नीति तथा कार्यक्रम निर्माणका लागि सिस्ने गाउँपालिकाद्वारा सुझाव संकलन

रुकुम पूर्व । सिस्ने गाउँपालिकाले गाउँपालिकावासीसँग आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धि सुझाव संकलन सम्पन्न गरेको छ । गाउँपालिकाको सभाहलमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि बिहिवार गाउँपालिकाले नागरिक स्तरबाट सुझाव संकलन गरेको हो ।

अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमाका लागि विज्ञ, राजनीतिकदल, संघसंस्था, बुद्धिजीवी, सञ्चारकर्मी, समाजसेवी, कर्मचारी र आम नागरिकहरूबाट राय सुझाव संकलन गरिएको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिए ।

उनले नागरिक स्तरबाट महत्त्वपूर्ण सुझावहरु प्राप्त भएको बताए । प्राप्त सुझावलाई प्राथमिकताको आधारमा नीति तथा कार्यक्रममा समावेश गर्ने उनको भनाइ छ । आम सिस्ने गाउँपालिकावासीको भावनालाई समेटने गरि आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने अध्यक्ष रेग्मीले प्रतिबद्धता जनाएका छन् ।

असार १० गते नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेका बेला त्यसैको तयारी स्वरुप नागरिक स्तरबाट सल्लाह, सुझाव संकलन गरिएको रेग्मीले बताए ।

यस्तै उपाध्यक्ष गोपाल रेउलेले नागरिकका समस्या र आवश्यकतालाई ध्यानमा राखी बजेट ल्याउने तयारी भइरहेको बताए । समुदाय स्तरमा रहेका तत्कालीन र दीर्घकालीन समस्या समाधान गर्ने बजेट ल्याउनकै लागि राय सुझाव संकलन गरिएको उनले स्पष्ट पारे ।

संघ प्रदेशबाट विभिन्न शिर्षकमा प्राप्त हुने अनुदान, आन्तरिक श्रोत, दिगो विकासका आधारहरू र स्थानीय आवश्यकताका आधारमा आगामी वर्षका योजना छनोट गरिने प्रमुख प्रशासकीय अधिकृत विकास विक्रम शाहले जानकारी दिए ।

बजेटको प्रभावकारी कार्यान्वयन कसरी गर्ने, पालिकाको समग्र विकासमा पालिकावासीहरूको भूमिकालाई कसरी समेट्ने भन्नेबारे सिस्ने गाउँपालिकाले नागरिकसँग अन्तरक्रिया गरेको हो ।

कार्यक्रमका सहभागिले सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास र विपत व्यवस्थापन लगायतका सवालमा आफ्ना राय, सल्लाह र सुझाव प्रस्तुत गरेका थिए ।

मदन विसी

रुकुम पूर्व

प्रतिक्रिया