्न पाउनुभएन, बुबाको पालामा पनि बन्छ कि बन्दैन थाहा छैन । के थाहा ! यस्तै अवस्था रहे मैले पनि डुंगा चलाएर बस्नुपर्ने हो कि’, हरिदेवले पुलतर्फ हेर्दै भने ।
स्थानीय समसुदेन मोहमदले पनि वर्षायाममा नजिकका बस्तीबाट कमला नदी वारपार गर्न डुंगाको विकल्प नभएको बताउँछन् । उनले वर्षांैदेखि पुल नबन्दा निकै सास्ती खेप्दै जोखिमपूर्ण यात्रा गर्नुपरेको बताए ।
‘मेरो घर नदी वारीपट्टी सिरहा नगरपालिकामा पर्छ । नातेदारहरू नदी पारी धनुषामा बस्छन् । आउजाउ गर्दा डुंगाको विकल्प छैन कि त लामो दुरी पार गरेर जानुपर्छ’, मोहम्मद भन्छन्, ‘नेताहरू भोट माग्न आउँदा पुल चाँडै बन्छ भन्छन् तर वर्षौं लागेर बनाएको पुल एकै वर्षात्मा भाँसिदा पनि कसैले केही गरेनन् । कहिले बन्ने हो अनुमान नै लगाउन सकिँदैन ।’
यो पटक अहिलेसम्म पूर्णरूपमा वर्षा सुरु भइसकेको छैन । ढिलोचाँडो विगतका वर्षमा झैँ बाढीको बेला आउँदै छ । नदी किनारका बस्तीमा वर्षा सुरु नहुँदै एकप्रकारको ‘त्रास’ छ । त्यस्तै त्रास छ वर्षौंदेखि डुंगा खियाइरहेका माझीहरूलाई पनि ।
‘केही समय अर्थोपार्जन गरे पनि पुस्तौपुस्ता पुल नहुँदाको सास्ती सबैले खप्नुपरिरहेको छ । तपाईंहरूले देखिसक्नुभयो बुढो र कुप्रो शरीर बोकेर बिहानैदेखि नदीमा आउनुभएका माझी बालाई । बुढा बाजस्तै हामीले पनि यहाँ बाढी पर्खेर बसिरहनुपरेको छ । यो रहर नभई बाध्यता हो । पुल नहुनुको बाध्यता !’ उनको भनाइ छ ।
प्रतिक्रिया