मुम्बईमा लिभ–इन पार्टनरको विभत्स हत्या

नयाँ दिल्ली । दिल्लीमा भएको श्रद्धा वालकर हत्याकाण्डजस्तै अर्को एउटा घटना मुम्बईमा घटित भएको छ । यहाँ लिभ इनमा बसिरहेका व्यक्तिले आफ्नी पार्टनरको हत्या गरेर शवलाई चेन श (रुख काट्ने मेसिन) ले टुक्रा टुक्रा पारेका छन् । दुर्गन्ध नआओस् भनेर शवको टुक्रालाई प्रेसर कुकुरमा समेत उसिनेको भारतीय सञ्चार माध्यमले बताएको छ । प्रहरीले आरोपीलाई पक्राउ गरेको छ र उनीसँग सोधपुछ भइरहेको छ ।

घटना दिल्लीस्थित एक अपार्टमेन्टको हो । गीता–आकाशदीप अपार्टमेन्टको सातौँ तलामा ५६ वर्षका मनोज साहनी आफ्नो लिभ इन पार्टनर ३६ वर्षकी सरस्वती वैद्यसँग निकै लामो समयदेखि बसिरहेका थिए । केही दिन अघि मनोजको फ्ल्याटबाट छुट्टै खालको गन्ध आइरहेको थियो । उनका छिमेकीलाई यो गन्धले उकुसमुकुस बनाएको थियो । त्यसपछि उनीहरुले यसबारे प्रहरीलाई जानकारी दिएका थिए ।

सूचना पाएपछि मनोजको फ्ल्याट पुगेका नयाँ नगर थाना प्रहरीले भित्र कडा दुर्गन्ध फैलिएको महसुस गरे । अनुसन्धान गर्दा प्रहरीले महिलाको शवको टुक्रा भेटे । त्यसपछि मनोजलाई तत्काल पक्राउ गरियो । सोधपुछमा उनले उक्त शवको टुक्रा आफ्नी लिभ इन पार्टनर सरस्वतीको भएको पुष्टि गरे ।

प्रहरीसँगको बयानमा मनोजले आफ्नो सरस्वतीसँग झगडा भएको र रिसमा हत्या गरेको जानकारी दिए । भारतीय सञ्चार माध्यम आज तकका अनुसार प्रहरीले मनोजसँगको प्रारम्भिक बयानपछि भनेको छ – सरस्वतीको हत्यापछि मनोज बजार गए र चेन श लिएर आए । फ्ल्याटमा फर्किएर शवलाई स–साना टुक्रा पारे र प्रेसर कुकरमा उसिनेको पनि पाइयो । यस्तो उनले प्रमाण मेट्न र दुर्गन्ध हटाउन गरेको अनुमान छ ।

प्रहरीका अनुसार हत्या ३–४ दिन अघि भएको हुनुपर्छ । शवको टुक्रालाई जम्मा गरेर पोस्टमार्टमका लागि पठाइएको छ । घटनास्थलमा फोरेन्सिक टिमलाई पनि बोलाइएको छ । फ्ल्याटबाट अन्य प्रमाण पनि लिइएको छ । पोस्टमार्टम रिपोर्ट आएपछि थप जानकारी सार्वजनिक हुने आशा गरिएको छ । फ्ल्याटलाई सिल गरिएको छ ।

प्रतिक्रिया