रुकुम पश्चिम । नेपालमा निर्माण हुने सडक लगायतका भौतिक पूर्वाधार निर्माण सम्पन्न नहुँदै भत्किने गर्छन् । राज्यले करोडौँ लगानी गरे पनि गुणस्तरहीन सडक निर्माण गर्दा राज्यलाई घाटा हुने गरेको छ । आम नागरिकहरूले सास्ती र हैरानी खेप्दै आएका छन् । हाल देशभरझण्डै एक लाख बढी किलोमिटर सडक निर्माण भएको तथ्यांक रहेको छ । तर, यतिसम्म कि यसमध्ये सरकारले निर्माण गरेको सडक राम्रो भनेर उदाहरण पेस गर्न लायकका एउटा पनि सडक निर्माण हुन सकेका छैनन् ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको मुख्य केन्द्र राडीबजारमा सडक कालोपत्रे सुरु भएको छ । तर सडक निर्माण नसकिँदै भासिने भत्किन थालेको छ । आइतबार आठबिसकोट नगरपालिकाका नगरप्रमुख रवि केसी सडक अनुगमनमा निस्किए । सडक निर्माणमा ठेकेदारले लापरवाही गरेको भन्दै नगरप्रमुख केसीले आक्रोशसमेत व्यक्त गरे ।
निर्माणाधीन सडक गुणस्तरहीन भएको भन्दै नगरप्रमुख केसीले बन्दै गरेको सडक भत्काएर काम बन्द गरेपछि सोमबार निर्माण व्यवसायी, पूर्वाधार कार्यालयका कर्मचारी र नगरपालिकाबीच छलफल भयो । आइतबार अनुगमनका क्रममा ठेकेदारको लापरबाहीका कारण सडक गुणस्तरहीन भएकोले तीन दिनभित्र ठेकेदार नसच्चिए नगरपालिकाले डोजर लगाएर संरचना भत्काउने चेतावनी दिएका थिए ।
सोहीअनुसार सोमबार सडक निर्माण मापदण्डविपरीत भइरहेकोले तत्काल निर्माण कार्य रोकेर मापदण्ड नपुगेर निर्माण भइरहेका सडकमा डोजर चलाएर भत्काइएको छ । नगरप्रमुख रवि केसीको नेतृत्वमा गुणस्तरहीन र मापदण्डविपरीत बनाइएका सडक डोजर लगाएर भत्काइएको हो । गौरीशंकर हिमालयन निर्माण सेवा र शुभारम्भ निर्माण सेवाले निर्माण गरिरहेको सडक नगरपालिका आफँैले डोजर चलाएको हो ।
भौतिक पूर्वाधार निर्माणको काममा सरकारी कार्यालयहरूबीच नै समन्वय नहुँदा प्रभावकारी र विकासले दिगोपना लिन नसक्ने नगरप्रमुख केसीको भनाइ छ । गौरीशंकर हिमालयन कन्ट्रक्सन, शुभारम्भ कन्ट्रक्सन र जनचाहना थापा जेबी कम्पनीले सडक स्तरोन्नति ग्राबेल र पिचको ठेक्का लिएका छन् । उनीहरूले मापदण्ड विपरीत काम गरिरहेकोले गुण्स्तरहीन काम नगर्न पटकपटक निर्माण व्यवसायीलाई निर्देशन दिँदा पनि अटेरी गरेपछि डोजर चलाउन बाध्य भएको नगरप्रमुख रवि केसीले बताए । उनका अनुसार पालिकाभित्र निर्माणाधिन अवस्थामा रहेका सडक लगायतका अन्य योजनाहरूको तीव्र अनुगमन गरिने बताए ।
गौरीशंकर कन्ट्रक्सन र सहरी विकास मन्त्रालयबीच राडी बजारदेखि खारखारासम्म ग्राबेल, मेसनरी वाल र नालासहित १४ करोडमा ठेक्का सम्झौता भएको थियो । भने शुभारम्भ कम्पनीसँग ६२ लाखमा ठेक्का सम्झौता भएको हो । नगरप्रमुख रवि केसी सहितको टोलीले उक्त सडकखण्डमा ठेकेदारले चरम लापरवाही गरेको भन्दै सडक भत्काइएको हो ।
गौरीशंकर हिमालयन कम्पनी र शुभारम्भ कम्पनीले निर्माण गरिरहेको सडक भत्काइएको हो । नाला निर्माण गर्दा गिट्टी र ढुंगाको मात्रा ६०÷४० हुनुपर्नेमा ढुंगा मात्रै राखेर निर्माण कम्पनीले ढलान गर्दै आएको अनुगमनमा पाइएको थियो ।
निरीक्षणमा ठेकेदार कम्पनीको चरम लापरवाही देखिएको नगरप्रमुख केसीले बताए । उनले भने, यी दुई निर्माण कम्पनीले सडक निर्माणमा गरेको लापरवाहीका कारण निर्माण कार्य रोकेर सडक भत्काएर पुनर्निर्माण गर्न लगाएका छौँ ।
यो सडकको नाला निर्माण भएको एक हप्ता नपुग्दै भत्किन थालेपछि । नगरपालिकाले काम रोकेको छ । यसरी आवातजावत बन्द गरेर निर्माण गरेको सडक निर्माणसँगै भत्किएपछि स्थानीय चिन्तित बनेका छन् । स्थानीयले सडक निर्माणका क्रममै गडबड गरिएको स्थानीयले शंका गरेका छन् ।
रुकुम पश्चिम
प्रतिक्रिया